ललितपुर । नेपाल उद्योग परिसंघ(सिएनआई), होटल संघ नेपाल र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार ललितपुरमा सम्पन्न भएको छ । नेपाल सरकार तथा स्विस सरकारको द्विपक्षीय सम्झौतामा सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजनाको सहयोगमा आयोजित सेमिनार शिक्षा र रोजगारीबीचको सम्बन्ध थप मजबुत बनाउँदै नेपाली युवालाई रोजगारमूलक सीप प्रदान गरी रोजगारीका लागि योग्य बनाउने विषयमा केन्द्रित थियो । नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा र तालिम (टी-भेट) मा निजी क्षेत्रको संलग्नताका लागि विद्यमान चुनौती सम्बोधन गर्ने, निजी क्षेत्रको सहभागिता अभिवृद्धि गर्न नीतिगत सुझाव प्रदान गर्ने र टी–भेटलाई हेर्ने सामाजिक दृष्टिकोणमा सुधार ल्याउने उद्देश्यका साथ आयोजित कार्यक्रम उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा, व्यवसाय र श्रमलाई जोड्ने गरी नीति बनाइनुपर्ने बताउनुभयो ।
२०४५ सालमा स्थापना भएको सिटिइभिटी २०८१ सालमा आइपुग्दा पनि २०४५ सालकै नीतिअनुरूप चलिरहेको भन्दै उहाँले कम्तीमा पनि सिटिइभिटीको पाठ्यक्रम र पुनर्संरचनामा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । मुख्य वक्ता चेयर अफ एजुकेसन सिस्टम इटिएच ज्युरिकका प्रोफेसर डा. उर्सुला रेनोल्डस्ले संघीय संरचनामा टी–भेट क्षेत्रमा औद्योगिक क्षेत्रको संलग्नता हुनुपर्ने बताउनुभयो । शिक्षा प्रणालीले उद्योगले चाहेको जनशक्ति उत्पादन गर्ने सुनिश्चितता गर्नुपर्ने उहाँको भनाइ थियो ।
सिएनआई उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सीपको ठूलो अभाव रहेको भन्दै उद्योगहरूले दक्ष जनशक्ति पाउन संघर्ष गरिरहेको बताउनुभयो । दक्ष जनशक्ति विकासका लागि शिक्षा र रोजगारी प्रणालीबीचको बेमेल कम गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले उद्योगका लागि आवश्यक दक्ष जनशक्ति निर्माणका लागि औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रम महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
स्विस दूतावासका डेपुटी हेड अफ मिसन÷चार्जे डी अफेयर्स माथियास मेइरले स्विट्जरल्याण्डले ड्वेल-भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रमलाई नेपालमा विगत एक वर्षभन्दा लामो समयदेखि प्रवद्र्धन गर्दै आएको बताउनुभयो । कार्यक्रममा सिटिइभिटीका सदस्य–सचिव महेश भट्टराई, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सीपयुक्त जनशक्ति बनाउन नेपाली युवालाई शिक्षा र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
सेमिनारमा दुई प्राविधिक सत्र राखिएको थियो । पहिलो सत्रमा टी–भेट कार्यक्रममा संलग्नताका लागि निजी क्षेत्रको भूमिका, नीतिगत व्यवधान र सम्भावित उपायको खोजीका सन्दर्भमा छलफल भएको थियो । उक्त सत्रमा नेपालमा ड्वेल-भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण, युवा तथा उद्योगलाई औद्योगिक प्रशिक्षणका फाइदाबारेमा गरिएको अध्ययनका नतिजा र सिटिइभिटीमा नीतिगत अभावसम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो । उल्लेखित विषयहरूमा संसदीय शिक्षा समिति, शिक्षा मन्त्रालय, नेपाल सिएनआई र उद्योग वाणिज्य महासंघका प्रादेशिक प्रतिनिधिबीच छलफल गरिएको थियो । दोस्रो सत्रमा टी-भेट कार्यक्रमको तालिम अवधिमा निजी क्षेत्रको भूमिकाअन्तर्गत विद्यमान अभ्यासका साथै सुधारका आवश्यकताबारेमा छलफल भएको थियो । नेपालमा टी-भेट स्कुलहरूको अवस्था र उद्योगहरूले नेतृत्व गरेको क्षेत्रगत सीप समितिहरूले रोजगारदाताका आवश्यकता र उत्पादनबीचको दूरी कसरी कम गर्न सकिन्छ भन्ने सम्बन्धमा दुर्ईवटा कार्यपत्र प्रस्तुत गरिएका थिए । उक्त प्रस्तुतिपछि क्षेत्रगत सीप समिति, सिटिइभिटी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधिहरू सम्मिलित प्यानलमा छलफल भएको थियो । होटल व्यवस्थापन तथा अटोमोबाइल औद्योगिक प्रशिक्षण प्रि-डिप्लोमा कार्यक्रमका प्रशिक्षार्थीबीच सीप प्रतिस्पर्धासमेत आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सहभागी प्रशिक्षार्थीले सवारीसाधन मर्मत र खाना पकाउने कला प्रदर्शन गरेका थिए ।
सो अवसरमा पञ्चकन्या ग्रुप प्रालि, नेपाल इकरात इञ्जिनियरिङ प्रालि, अरिहान्त मल्टी फाइबर्स, सिजी मोटो कर्पोरेसन र एयरपोर्ट होटल अप्रेन्टीससिप च्याम्पियन अवार्डबाट सम्मानित भएका थिए । औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रममा संलग्न भई विपन्न वर्गका युवा तथा महिलालाई प्राथमिकता दिई आफ्नो उद्योगमा धेरै संख्यामा प्रशिक्षार्थीलाई प्रशिक्षणका लागि स्थान दिई कार्यक्रमलाई सक्रिय रूपमा सहयोग गर्ने उद्योगलाई पुरस्कृत गरिएको हो । साथै सीप प्रतिस्पर्धाका विजयी प्रशिक्षार्थी वसन्तकुमार चौधरी, रविना राई र रश्मी मुखियालाई पुरस्कृत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच