बटौली क्षेत्रलाई पुन: स्थापित गर्ने बुटवल उपमहानगरको योजना

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने गरी बुटवल उपमहानगरपालिकाले छलफल थालेको छ ।
बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई पूरानै अवस्था झल्काउने गरी पुनःनिर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने र बजारलाई स्थापितगर्ने योजनाका साथ बुटवल उपमहानगरपालिकाले छलफल थालेको हो ।

सोहीअनुसार शुरुमा वडा नम्बर १ का केही घरहरुको पुनःनिर्माण गर्ने, मर्मत गर्ने र पहिले जसरी व्यापार व्यवसाय सञ्चालनगर्ने अवस्थामा पुर्‍याउनका लागि अध्ययन गरेर बाँकी काम अगाडि बढाएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनु भयो ।
उहाँकाअनुसार अहिले माथिल्लो पुलको गणेशथान मन्दिरदेखि सिद्राबजार र लायन्स गेटसम्मको क्षेत्रका ४२ घरलाई पुनःस्थापित गर्ने गरी योजना बनाइदैछ ।

जसकालागि स्थानीयसँग छलफल गर्ने, इच्छुकलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्ने र नगरले आर्थिक रुपमा सहयोग गर्ने गरी प्रारम्भिक योजना बनेको प्रमुख पाण्डेयले बताउनु भयो ।

’बटौली बजारलाई कसरी गुल्जार बनाउन सकिन्छ भन्ने विषयमा हामीले धेरै अघिदेखि छलफल चलाउँदै आएका छौं', उहाले भन्नु भयो-'बटौलीबजारलाई सांस्कृतिक र पर्यटकीय रुपमा स्थापितगर्न सकिन्छ।’

पुरानो बुटवलका नामले परिचित बटौलीमा थुप्रै पुराना र ऐतिहासिक घरहरु छन् । ती घरहरूमध्ये जीर्ण भएका र पुननिर्माण गर्न सम्भव हुने घरहरुलाई नयाँ स्वरुप दिएर पूरानो बुटवलको मौलिकतामा लैजाने गरी शहरी विकास मन्त्रालयसँग छलफल भइरहेको प्रमुख पाण्डेयले बताउनु भयो ।

उहाँकाअनुसार बटौलीलाई मौलिक शैलीमा जोगाएर यहाँको पहिचानलाई उजागर गर्ने र बटौलीमा परम्परागत शैलीको व्यापारलाई पुनःस्थापित गर्ने योजना माथि छलफल भइरहेको छ ।

चालु आर्थिक वर्षमा पूरानो बुटवल क्षेत्रमा हाइमास्ट लाइट र परम्परागत फल्चा निर्माणका लागि बजेट छुट्याइएको र अरु क्षेत्रगत विकासका लागि समेत बजेट विनियोजन गरेको प्रमुख पाण्डेयले बताउनु भयो ।

जसअनुसार शुरुमा ४२ वटा घरहरुलाई नमूनाका रुपमा काम अगाडि बढाउने र त्यसपछि बाँकी घरहरुलाई पुरानै शैलीमा रुपान्तरण गर्ने गरी नगर विकास कोष, बुटवल उपमहानगरपालिका र स्थानीय बासिन्दा बीच सहमति गरेर काम अगाडि बढाउने गरी योजना तयार भएको बुटवल उपमहानगरपालिकाका शहरी विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले बताउनु भयो ।

तीनपक्षबीच सहमति भइकाम शुरु भएमा २ वर्षमा सबै काम सकेर स्थानीयले बजार सञ्चालन गर्न सक्ने गरी नगर विकास कोषले गरेको अध्ययन रिपोर्ट माथि परामर्शदाता टोली र बुटवल उपमहानगरपालिका बीच छलफल भएको श्रेष्ठले बताउनु भयो।

बजार धेरै पुरानो भएपनि ६२ वर्षअघि मात्र बुटवलले नगरको मान्यता पाएको हो । बटौलीबजारलाई २०१६ सालफागुन ३ गते बुटवल-खस्यौली नगरपालिका नाम राखियो । पञ्चायती व्यवस्था सुरु भएपछि भने यसलाई बुटवल-खस्यौली नगर पञ्चायत भन्न थालियो ।

२०४६ सालपछि बुटवल नगरपालिका उल्लेख भयो । २०७१ साल मंसिरमा साविक सेमलार र मोतीपुर गाविसलाई समेटेर उपमहानगरपालिकामा स्तरोन्नति भएको हो ।

बटौलीबजार कुनै समय अहिलेको मुख्यबजार भन्दा तिनाउ पारि मात्र सीमित थियो । २०२० को दशकतिर तिनाउ वारि खस्यौलीमा पनि बस्ती र बजार विस्तार हुँदै गए । २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलेको कार्यालय भएको ठाउँ हाटबजार लाइनमा सरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?