
काठमाडौं । समाजसेवी तथा राजनीतिज्ञ रत्नप्रसाद खरेलको जीवनवृत्त कृति ‘निष्काम कर्मयोगी रत्नप्रसाद खरेल’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रत्नप्रसादका मित्र तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले कृति लोकार्पण गर्नुभएको हो ।
कृति सार्वजनिक गर्दै वरिष्ठ अधिवक्ता भण्डारीले रत्नप्रसाद खरेल दोस्रो चाणक्य भएको जिकिर गर्नुभएको थियो । रत्नप्रसादसँगै १७ महिना जेल जीवन बिताउनुभएका भण्डारीले उहाँ महान कर्मयोगी भएको बताउनुभयो । प्राडा.जयराज आचार्यले तत्कालीन समयमा राष्ट्रिय पञ्चायतमा रत्नप्रसाद एक्लो प्रतिपक्षीका रूपमा रहेको सुनाउनुभयो ।
खरेलका भतिजा साहित्यकार तथा चलचित्र निर्देशक यादव खरेलले काकासँगको सम्बन्धबारे चर्चा गर्दै उहाँको जनसमर्थन व्यापक रहेको बताउनुभयो । यस्तै, डा.प्रकाशचन्द्र लोहनीले रत्नप्रसादसँगका केही सन्दर्भको चर्चा गर्दै त्यो समयमा पनि उहाँले ‘राजदरबारले व्यापार गर्न हुँदैन’ जस्ता खरो मन्तव्य राख्ने गरेको सुनाउनुभयो ।
कार्यक्रममा प्रकाशन संस्था लेखन कुञ्जका अध्यक्ष कमल ढकालले कर्मले बनाएको किताब सार्वजनिक भएको बताउनुभयो । कृतिकी सम्पादक तथा रत्नप्रसादकी माहिली सुपुत्री डा.रमा खरेलले बुबा राष्ट्रिय पञ्चायत सदस्यमात्र नभई पाँच महिना मन्त्रीसमेत भएको चर्चा गर्दै पिताजी स्वाभिमानी भएको उल्लेख गर्नुभयो ।
खरेल पत्नी शिला खरेलले १० लाख रुपैयाँको अक्षय कोषको व्यवस्था गरेर विविध क्षेत्रका व्यक्तित्वलाई पुरस्कारको व्यवस्थासमेत गरिने जानकारी गराउनुभयो । सो अवसरमा डा.राम थपलिया, पूर्वकुलपति गंगाप्रसाद उप्रेती, रोशनी खरेललगायतलले आ-आफ्ना भनाइ राख्नुभएको थियो । विसं १९८१मा जन्मिनुभएका रत्नप्रसाद खरेलको २०३३ सालमा निधन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच