कैलालीमा बाढीले जनजीवन कष्टकर, डेढ हजार बढी परिवार प्रभावित

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । कैलालीमा बुधवार देखिको लगातार बर्षा कारण आएको बाढीले जनजीवन कष्टकर हुँदै गएको छ । जिल्लाका नदीहरूमा पानीको बहावलगातार बढ्दै गएपछि डुबान प्रभावित क्षेत्रको जनजीवन झन कष्टकर बन्दै गएको हो ।

कैलालीमा बाढी डुबानका कारण डेढ हजार बढी परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलाली जनाएको छ । कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकाको विभिन्न वडामा डुबान भएको छ ।

कैलालीका बिभिन्न स्थान भएर बग्ने मोहना, कटैनी, पथरैया, कान्द्रा, घुरहालगायतका नदीमा आएको बाढीले करिब पाँच सय घरधुरी डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।

प्रभावित चार स्थानिय तहका एक हजार सात सयभन्दा बढी परिवार डुबानबाट प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

प्रभावितमध्ये कैलारी गाउँपालिका-५ बन्दरगौढीको पाँच परिवारका १० जनालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । यस्तै बाढीका कारण प्रभावित कैलारी-५ कै मनिकापुरका स्थानीय डुबान भएको घरमा रातभरि जाग्राम बसेका थिए ।

कैलाली कन्चनपुरसंग जोडीएको चुरे क्षेत्रसगै तराईमा पनि पानी पर्न नरोकिएकाले नदीमा पानीको बहाव बढ्नेक्रम अझ नरोकिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । मोहनाका सहायक नदीसहित कुलरिया, कान्द्रा, घुरहा नदीमा आकस्मिक बाढी र होचो भूभागमा थप डुबानको जोखिम रहेको भन्दै जल तथा मौसम विज्ञान विभाग कार्यालयले उच्च सतर्कता अपनाउन सचेत गरेको छ ।

जिल्लाको भजनी नगरपालिकाका डुबान प्रभावित स्थानीयको जनजीवन पनि कष्टकर बन्दै गएको छ ।

कैलालीको धेरै भू-भागमा पछिल्लो तीन घण्टा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । नदी आसपास बसोबास गर्ने र तल्लो तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?