
काठमाडौं । प्रतिनिधि सभाको चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलोपटक स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ । २०७९ को स्थानीय निर्वाचनपछि गठन भएको रास्वपाले प्रतिनिधिसभामा आठ प्रत्यक्ष सिट र १३ समानुपातिक सिट हासिल गरेको थियो । अब हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय रास्वपाको केन्द्रीय समिति बैठकले गरेको छ । निर्वाचन आयोगले आगामी मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्ने तयारी गरिरहेको छ ।
विविध कारणले जनप्रतिनिधि रिक्त भएका २५ पदमा उपनिर्वाचन गर्नुपर्ने छ । निर्वाचन आयोगका अनुसार नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष दुई र वडा अध्यक्ष २१ गरी २५ पदका लागि उपनिवार्चन हुनेछ । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार रास्वपा केन्द्रीय समिति बैठकले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने सर्वसम्मत निर्णय गरेको हो । बैठकले पार्टीका गतिविधिलाई स्थानीय तहको उपनिर्वाचन लक्षित गराउने निर्णय गरेको झाले बताउनुभयो ।
बयान दिन जान्छु : सभापति लामिछाने
रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणबारे गठित संसदीय विशेष छानविन समितिमा आफू बयानका लागि उपस्थित हुने बताउनुभएको छ । केन्द्रीय समिति बैठकमा बोल्दै सभापति लामिछानेले भदौ ७ गते बयानका लागि समितिले बोलाएको र आफू बयान दिन उपस्थित हुने जानकारी गराउनुभएको हो । ‘म भदौ ७ गते समितिमा जान्छु । आफ्ना कुरा ढुक्कसाथ राख्छु । उहाँहरूले सोधेका सबै प्रश्नको उत्तर दिएर आउँछु अनि यहाँ पनि जानकारी गराउँछु’ लामिछानेले बैठकमा भन्नुभयो ।
संसदीय विशेष छानविन समितिले लामिछानेलाई राजनीतिक रूपमा नभएर गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाएका जनाएको छ । देशभरका विभिन्न सहकारीबाट गोर्खा मिडिया लगानीमा करोडौँ रकम अवैध लगानी हुँदा लामिछाने सो मिडियाको प्रबन्ध निर्देशक हुनुहुन्थ्यो ।
मुकुललाई फेरि स्पष्टीकरण
रास्वपा केन्द्रीय समितिले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । रास्वपाले यसअघि नै ढकाललाई साधारण सदस्य बाहेकका जिम्मेवारीबाट मुक्त गरिसकेको छ । ‘केन्द्रीय अनुशासन आयोगको सिफारिश सहितको प्रतिवेदनका आधारमा पूर्व- महामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई पार्टी विधानको दफा ५६ को ४ बमोजिम अन्तिमपटक स्पष्टीकरणको मौका दिने निर्णय भएको छ’, कार्यवाहक प्रवक्ता मनीष झाले भन्नुभयो । ढकालमाथि यसअघि गरिएको कारबाही विरुद्धको उजुरीमा निर्वाचन आयोगले भने निर्णय दिन बाँकी नै छ ।
राष्ट्रिय भेला असोजमा
रास्वपाको प्रथम राष्ट्रिय भेला आगामी असोज १ र २ गते काठमाडौंमा हुने भएको छ । केन्द्रीय समितिको बैठकले पार्टीका बन्द कार्यशालाहरूमा प्राप्त सुझावका आधारमा पहिलो राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो । भेलाले पार्टी कामको समीक्षा र रणनीति निर्माण गर्ने जनाइएको छ । यसबीच बैठकले यही भदौ १५ गते कर्णाली प्रदेशमा भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ । असोज ३ गते संविधान दिवसको सन्दर्भमा संविधान संशोधनसँग सम्बन्धित नीति मन्थन कार्यक्रम आयोजना गर्ने निर्णय पनि रास्वपाले गरेको छ । बैठकले भ्रष्टाचार मुद्दामा हदम्याद स्वीकार नगर्ने निर्णय पनि गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच