जैमिनी नगरपालिकाले बेसहारालाई आवासीय शिक्षा दिने

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । शिक्षा क्षेत्रमा नयाँ काम गर्दै आएको बागलुङको जैमिनी नगरपालिकाले यस वर्षदेखि अनाथ, असाय र विपन्न परिवारका बालबालिकालाई निःशुल्क आवासीय शिक्षा दिने भएको छ । नगरपालिकाले १० वटै वडामा शिक्षाको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई आवासीय सुविधासहित पढाउने जिम्मा लिन थालेको हो । ‘असाय बालबालिकालाई शिक्षा’ कार्यक्रमअन्तर्गत बेसाहारा बालबालिकालाई आवासीय शिक्षा दिइने भएको छ । दुई वर्ष अगाडिदेखि ‘लिड स्कूल’को अवधारणा लिएर काम गरेको नगरपालिकाले वडा नम्बर ५ स्थित सर्वोदय जनक माध्यमिक विद्यालयमा बालबालिकालाई आवासीय सुविधासहित पढाउने भएको छ ।

बसाइँसराइ कारणले विद्यार्थीहरु घट्ने क्रम बढेपछि विद्यालय घटाउने र गुणस्तर बढाउनका लागि नगरपालिकाले ‘लिड स्कूल’ अवधारण ल्याएको थियो । गाउँ-गाउँमा धेरै बालबालिका अभिभावकविहीन भएको हुँदा उनीहरुको अभिभावकत्व नगरपालिकाले लिएर शिक्षा दिने भएको हो । सर्वोदय जनक माध्यमिक विद्यालयमा होस्टेल तयार भएको भन्दै अन्य व्यवस्थापकीय पक्ष सुधार गरेर विद्यार्थी राखिने छ । आर्थिक अस्था कमजोर हुँदा पढाईबाट बिमुख भएका बालबालिकालाई पनि नगरपालिकाले पढाउने जिम्मा लिएको उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

कक्षा १ देखि १२ सम्म ‘लिड स्कूल’मा पढाउने र त्यसभन्दा माथि पढ्नेहरुका लागि छात्रवृत्तिको सुविधा दिइने उहाँको भनाइ छ । नगरपालिकाले यस वर्ष २० जना बालबालिकालाई सुविधा दिने र आगामी वर्ष बढाउँदै जाने उपप्रमुख शर्मा बताउनुहुन्छ । चालु आर्थिक वर्षमा प्रति विद्यार्थी ४० हजारका दरले बजेट विनियोजन गरेको भन्दै आगामी वर्ष नयाँ थपिए सो अनुसार व्यवस्थापन गर्ने उहाँको भनाइ छ । कोही पनि बालबालिका आफन्त नभएर र आर्थिक अवस्था कमजोर भएर पढाईबाट टाढा हुनु नपर्ने शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो - “सबै नागरिकलाई शिक्षित बनाउने, स्वास्थ राख्ने प्रयास गरि रहेका छौँ, यस वर्ष हामीहरुले ‘असाय बालबालिकालाई शिक्षा’ कार्यक्रम संचालन गर्दै छौँ, यसबाट आफन्त नभएका बालबालिका, असाय र विपन्न परिवारका बालबालिकालाई नगरपालिका अभिभावक बनेर पढाउने गरि जिम्मा लिदैछ, नागरिकलाई शिक्षा दिने हाम्रो दायित्व हो, जैमिनीमा कोही पनि बालबालिका पारिवारी, आर्थिक र सामाजिक समस्याले शिक्षाबाट बिमुख बन्नु पर्ने छैन ।”

‘लिड स्कूल’मा विद्यार्थी र अभिभावकालाई आम्दानीसंग जोड्ने गरि काम भइरहेको छ । वि.सं. २०७८ सालमा ‘लिड स्कूल’ घोषणा भएको विद्यालयमा नगरपालिकाले लाख लगानी गरेको छ । उक्त वद्यालयमा यस वर्षदेख पढ्दै कमाउदै अभियानअन्तर्गत चार रोपनी जग्गा भाडामा लिएर छ वटा प्लाष्टिक टनेल स्थापना गरि तरकारी खेतीसमेत थालिएको छ । प्रत्येक वडाबाट दुई/दुई जना विद्यार्थी लिएर उनीहरुलाई यही विद्यालयमा राखिने जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार जैमिनी नगरपालिकामा ८० वटा सामुदायिक र एउटा संस्थागत गरि ८१ वटा विद्यालय रहेका छन् ।

उक्त विद्यालयहरुमा करिब छ हजार ५०० विद्यार्थी अध्ययनरत रहेको आचार्य बताउनुहुन्छ । विद्यालयभन्दा बाहिर रहेका बाललिकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि ‘असाय बालबालिकालाई शिक्षा’ कार्यक्रम संचालन गर्न थालिएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?