‘पीडामा सुख’ रजनी खत्रीको कवितासङ्ग्रह हो । यस सङ्ग्रहका अधिकांश कविताहरू गद्य कविता हुन् । केही कविताहरू गीति शैलीका छन् तर ती थोरैमात्र छन् । रामकुमार बस्नेत प्रकाशक रहेको यस पुस्तकको सर्वाधिकार कवयित्रीमै रहेको छ भने यस पुस्तकको यो प्रथम संस्करण हो जुन २०७८ सालमा प्रकाशित भएको छ । डिएमआई साइजको यस पुस्तको छपाइ स्तरीय छ र अशुद्धिहरू कमै मात्र पाइन्छन् । पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग भएको छ । यसको आवरण चित्र नीरबहादुर याक्खाले तयार पार्नुभएको छ । आवरण कालो पृष्ठभूमिका रहेको छ र त्यसमा रातो रङमा अमूर्त रूपमा एकजना गर्भवती जस्तो लाग्ने महिलाको अमूर्त चित्र रहेको छ ।
कवयित्रीले यस सङ्ग्रहका कविताहरूमा नारीहरूका भावना र समस्या, समानता, मानव जीवन, वार्धक्य, अग्रजहरूप्रतिको सम्मान र संस्मरण, गरिबी, मानवीय पीडा, प्रेम र प्रणय, परिवर्तनको अपेक्षा, समाज चित्रण, प्रकृति चित्रणलगायत भावहरूको संप्रेषण यस पुस्तकमा समेटिएका कविताहरूका माध्यमबाट गर्नुभएको छ ।
उनले हातमा एउटा सेतो फूल लिएकी छन् । यसको अर्थ बच्चा जन्माउनु नारीहरूका लागि एउटा सुखद् क्षण हो भन्न खोजिएको हुनसक्छ । कवयित्री रजनी खत्रीको यस पुस्तकको शीर्षकको आशय पनि आमाहरूले जति कष्ट सहे पनि गर्भवती आवस्थामा सहेको कष्ट आखिर सुखदायी हुन्छ भन्न खोजेको अर्थबोध यस आवरणले गराउन चाहेको छ । यस पृष्ठको माथि ठूला पहेंला अक्षरमा ‘पीडामा सुख’ भनेर पुस्तकको शीर्षक राखिएको छ भने त्यससँगै साना सेता अक्षरमा ‘रजनी खत्री’ भनेर कवयित्रीको नाम दिइएको छ । पृष्ठ आवरणमा फोटोसहित कवयित्रीको नाम दिइएको छ जसअनुसार उहाँ शारदा खत्री र श्यमबहादुर खत्रीकी छोरीका रूपमा दक्षिणकाली नपा ५ डोल्लुमा जन्मिनुभएको र हाल सोही नगरपालिकाको वडा नं. ३ सोखेलमा बस्तै आउनुभएको जानकारी पाइन्छ ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गर्नुभएको जानकारी पनि यस पृष्ठबाट पाइन्छ । यसको लेआउट सरोज बलामीको रहेको छ । यस पुस्तकमा भूमिका खण्डमा १६ र पाठ्यखण्डमा ६४ गरी जम्मा ८० पृष्ठ छन् र यसको मूल्य १५० रुपैयाँ नेपाली तथा विदेशमा युएस डलर ५ रहेको छ । यस पुस्तकको भूमिका खण्डडमा डा.शेखरकुमार श्रेष्ठको ‘ ‘पीडामा सुख’ कविता सङ्ग्रहमा सुख खोज्दा’ शीर्षकमा लामो भूमिका छ भने त्यसपछि कवयित्रीको ‘मेरो भनाइ’ रहेको छ । त्यसपछि समर्पण रहेको जसमा खत्रीले यो पुस्तक आफ्ना मातापिताप्रति सचित्र समर्पण गर्नुभएको छ ।
त्यसपछि ‘कवितासूची’ शीर्षकमा विषयसूची दिइएको छ जसबाट यस पुस्तकमा ३९ वटा कविताहरू सङ्गृहीत भएको जानकारी पाइन्छ । कवयित्रीले यस पुस्तका कवितामध्ये १८ वटा कविताको शीर्षक एक शब्दमा, १५ वटा कविताको शीर्षक दुई शब्दमा, पाँचवटा कविताको शीर्षक तीन शब्दमा र एउटा कविताको शीर्षक पाँच शब्दमा राख्अनुभएको छ । यसबाट रजनी खत्री छोटा-छोटा शीर्षक चयन गर्ने कवयित्रीका रूपमा देखिनुहुन्छ । उहाँको ‘जीन्दगी’ शीर्षकको कविता ज्यादै छोटो छ जुन यस्तो छ :
न हार हो जिन्दगी
न जित हो जिन्दगी
न रात हो जिन्दगी
न पात हो जिन्दगी
न शीत हो जिन्दगी
न गीत हो जिन्दगी
नबुझ्नेलाई भुल हो जिन्दगी
बुझ्नेलाई फूल हो जिन्दगी
यसैगरी फैलावटका आधारमा हेर्दा एक पृष्ठमा १७, दुई पृष्ठमा १९ र तीन पृष्ठसम्मको फैलावटका तीनवटा कविताहरू छन् । यसकारण कवयित्री रजनी खत्री छोटा शीर्षक जस्तै छोटा कविता लेख्न रुचाउनुहुन्छ भन्ने थाहा हुन्छ । उहाँले यस सङ्ग्रहका कविताहरू नारीहरूमा भावना र समस्या, समानता, मानव जीवन, वार्धक्य, अग्रजहरूप्रतिको सम्मान र संस्मरण, गरिबी, मानवीय पीडा, प्रेम र प्रणय, परिवर्तनको अपेक्षा, समाज चित्रण, प्रकृति चित्रणलगायत भावहरूको संप्रेषण यस पुस्तकमा समेटिएका कविताहरूका माध्यमबाट गर्नुभएको छ । कवयित्रीको प्रयास सराहनीय छ । कवियित्री खत्रीलाई बधाई तथा शुभकामना । उहाँबाट अन्य कृतिहरू पनि आइरहून् रजनी खत्रीलाई अग्रिम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच