प्रकाशको ‘दमाई महाराज’ ट्रेन्डिङमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत ‘दमाई महाराज’ श्रोता/दर्शकमाझ आएको छ । यो गीत शनिबार ट्रेन्डिङमा एक नम्बरमा रहेको छ । शुक्रबार साँझ सार्वजनिक भएको गीत शनिबार युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । प्रकाशकै शब्द र संगीत रहेको गीतमा शान्तिश्री परियारले स्वरमा साथ दिनुभएको छ । गीत जातीय विभेदविरुद्ध रहेको छ । भजन शैलीमा ल्याइएको गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायलाई प्रस्तुत गरिएको छ ।

‘यो गीतले हाम्रो मन भुलाउन सहयोग र विश्वास गर्नेछ । भिडियोले हाम्रो विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्नेछ,’ प्रकाशले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

सार्वजनिक गीतको भिडियोको निर्देशन पनि प्रकाश स्वयंले गर्नुभएको छ । भिडियोको कन्सेप्ट डिजाइन पनि सपुतकै रहेको छ । गजित विष्टले कोरियोग्राफी गरेको भिडियोमा प्रकाशका साथमा अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ ।

प्रकाशका यसअघिका गीत ‘बोलमाया’ र ‘गलबन्दी’ को सिक्वेलका रूपमा उहाँले यो गीतको भिडियो ल्याउनुभएको छ । यद्यपि, भिडियोको कथावस्तु र गीतको धार नितान्त फरक छ । सपुत प्रकाशले धर्मलाई केन्द्रमा राखेर भिडियोको निर्माण गर्नुभएको छ, जसमा जातीय भेदभावको परम्परामाथि प्रहार गरिएको छ ।

सपुत एउटा पुराणवाचक पण्डितको भेषमा देखिनुभएको छ । मन्दिर पुनर्निर्माणका लागि आयोजना गरिएको एउटा सप्ताहमा उहाँ पुराण भन्न आउनुहुन्छ । सप्ताहकै सेटभित्र सबै दृश्य खिचिएको छ । भिडियोको कथालाई बोल मायाको कथासँग जोडेर जातीय छुवाछूतको मुद्दालाई उठान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?