काठमाडौं । नेपाली सेनाको नयाँ प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त हुनुभएको छ । सरकारको सिफारिशमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा भदौ २४ देखि लागू हुनेगरी निर्णय गर्नुभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सिग्देल नेपाली सेनाको ४५औँ प्रधानसेनापति बन्नुभएको छ । साउन २४ गतेदेखि बिदामा बस्नुभएका प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौ २४ गतेदेखि सकिँदै छ । शर्माको अवकाशसँगै सिग्देलले प्रधानसेनापतिको जिम्मेवारी पूर्णरूपमा सम्हाल्नु हुनेछ । शर्मा बिदामा बसेसँगै सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो । सिग्देलको कार्यकाल आउँदो तीन वर्ष रहनेछ । सिग्देल अब २०८४ भदौ २४ सम्म प्रधानसेनापति रहनु हुनेछ ।
त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर गर्नुभएका सिग्देलले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट पनि रणनीतिक अध्ययनमा स्नातकोत्तर गर्नुभएको छ । करिब ३८ वर्षदेखि नेपाली सेनामा सेवारत सिग्देलले स्वदेश तथा विदेशबाट उच्च शिक्षा र सैनिक तालिम गर्नुभएको छ । उहाँले नेपालको आर्मी वार कलेजबाट हायर कमाण्ड एण्ड म्यानेजमेण्ट कोर्स तथा भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पनि पूरा गर्नुभएको छ ।
सेनाका अनुसार सिग्देलले पदिक पृतना, बाहिनी र गणको कमाण्ड गर्नुका साथै प्रतिविद्रोह तथा जंगल वारफेयर स्कुलको कमाण्डेण्टको रूपमा जिम्मेवारीसमेत निर्वाह गर्नुभएको छ । उहाँले युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको विभागीय प्रमुखका साथै प्रधानसेनापतिको सैनिक सहायकको रूपमा समेत जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।
उमेर विवादका कारण उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि सेनापतिको रोलक्रममा सिग्देल आउनुभएको हो । सिग्देलसँग अन्तर्राष्ट्रिय सेमिनार, तालिम तथा बैठकहरूमा सहभागिताबाहेक संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकका रूपमा पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेको अनुभव छ । साथै, उहाँले सुप्रवल जनसेवाश्री तेस्रोलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक र मानपदवीहरूबाट विभूषित हुनुभएको छ ।
सिग्देलले २०२२ मा अमेरिका–नेपाल तेस्रो ‘ल्याण्ड फोर्स टक’का लागि नेपाली सेनाको प्रतिनिधि मण्डलको पनि नेतृत्व गर्नुभएको थियो । यस्तै, कोभिड-१९ महामारीमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को सचिवको रूपमा पनि उहाँले काम गर्नुभएको थियो । कोभिड-१९ महामारी नियन्त्रणमा अतुलनीय योगदान पु¥याएको भन्दै उहाँलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको थियो ।
उपरथीबाट रथीमा बढुवा हुँदा सिग्देलमाथि नागरिकता र शैक्षिक पत्र गडबल गरेको अरोप लागेको थियो । तर, तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सिग्देलको नागरिकता र शैक्षिक प्रमाण पत्रमा कुनै पनि त्रुटि नगरेको भन्दै रथीमा बढुवा गरेको थियो । त्यसपछि उहाँको प्रधानसेनापति बन्ने बाटो खुलेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच