
सर्लाही । मधेश प्रदेशको प्रमुख थोक तरकारी बजारका रूपमा परिचित पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी तरकारी बजारमा केही दिनदेखि सीमावर्ती क्षेत्रका व्यापारीको ओइरो लागेको छ । भिषण वर्षापछि डुबानमा परेर दक्षिणी भेगमा तरकारी बाली धेरै नै नष्ट भएसँगै सीमावर्ती क्षेत्रका व्यापारी तरकारी खरिद गर्न लालबन्दी बजारमा ओइरिएका हुन् । सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा तरकारी किन्न लालबन्दी बजार आइपुगेका व्यापारीबीच बिहान सबेरै किसानले साइकल र मोटरसाइकलमा हालेर ल्याएको तरकारी किन्न हानाथाप पर्ने गरेको छ ।
केही दिन ठूलो पानी परेर रोकिएपछि अहिले चर्को घाम लाग्न थालेसँगै बाँकी भएका तरकारीका बोट पनि मर्न थालेका छन् । कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरनबहादुर मगरले दक्षिणी बेल्टमा तरकारी बाली धेरै नै नष्ट भएकाले नाकाछेउबाट आएका व्यापारीले खोसाखोस गरेर तरकारी किनेर लगिरहेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘दक्षिणी बेल्टमा तरकारी धेरै नष्ट भएपछि त्यहाँका व्यापारी सबै यतै आइरहेका छन्, उत्तरी भेगमा फलेका लौका, परबल, बोडी, भिन्डीजस्ता तरकारी सीमावर्ती बजार र सीमापारि भारतीय बजारसम्म पनि पुगिरहेको छ ।’ दक्षिणी भेगबाट धेरै व्यापारी आउँदा लालबन्दीका पुराना व्यापारीले पर्याप्त तरकारी किन्न पाएका छैनन् ।
उनीहरूले काठमाडौंसहित अन्य शहरमा पठाउने तरकारीको परिमाण घटेको छ । बजार समितिका अध्यक्ष मगरका अनुसार अहिले लालबन्दी बजारबाट मलंगवा, चन्द्रनिगाहपुर, गौर, वीरगञ्ज, जनकपुरलगायतका छेउछाउका बजारमा १५ टन र काठमाडौंमा एक सय १५ टन तरकारी दैनिक निर्यात भइरहेको छ ।
तरकारी उत्पादन घटेर व्यापारीबीच तरकारी खरिद गर्न हारालुछका कारण किसानले दुर्ई सातादेखि राम्रो मूल्य पाइरहेका छन् । लालबन्दी नगरपालिका-११, हीरापुरका किसान तीर्थमान घिसिङले अहिले हरेक तरकारीको मूल्यमा प्रतिकेजी २० देखि ३० रुपैयाँसम्म बढी मूल्य पाउँदा राहत मिलेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच