
काठमाडौं । समूह चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध एक-शून्यको जित निकालेसँगै भारत समूह ‘बी’ को विजेता बन्दै साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको समूह ‘बी’ को अन्तिम खेलको इञ्ज्युरी समयमा गोल गर्दै भारत अन्तिम चारमा पुगेको हो । यो समूहबाट भारत ६ अंकसहित विजेता बन्यो । भारतले पहिलो खेलमा भुटानलाई एक-शून्यले पराजित गरेको थियोे । भारतका लागि माङ्लेङथान किपगेनले निर्णायक गोल गर्नुभयो । भुटान तीन अंकसहित समूह उपविजेता बन्यो । माल्दिभ्सले भने अन्तिम खेलमा एक अंक जोड्यो । योसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
१८औं मिनेटमा भारतले अग्रता लिने मौका खेर फ्याँकेको थियो । कोरउ सिंहले दिएको कट पासलाई गोल लाइननजिक अनमार्कमा रहेका मोनिरूल मोल्लाले प्रहार गरेको बलले पोष्टको दिशा लिन सकेन । २२औं मिनेटमा मोनिरूलले अर्को अवसर खेल फाल्नुभयो । कोरउले गरेको प्रहार माल्दिभ्सका गोलरक्षकले पुस गर्दै बचाउनुभयो ।
दोस्रो हाफको सुरुवाती दुई मिनेटमै भारतले अर्को मौका सदुपयोग गर्न सकेन । माङ्लेङथान किपगेनले माल्दिभ्सका चार डिफेन्डरलाई पेनाल्टी बक्सभित्र छक्काउँदै दिएको बललाई अनमार्कमा रहेका केल्भिन सिंहले प्रहार गर्नुभएको थियो । तर, उहाँले प्रहार गरेको बल माथिल्लो बारबाट आकाशियो ।
६५औं मिनेटमा रासिद साननले प्रहार गरेको फ्रिकिक बल माथिल्लो बारबाट बाहिरिँदा माल्दिभ्स अग्रता लिन चुके । निर्धारित ९० मिनेटको खेल सकिन पाँच मिनेट बाँकी रहँदा माल्दिभ्सले अर्को मौका पुनः गुमायो । हसन मुजधानले प्रहार गरेको बल पोलमा लागेर बाहिरिएको थियो ।
नेपाल र भुटान भिड्ने
साफ यू-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा घरेलु टोली नेपालले भुटानविरुद्ध खेल्ने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको समूह ‘बी’को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा खेल्ने टोलीको टुंगो लागेको हो ।
लगातार दोस्रो हार व्यहोरेसँगै मालदिभ्स भने समूह चरणबाटै बाहिरिएको छ । दुई खेलमा जित निकालेको भारत ६ अंकमा अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको हो । एक खेलमा जित निकालेको भुटान दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको छ ।
च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा समूह ‘ए’को विजेता नेपालले समूह ‘बी’को उपविजेता भुटानविरुद्ध खेल्नेछ । सो खेल आइतबार हुनेछ । दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता भारतले भने समूह ‘ए’को उपविजेता बंगलादेशविरुद्ध खेल्नेछ । दोस्रो सेमिफाइनल खेल सोमबार हुनेछ । फाइनल खेल बुधबार हुनेछ ।
च्याम्पियनसिप जित्न नेपाल तयार छ : प्रशिक्षक श्रेष्ठ
नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले साफ यू-२० च्याम्पियनसिप जित्न नेपाल तयार रहेको बताउनुभएको छ । समूहको अन्तिम खेलमा बंगलादेशमाथि २-१ को जित निकाल्दै नेपाल समूहविजेता बनिसकेको छ । सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी भुटान बनेको छ । प्रशिक्षक श्रेष्ठले बंगलादेशसँगको खेलमा जित्नैपर्ने दबाबमा रहेको र सुरुवातमा अग्रता लिने योजना पनि सफल भएको उल्लेख गर्नुभयो ।
तर, आफूहरूले दुई गोल गरेपछि भने बंगलादेशले रणनीति परिवर्तन गर्दै चुनौती दिएको उहाँको भनाइ छ । दोस्रो हाफमा नेपालले पनि मिडफिल्डमा होल्ड गर्दै उनीहरूको योजनालाई सफल हुन नदिएको उहाँले उल्लेख गर्नुभयो । प्रशिक्षक श्रेष्ठले बंगलादेशी डिफेन्डर शारीरिक रूपमा उचाइ भएकाले केही चुनौती भएको पनि बताउनुभयो । उहाँले अहिले खेलाडीको मनोबल उच्च रहेको पनि उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच