कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी बिमा थापामगरको जबरजस्ती करणीपछि हत्या भएको खुलेको छ । डडेल्धुराको अमगरगढी नगरपालिका–२ की थापामगरको सामुदायिक वनमा २०८० मङ्सिर ६ गते शव फेला परेको थियो ।
धनगढी उपमहानगरपालिका–४ मा बसोबास गर्दै आएकी ३१ वर्षीया थापामगरको २०८० कात्तिक २९ गते राति लागुऔषध सेवन गर्दै जबरजस्ती करणीपछि हत्या भएको खुलेको हो । कैलाली प्रहरीले घटनाको ११ महिनापछि मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय जनक देउवालाई आइतवार सार्वजनिक गरेको छ । जनक देउवाको घरमा २०८१ कात्तिक २९ गते बुधवार राति मुस्कान भन्ने बिमा थापा मगरलाई बोलाएको र धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय संजीव चौधरी र जनक देउवाले लागुऔषध सेवन गर्दै पालैपालो शारीरिक सम्बन्ध राखेको खुलेको छ ।
प्रहरीको अनुसन्धान अनुसार उनीहरूको कुटपिटबाट थापामगर बेहोस भएकी थिइन् । बेहोस थापा मगरलाई देउवा र चौधरीले स्कुटरमा राखेर सरस्वती सामुदायिक वनमा फालेका थिए । उनीहरूले लागुऔषध सेवन गरेर मृत्यु भएको बनाउन लागु औषधका पाकेटसमेत शव फालेको स्थानमा छोडेको अनुसन्धानबाट खुलेको छ ।
सामुदायिक वनमा शव फेला परेकी मगरको फोन नभेटिएपछि घटना अन्त मोडिएको थियो । उनीसँग फोन रहेको साथीमार्फत प्रहरीमा सूचना आएको हो । लामो समयसम्म प्रयोगमा नआएको उक्त फोनमा २ वटा सिम पछि मात्र प्रयोग भएपछि प्रहरीले घटनामा नयाँ अनुसन्धान थालेको थियो । प्रहरीले फोनको आइएमइआइ विवरणको अनुसन्धानबाट धनगढी–५ को कृष्णबहादुर चौधरीको नाममा रहेका सिमहरू उक्त फोनमा प्रयोग हुँदै आएको पाइएको थियो । संजीव चौधरीकी श्रीमतीसँग फोन फेला परेको प्रहरीले बताएको छ । संजीव भारत फरार भएका थिए । तर, उनी २०८१ असोज ५ गते त्रिनगर सीमा क्षेत्रबाट पक्राउ परेका छन् । श्रीमतीलाई समेत भारत लैजान भनि आएका चौधरीलाई कैलाली प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको हो । उनी पक्राउ परेपछि मुख्य योजनाकार र घटनामा मुख्य आरोपित देउवाको विषयमा खुलेको थियो ।
देउवालाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बताउनु भयो । भारतीय प्रहरीको सहयोगमा चौधरीलाई नियन्त्रणमा लिएपछि देउवा घरबाट पक्राउ परेका हुन् । उनीहरूलाई आइतवार कैलाली प्रहरीले सार्वजनिक गरेको छ । उनीहरूको विरुद्धमा कर्तव्य ज्यान शीर्षकमा मुद्दा चलाउने कैलाली प्रहरीले बताएको छ । देउवा, चौधरी र मगर तीनै जना लागुऔषध सेवनकर्ता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच