सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरूप कर्णालीका ३४८ जना खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णालीको सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेल पूर्वाधार संरचनासँगै खेल गतिविधि धमाधम सञ्चालन भइरहेका हुन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव विश्वामित्र सञ्ज्यालका अनुसार कर्णालीबाट प्रतियोगितामा सहभागिता जनाउने विभिन्न विधाका ३४८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको हो । जसमा २१० जना खेलाडी पहिलो चरणमा र बाँकी दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका छन् । एक सयजना पुरुष र २० महिला बन्द प्रशिक्षणमा रहेको परिषद्ले जनाएको छ ।
खेलाडीहरूलाई २० जना प्रशिक्षकले प्रशिक्षण गराइरहेका छन् । खेल विधातर्फ एथलेटिक्समा महिला पुरुष गरी २६ जना, टेबलटेनिसमा ११, उसुमा ३३, कबड्डीमा ३८, कराँतेमा २६, तेक्वान्दोमा १६, बक्सिङमा १७ र रग्बीमा ३९ जना खेलाडीहरू बन्द प्रशिक्षणमा छन् ।
दोस्रो चरणको बन्द प्रशिक्षणमा एथलेटिक्सतर्फ १९, उसुका १८, कबड्डीका २६, कराँतेका १७, तेक्वान्दोका १५, बक्सिङका १७ र रग्बीका २६ जना खेलाडी रहेका छन् । दशौँ राष्ट्रिय खेलकुदको तयारी स्वरूप परिषद्ले प्रदेशभर हालसम्म नौ पटक प्रशिक्षण र ६३ वटा खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ ।
यस्तै तीनपटक प्रोत्साहन, दुईपटक प्रतिभाको खोजी गरी जम्मा एक सय १२ वटा खेलकुद गतिविधि सम्पन्न भएका छन् । दुई सय २० जना खेलाडीलाई झण्डै चार महिना प्रशिक्षण दिइएको छ भने जिल्ला र प्रदेशमा गरी करिब १० हजार र १० देखि १५ विद्यालय, ८९ पालिकास्तरमा गरी कुल एक लाख खेलाडी चलायमान भएको परिषद्ले जनाएको छ ।
प्रतियोगिता सञ्चालन अवधिभर कर्णालीमा आउने खेलाडी, अफिसियल, आयोजक र समारोहमा सहभागी हुने विशिष्ट अतिथि, अतिथिलगायत गरी आठ हजारजनाको सहभागिता रहने अनुमान गरिएको छ । यद्यपि यो संख्या एकैपटक आउने भने होइन ।
कर्णाली प्रदेशभर ६ हजार पाँच सयजनालाई आवास व्यवस्थापन गर्न सक्ने क्षमताका होटल तथा सार्वजनिक संरचना रहेको जनाइएको छ । प्रस्तावित तालिकाअनुसार प्रदेश खेलाडी टिमलाई परिषद्ले व्यवस्थापन गर्न सक्ने तथा तीनवटा विभागीय टिमका खेलाडीको व्यवस्थापन तीनवटै विभागले गर्न सके आवास व्यवस्थापनमा थप सहज हुने परिषद्ले जनाएको छ ।
नीतिगत तयारी पनि तीव्र
प्रदेश खेलकुद विकास परिषद्का अनुसार प्रतियोगिता आयोजना तयारी स्वरूप विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ । १५ साउन २०८० मा सातवटै प्रदेशका खेलकुद परिषद्का सदस्य-सचिव र जिल्ला खेलकुद विकास समितिसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
यस्तै २२ मंसिर २०८० मा युवा तथा खेलकुद परिषद् र अन्य सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । परिषद्ले १८ र १९ पुस २०८० मा कर्णालीका ५९ जना पत्रकारहरूलाई राष्ट्रिय खेलकुदसम्बन्धी तालिम तथा अन्तरक्रिया गरेको छ । २२ माघ २०८० मा कर्णालीका खेलाडीले प्रयोग गर्ने मार्चपास र खेल पोशाक सार्वजनिक गरेको छ ।
२० माघमा प्रदेशको खेलकुद गीत रचना तथा संगीतसहित खेल गीत सार्वजनिक भएको छ । यस्तै २७ जेठ २०८० मा युवा तथा खेलकुदमन्त्री, सचिव, प्रदेश मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लगायतको सहभागितामा खेलकुद तयारीसम्बन्धी अनुगमन र निरीक्षण भएको छ । ४ मंसिर २०८० मा १० प्रतियोगिताका लागि छनोट भएका कर्णाली प्रदेशका खेलाडीहरूलाई मासिक ५ हजार खाजाभत्ता उपलब्ध गराउने निर्णय भएको छ ।
१६ पुस २०८० मा खेलकुद प्रतियोगिता एवं प्रशिक्षणमा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकका लागि खेलाडी सुविधाअन्तर्गत जिल्लास्तरीय खेलकुद प्रतियोगिताका लागि १२ सय, प्रदेशस्तरीय प्रतियोगिताका लागि १६ सय र अन्तरप्रदेश तथा राष्ट्रिय प्रतियोगिताका लागि दुई हजार रुपैयाँ सुविधाबापत उपलब्ध गराउने निर्णय गरिएको छ ।
२४ जेठ २०८१ मा अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता र १४औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी भई स्वर्ण पदक विजेता खेलाडीलाई २० हजार, रजत पदक विजेतालाई १५ हजार र कांस्य पदक विजेतालाई १० हजार पुरस्कार दिने र दशौँ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेतालाई प्रतिखेलाडी तीन लाख दिने घोषणा गरेको छ ।
२० साउन २०८१ मा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीद्वारा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने प्रदेश टिमको छनोट, बन्द प्रशिक्षण र टिम सहभागितालगायतका गतिविध सञ्चालन गर्न १६ करोड बजेट व्यवस्थापन गर्ने निर्णय भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच