‘श्रमिक विमर्श’ विशेष स्मारिका नेपाल श्रम प्रतिष्ठान केन्द्रीय कार्यालयबाट प्रकाशित भएको स्मारिका हो । लीलानाथ चौंलागाईं तथा विकास दाहाल सम्पादक रहेको यस स्मारिकाको संरक्षक नेपाल श्रम प्रतिष्ठानका खिनानाथ दाहाल रहनुभएको छ । डिएमआई साइजमा प्रकाशित भएको यस स्मारिकाको छपाइ स्तरीय छ तर केही अशुद्धि भने पाइन्छन् । २०८१ सालमा १००० को संख्यामा छापिएको यस स्मारिकाको भूमिका खण्डमा ८ र पाठ्यखण्डमा २४८ गरी जम्मा २५६ पृष्ठ छन् । यसको मूल्य सहयोग स्वरूप भनिएको छ र संस्थागत रूपमा आठ सय र व्यक्तिगत रूपमा ६ सय रुपैयाँ रहेको छ ।
यस स्मारिकामा पहेंलो हलुका कागजको प्रयोग गरिएको छ । प्रमिला पोखरेलको कम्युटर सेटिङ रहेको यस समरिकारको मुद्रण सनातन प्रेस, काठमाडौंमा भएको छ । यसको आवरण नीलो पृष्ठभूमिमा आकर्षक रूपमा राखिएको छ भने यसको बीचमा विभिन्न श्रमसम्बन्धी संघसंगठनहरूको बोध गराउने गरी कलम, कुची, हतौडा, स्टेथेस्कोपहरू लिएका हात रहेका छन् । माथि स्मारिकाको नाम दिइएको छ ‘श्रमिक विमर्श’ भनेर भने तल प्रकाशन संस्था नेपाल श्रम प्रतिष्ठानको नाम दिइएको छ । यसको पृष्ठ आवरण पनि नीलो रङको पृष्ठभूमिमा रहेको छ । यस पृष्ठको माथि र बीचमा कुनै सामग्रीहरू दिइएको छैन । तल लोगोसहित प्रकाशक संस्था नेपाल श्रम प्रतिष्ठानको नाम उल्लेख भएको छ ।
यो स्मारिका नेपालको श्रमिक आन्दोलनका साथै केही हदसम्म विश्वको श्रमिक आन्दोलन बारेमा समेत जानकारी दिने उद्देश्यका साथ प्रकाशित भएको छ । यहाँ समावेश भएका जानकारी तथा लेखरचनाहरू सबै नै ज्यादै उपयोगी छन् । नेपाल श्रम प्रतिष्ठानको यो सराहनीय कार्य हो ।
यसको भूमिका खण्डको सुरुमा नेपाल श्रम प्रतिष्ठानका अध्यक्षको तर्फबाट प्रकाशकीय छ भने त्यसपछि सम्पादकीय छ । त्यसपछि विषयसूची छ । यसबाट जानकारी भएअनुसार यहाँ अन्तर्वार्ता, लेख लगायत २८ वटा सामग्री समावेश गरिएका छन् । केही जानकारीमूलक र केही विचारमूलक लेखहरू यहाँ समावेश भएका छन् । यिनले नेपालको श्रमिक आन्दोलनका विविध पक्षलाई प्रकाश पार्ने काम गरेका छन् । यस स्मारिकामा समावेश गरिएका लेखका लेखक ख्यातिप्राप्त वरिष्ठ व्यक्तिहरू हुनुहुन्छ ।
नेपालको पत्रकारिताका अग्रणी व्यक्ति किशोर नेपालदेखि अन्य विद्यावारिधि उपाधि हासिल गर्नुभएका व्यक्तिहरूका लेखकको वर्चस्व यस स्मारिकामा भएको पाइन्छ । केही लेखहरू अङ्ग्रेजीमा पनि छन् भने धेरैजसो नेपाली भाषामा छन् । लेखहरूका साथै केही कविताहरू पनि यसमा समेटिएका छन् । सुरुमा नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्षसमेत रहिसक्नुभएका नेपाल श्रम प्रतिष्ठानका परिकल्पनाकार खिलानाथ दाहालको विशेष कुराकानी (अन्तर्वार्ता) प्रस्तुत गरिएको छ । यो लामो कुराकानीबाट नेपालीको श्रमिक आन्दोलनको विविध पक्षको साङ्गोपाङ्ग चित्रण भएको पाइन्छ ।
२०३१ सालको चर्चित नखुहत्यकाण्डका सहिदमध्येका एक लीलानाथ दाहालका भाइ खिलानाथ दाहाल आफैँ पनि नेपालको प्रजातान्त्रिक आन्दोलनका एक सशक्त व्यक्ति हुनुहुन्छ । उहाँले आफ्नो जीवनको प्राय सबैजसो समय श्रमिक आन्दोलनमै समर्पण गर्नुभएको छ । उहाँकै परिकल्पनामा स्थापित नेपाल श्रम प्रतिष्ठान प्रकाशक रहेको यस स्मारिकामा किशेर नेपाल, योगेन्द्रकुमार कुँवर, डा.विन्दा पाण्डे, डा.सुरेश आचार्य, डा.जगत नेपाल, कविराज अधिकारी, महेन्द्रप्रसाद यादव, लक्ष्मीकिशोर सुवेदी, प्रा.डा.केशवप्रसाद अधिकारी, डा.द्वारिका उप्रेती, तथा ध्रुवचन्द्र गौतमका लेखहरू समावेश गरिएका छन् ।
यस स्मारिकामा प्रा.डा.सञ्जय आचार्य र विजया दाहालका अङ्ग्रेजी भाषामा लेखिएका लेखहरू पनि रहेका छन् भने डा.नवराज लम्साल तथा पौडेल विमुन्सका श्रमिकसम्बन्धी कविताहरू पनि छन् । यसैगरी यस स्मारिकामाबमबहादुर डिसी, लक्ष्मी दाहाल रावल, निपेश ढाका, लिलानाथ चौलागार्इंं, अनु शर्मा, अञ्जु दाहाल (विमला) का लेखहरूछन् । स्मारिकाको अन्त्यका केही पृष्ठहरूमा नेपाल श्रम प्रतिष्ठानको गतिविधिहरूका केही झलकहरू देखिने गरी रङ्गीन तस्वीरहरू पनि समावेश गरिएको पाइन्छ ।
समग्रमा भन्दा यो स्मारिका नेपालको श्रमिक आन्दोलनका साथै केही हदसम्म विश्वको श्रमिक आन्दोलन बारेमा समेत जानकारी दिने उद्देश्यका साथ प्रकाशित भएको छ । यहाँ समावेश भएका जानकारी तथा लेखरचनाहरू सबै नै ज्यादै उपयोगी छन् । नेपाल श्रम प्रतिष्ठानको यो सराहनीय कार्य हो । यसका लागि यो प्रतिष्ठान धन्यवादको पात्र बनेको छ । आगामी दिनमा पनि यस प्रतिष्ठानबाट यस्ता काम भइरहून्, हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच