बेला-बेलामा विभिन्न पार्टीले आफ्ना सदस्य तथा पदाधिकारीलाई कारबाही गर्ने गरेका छन् । हालैमात्र राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल ढकाललाई पार्टीले निष्काशन गरेको छ । केही समय पहिले उहाँलाई पार्टीविरुद्धका गतिविधि गरेको भन्ने आरोपमा निलम्बन गरेको थियो । पार्टीकै केही सदस्यहरूले उहाँलाई मानसिक रोगी र गजडीसमेत भनेका थिए । उहाँविरुद्धमा सार्वजनिक रूपमै यसरी आएका अभिव्यक्तिको प्रतिवाद उहाँले गर्नुभएको थियो तैपनि अन्ततः पार्टीले निष्काशन नै गर्यो । यसलाई अन्यथा मान्न नसकिएला किनभने पार्टीभित्रका आन्तरिक विषय हुन् यी । यस्ता कार्य यस पार्टीबाट मात्र भएका होइनन् । विभिन्न समयमा विभिन्न पार्टीले विभिन्न व्यक्तिलाई अनुशासनको कारबाही गरेर हटाउने वा पार्टीबाट निष्काशन गर्ने गरेका अनेकौं उदाहरण छन् ।
देशमा निरंकुशता भएका बेला प्रतिबन्धित पार्टीहरूको हैसियतमा रहेको बेलामा समेत पार्टी पदाधिकारी र सदस्यहरूलाई हटाउने आफू भने ठूलो पदमा बस्न प्रयास गर्ने गरेको देखिएकै हो । अरू पार्टीहरू पनि यसका लागि अछुतो छैनन् तर विशेषगरी कम्युनिष्ट पार्टीहरूमा यस्तो प्रवृत्ति बढी देखिन्छ । कम्युनिष्ट पार्टीहरूमा सुरुदेखि यस्तो प्रवृत्ति मौलाउँदै आएको थियो । पुष्पलाल श्रेष्ठ जस्ता कम्युनिष्ट पार्टीको संस्थापकलाई नै पनि अन्य कम्युनिष्ट नेताहरूले गद्दार भनेर कारबाही गरेका थिए । यो प्रवृत्ति निरन्तर दोहोरियो र हालसम्म यस्तै प्रवृत्तिले प्रभुत्व जमाइरहेको छ । डा.केशरजंग रायमाझी त पछि दरबारपरस्त बन्न पुग्नुभयो । त्यसैले उहाँलाई पनि गद्दार भनियो । यो स्वाभाविक थियो ।
त्यही बेलादेखि मौलाएको यो प्रवृत्ति पछिल्लो चरणमा वर्तमान नेताहरूले पनि अपनाइरहेका छन् र भोगिरहेका छन् । पञ्चायती व्यवस्थाको निरंकुशताका बेलामा नेकपा माले पार्टीको अधिवेशन भूमिगत रूपमा हुने र त्यसको महामन्त्री पदका लागि हतियार देखाएर जित्ने वा निर्विरोध हुने गरिन्थ्यो भन्ने चर्चा हुन्थ्यो । मदन भण्डारी, झलनाथ खनाल, माधवकुमार नेपाल, खड्गप्रसाद ओली हुन् वा माओवादीका पुष्पकमल दाहालका साथै अन्य कम्युनिष्ट पार्टी हुन् ती सबैले आफू महासचिव बन्न यस्तो फरक शैलीको बाटो अपनाएकै थिए । अहिले परिस्थिति अलिक फरक छ, लोकतन्त्र वा प्रजातन्त्र वा गणतन्त्र जे भने पनि राजनीतिमा खुला वातावरण प्राप्त छ र केही परिवर्तन भएको जस्तो देखिएको भए तापनि नेताहरूको मानोवृत्ति भने उस्तै छ ।
त्यसबेला भूमिगत रूपमा गरिने हैकमवादी व्यवहार अहिले खुलमखुला रूपमा हुनेगरेको छ यतिमात्र फरक हो । रास्वपाका मुकुल ढकालको निष्काशन यसको एउटा उदाहरण बन्नसक्छ तर यसभन्दा बढी यस्तो प्रवृत्ति कम्युनिष्ट पार्टीहरूमा झाँगिएर रहेको छ । डा.भीम रावल जस्ता प्रखर र काबिल नेता हालका दिनमा उहाँको दाबीमा मात्रै एमालेमा रहनुभएको छ । व्यवहारतः उहाँ एमालेमा कुनै भूमिकामा देखिनु भएको छैन । एकताका नेकपा एमालेका स्तम्भका रूपमा चिनिनु भएका बामदेव गौतम हालका दिनमा कतै छायाँमा रहनुभएको छ । मन नमिलेर, व्ययवहार नमिलेर, सोच नमिलेर नै हो नेताहरू एउटै पार्टीमा बस्न नसक्ने । पार्टी फुट्ने कारण पनि यही हो ।
खोतलेर हेर्ने हो भने नेपालमा अस्तित्वमा रहेका सबै पार्टी एकपटक न एकपटक फुटेकै छन् । कोही फुटेर पनि पुनः जुट्न पुगे भने कुनै पार्टीहरू चाहिँ फुटेर गएपछि पुनः जोडिएका छैनन् बरू अझै सानासाना चिरा बन्दै विलीन भएका छन् । तराई मधेसका पार्टीहरू हुन् कि हाल राष्ट्रिय पार्टी भनिएका पार्टीहरू नै किन नहुन् सबैको इतिहास खोतल्ने हो भने यस्तै छ । सबैभन्दा बढी प्रजातान्त्रिक मानिएको नेपाली कांग्रेस पार्टी स्थापना कालदेखि विभिन्न पक्ष-विपक्षमा ध्रुवीकरण हुँदै आएकोमा पछि फुटेर दुई चिरा भयो । अहिले एक देखिए पनि यसभित्रको खेमा कायम नै छ ।
सबै कम्युनिष्ट एक भएर एउटा पार्टी बनाउने भनी २०७४ मा भारी मतले जितेको नेकपा दुई वर्षभित्रैमा छिन्नभिन्न बन्न पुग्यो । एमालेमा शक्तिसंघर्ष भएपछि माधव नेपालहरूले अर्को पार्टी खोल्नुभयो । माओवादी अलग भयो । यसबाट न उहाँहरूको पार्टी मजबुत हुनसकेको छ न त एमालेलाई कुनै लाभ भएको छ । घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायत होनहार युवानेताहरू पलायन हुनुभएको मात्र छ । यसबाट न माउको फाँचाका न त बाछाका मुखमा जसरी बौद्धिकता निष्क्रिय हुन पुगेको छ । नेपाली कांग्रेस र एमाले भन्दा माओवादी कान्छो पार्टी हो तर दुई दशकको अन्तरालमा यसमा आएका अनेकौं उतार चढाव नेपाली जनताले देखिसकेका छन् ।
यसमा भएका नेता पलायनका शृंखला र विभाजनका अनेकौं चोइटा छरिएर छन् । प्रवृत्तिले गर्दा कुनै पनि दलहरू संगठित र शक्तिशाली बन्न जाने होइन निश्चित रूपमा कमजोर हुने हुन् तर नेता र नेतृत्वले भने यही बाटो रोजिरहेको हुन्छ । यो आश्चर्य छ । यस्तो प्रवृत्तिको पछाडि अन्य कुनै उद्देश्य निहित रहने गरेको छैन नेताको स्वार्थी र फरक मत राख्नेलाई पाखा लगाउने प्रवृत्ति हावी भएको हुन्छ । जसले गर्दा पार्टीहरू नै कमजोर हुन पुग्छन् र अन्तत्वगत्वा राष्ट्रले समेत यसको मार व्यहोर्नुपर्ने हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच