शोकमा सुवासको सुन्तलाबारी

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 5 mins

इलाम । सहमति र सहकार्यका सुत्रधार, नेपाली राजनीतिका अग्रणी योद्धा, इलामका एक नक्षत्र सुवासचन्द्र नेम्बाङकोे अप्रत्याशित निधनले गृहजिल्ला इलाम शोकमग्न भएको । इलामबजार नजिकैको उनको जन्मथलो सुन्तलाबारीमा सन्नाटा छाएको देखिन्छ । हँसिला, मिजासीला र सहयोगि मनका धनि नेम्वाङ आउँदा गाउँनै उज्यालो मात्र हुँदैन थियो गाउँलेहरु जम्मा हुन्थे र आफ्ना कथा व्यथा सुनाउथे । तर, अँह तिनै सुवास फिर्लान र आफ्ना कुरा सुनाउला भन्ने यहाँका गाउँलेहरु उनी कहिल्यै नफर्किने गरि गएको सुन्दा भावविव्हल भएका छन् ।

सुवास अब कहिल्यै नफिर्ने गरि गएका छन् । आफ्नो जन्मस्थानबाट फेरि भेट्ने बाचा गर्दै बिदाबारी भएको त्यो हसिलो चेहरा यी नै गाउँलेको आँखावरिपरी अहिले पनि नाचि रहेको छ । तर, अँह फेरि भेट्ने उन्को बाचा उनले गाउँलेकाबीच पूरा गर्न सकेनन् । दशैँलगायतका चाडबाड नजिकिँदै थियो, नेम्वाङ फिर्लान् र आफ्ना समस्या राखाँैला भन्ने सुन्तालाबारीबासीको चाहना अपुरो भएको छ । बुढाबुढी, केटाकेटी, युवायुवती सबैको सारथि थिए सुवास । तर यहि घरमा जन्मिएका यी सुवास अब कहिल्यै नफर्कने भएपछि फिक्का र खल्लो भएको उनका छिमेकी खगेन्द्र देवानको दुखेसो छ ।

इलाम बजार नजिकैको यो गाउँमा बाबु रामबहादुर नेम्बाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ गते जन्मिएका नेम्बाङको बाल्यकाल यहि गाउँमा बित्यो । यहिको माटो र यहाँका बुट्टा बुट्टामा सुबासको ‘सुवास’ लुकेको छ । गाउँका सबैको आडभरोसा र इज्जत बोकेका सुबास यो गाउँमा कहिल्यै नफिर्ने गाउँलेले सुन्दा उनीहरु मात्र हैन पुरै गाउँ उदास देखिन्छ । त्यसो त इलामेलीहरुको सुवासमाथि ठूलै सपना थियो । यहाँको विकासको मियो बनेका उनीमाथिको भरोसा खै किन टुटायो दैवलाई नै थाहा होला, तर यहाँका मानिसहरु भने अहिले पनि रनभुल्लमा छन् ।

२०५६ सालदेखि निरन्तर इलाम–२ बाट निर्वाचन जितेर संविधानसभा अध्यक्ष, सभामुख र संसदीय समितिको सभापति समेत बनेका नेम्बाङको निधन सबैलाई दुःखि बनाएको छ । पूर्वमा पहिचानको मुद्दा पेचिलो बन्दै गएको बेला समेत सुवासमाथि सबैैको आड भरोसा थियोे । इलाम क्षेत्र नम्बर २ का जनताले रोजेर पठाएका सुवास यसरी नफर्कने गरि यति चाँडै छाड्लान भन्ने कहिल्यै सोचेका समेत थिएनन् । तर भईदियो त्यस्तै । अब सुन्तलाबारीले सुवासलाई सम्झनु बाहेक उनलाई फेरि यो गाउँमा ल्याउन नसक्ने भएको छ । तर, उनको सहमति, सहकार्य, एकता, सद्भाव उनको नरमपना र बिचारलाई भने सबैले अनुशरण गर्न सके सुन्तलाबारीमै सुवास भएको भान गराउने चाहिँ पक्का छ । नेम्बाङले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिए । इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा आवद्ध हुँदै २०२९ सालमा कम्युनिष्ट राजनीतिमा लागेका नेम्बाङ २०३३ मा राजद्रोह मुद्धामा केही समय जेल समेत परे । २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य बनेका नेम्बाङ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए । नेम्बाङ इलाम–२ बाट संसदीय चुनावी यात्रामा लगातार पाँचौं पटक निर्वाचित भएका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?