काठाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले पाँचथर जिल्लामा भएको बम विस्फोटको घटनाबारे सरकारको जवाफ मागेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको फालेलुङ घटनाबारे संसद्मा गृहमन्त्री रमेश लेखकको जवाफ माग गर्नुभएको हो । सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा प्रमुख सचेतक बर्तौलाले भदौ १३ गते भएको विस्फोटमा दुई जना बालबालिकाको मृत्यु भएको बारेमा गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने उल्लेख गर्दै भन्नुभयो, ‘बम विस्फोट हुँदा दुईजना बालबालिको मृत्यु भयो । दु्ईजना घाइते भएको दुःखद घटना हो । यस्ता घटनाबारे गम्भीरतका साथ अनुसन्धान गर्नुपर्छ । घटनाको दोषी को हो ?
सदनलाई जानकारी दिनुपर्छ । गम्भीर प्रकृतिको घटनाबारे गृहमन्त्रीले संसद्मा जानकारी गराउनुपर्छ ।’ प्रमुख सचेतक बर्तौलाले मिडियामा सशस्त्र द्वन्दको समयमा बिच्छाइएको बम अहिले आएर विस्फोट भएको समाचार आएको भन्दै सोध्नुभयो, ‘यो घटनाप्रति को जवाफदेही हुनुपर्ने हो ? कसले जिम्मेवारी लिनुपर्ने हो ? त्यो बेलाको द्वन्द्वको एउटा पक्ष माओवादीले जिम्मेवारी लिनु पर्दैन ?’ यही भदौ १३ गते फालेलुङ गाउँपालिकाको डाँडागाउँमा द्वन्द्वकालको हृयाण्डमेड सकेट बम विस्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाई वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । उनीहरू दाजु-बहिनी हुन् । नेपाली सेनाले डिस्पोज गरेपछि उक्त विस्फोटक पदार्थ हातले बनाइएको सकेट बम रहेको पुष्टि भएको थियो ।
शाहीको आरोप : ‘प्रधानमन्त्रीको जति झुट बोल्ने मान्छे सायद नेपालमा कोही छैन’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली जति झुट बोल्ने मान्छे नेपालमा कोही नभएको आरोप लगाउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा प्रमुख सचेतक शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहका लागि ५६ जना विद्यार्थी जुम्ला पुगेका तर अन्तिम समयमा प्रधानमन्त्रीले ढाँटेको आरोप लगाउँदै भन्नुभयो, ‘दीक्षान्त समारोह भनेर ५६ जना विद्यार्थी पूर्वको झापादेखि पश्चिमको कञ्चनपुर सम्मका विद्यार्थी जुम्ला गए । त्यति मात्रै होइन डा.सन्दुक रुइत पनि जानुभयो, हामीहरू गयौँ । स्वास्थ्य सचिव जानुभयो लास्ट आवरमा आएर के भनिदिनुभयो, म आउँदिनँ दीक्षान्त समारोह पछाडि सारौँ । हुकुमी शासन हो ?’ विद्यार्थी र क्याम्पसले त्यहाँ गरेको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गर्न माग गर्दै शाहीले भन्नुभयो, ‘प्रधानमन्त्री बिरामी हुनुभो अथवा मौसम खराबी भयो यो कुरा स्वीकार्छौं । कार्यव्यस्तता ? भ्युटावर भएको भए दौडेर जानुहुन्थ्यो होला विश्वविद्यालय प¥यो त्यसकारण जानुहुँदैन ।’
धनराज गुरुङमाथि छानविन हुन्छ कि हुन्न ? : पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि छानविन गर्न माग गर्नुभएको छ । करिब १५ करोड रुपैयाँ रकम हिनामिना गरेका गुरुङ र उहाँकी श्रीमतीविरुद्ध उजुरी परेको भन्दै सांसद पराजुलीले छानविनको माग गर्नुभएको हो । सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएको उल्लेख गर्दै भन्नुभयो, ‘अब माननीय गुरुङको बारेमा छानविन हुन्छ कि हुँदैन ? गुरुङमाथि छानविनको माग गर्दै संसद्को वेल घेराउ गर्ने कि नगर्ने ?’
कृषि विश्वविद्यालयमा विद्यार्थी झगडाबारे उठ्यो प्रश्न
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा विद्यार्थी बीचको झगडाले परीक्षा स्थगित भएको बारेमा प्रतिनिधि सभामा प्रश्न उठेको छ । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेका विद्यार्थी संगठन बीचको झगडाका कारण परीक्षा स्थगित भएको भन्दै विपक्षी दलका सांसदहरूले सरकार र सत्तारूढ दलमाथि प्रश्न गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफ्ना भ्रातृ संगठनलाई सम्हाल्न आग्रह गर्दै भन्नुभयो, ‘नेपाली कांग्रेस र नेकपा एमाले दुईवटै दललाई आग्रह हो, तपाईंहरूका भ्रातृ संगठनलाई सम्हाल्नुस् । कि त भ्रातृ संगठन नभन्नुस्, गुण्डाहरूको संगठन भन्नुस् ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले यो वा त्यो रूपमा विद्यार्थीको जाँचमा खेलवाड गर्न नहुने बताउनुभयो । पूर्व-शिक्षामन्त्रीसमेत रहनुभएकी सांसद श्रेष्ठले भन्नुभयो, ‘सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु- विद्यार्थीको जीवनमा, जाँचमा यस्तो खेलवाड नगरियोस् । एउटा प्रधानमन्त्रीको पार्टी, एउटा गृहमन्त्रीको पार्टी । दुईटा विद्यार्थी संगठनको लडाइँमा पढ्छु मात्रै भन्ने विद्यार्थीहरूले जाँच पनि दिन नपाउने ? प्रधानमन्त्री ओलीको कार्यकाल इतिहासले मूल्यांकन गर्छ ।’ कृषि तथा वन विज्ञान विश्वविद्यालयको छात्रावासका विद्यार्थीहरूबीच यही भदौ १३ गते कुटाकुट भएको र यो विषयमा सत्तारूढ कांग्रेससम्बद्ध नेपाल विद्यार्थी संघ र एमालेसम्बद्ध अनेरास्ववियुबीच आरोप प्रत्यारोप चलेको छ । यसकारण भदौ १४ गतेदेखि हुने नियमित तथा मौका परीक्षा स्थगित भएको छ । भदौ २८ गतेदेखि हुने नयाँ भर्नाको लागि प्रवेश परीक्षा पनि स्थगित भएको छ ।
प्रतिनिधि सभामा आकस्मिक समय अब २ मिनेट मात्र
प्रतिनिधि सभामा आकस्मिक समयको समय घटाइएको छ । यसअघि आकस्मिक समयका लागि तीन मिनेट समय छुट्याउने गरिएको थियो । सोमबारदेखि एकमिनेट घटाएर दुई मिनेट कायम गरिएको हो । सोमबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै केही सांसदले ढ्याप ढ्याप गरेर आकस्मिक समय माग गरे । त्यसपछि सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने सांसदका लागि दुई मिनेट समय निर्धारण गरिएको जानकारी गराउनुभयो । दुई मिनेटपछि स्वचालित रूपमा सांसदको माइक काटिने प्रावधान पनि सभामुख घिमिरेले लागू गर्नुभएको छ । यसअघि आकस्मिक समयमा तीन मिनट दिने गरिएको र तीन मिनेटमा समेत सभामुखले समय थप गर्न सक्नेगरी विवेकमा छाडिएको थियो । तर, यसो गर्दा आकस्मिक समय व्यवस्थित हुन नसकेको भन्दै सभामुख घिमिरेले समय घटाएर त्यसमा पनि स्वचालित रूपमा माइक काटिने प्रावधान लागू गर्नुभएको हो ।
नेपाल विश्वविद्यालय विधेयक संघीय संसद्बाट पारित
नेपाल विश्वविद्यालय विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ । यो विधेयक तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले २० मंसिर २०७९ मा राष्ट्रिय सभामा दर्ता गर्नुभएको थियो । राष्ट्रिय सभाले १८ असार २०८० मा पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । राष्ट्रिय सभाबाट पारित भएर आएका यो विधेयक सोमबार प्रतिनिधि सभाले पनि पारित गरेको हो । सोमबार प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । जसलाई सभाले बहुमतले पारित गरेको हो । अब यो विधेयक पारित भएको सन्देश राष्ट्रिय सभामा जान्छ । प्रतिनिधि सभाबाट विधेयक पारित भएको सन्देश राष्ट्रिय सभामा सुनाइन्छ । त्यसपछि राष्ट्रिय सभाका अध्यक्षले प्रमाणित गरेर राष्ट्रपति कहाँ पठाउँछन् । राष्ट्रिपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच