एउटा नीतिवचन छ :
काव्यशास्त्रविनोदेन कालो गच्छति धीमताम् ।
व्यसनेन च मूर्खाणां निद्रया कलहेन वा ।।
बुद्धिमान व्यक्ति काव्य, शास्त्र आदिको अध्ययनबाट मनोविनोद गर्दै समय व्यतीत गर्दछन् भने दुव्र्यसन, निद्रा वा झैझगडामा मूर्खहरूले समय बिताउँछन् । शिक्षामा चासो राख्नेहरूका लागि प्रा.डा.तीर्थराज खनियाले यो वर्ष दुई पुस्तक दिएका छन् । ‘म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर’ भन्ने कुन्ती मोक्तानको गीत जस्तै लेखनमा निरन्तरता दिई शिक्षाविद्को आफ्नो पगरीलाई सार्थकता दिने काम डा.खनियाले गरेका छन् । शिक्षाक्षेत्रमा आफ्नो जीवनको पाँच दशकभन्दा बढी अटूट समय समर्पण गरेका खनियाले दुई थान पुस्तकमात्र नभई उच्चशिक्षामा फड्को मार्न सहयोगी हुने विचार यी पुस्तकहरू मार्फत पस्केका छन् । डा.खनियाका यी दुबै पुस्तक राज्य, समाज र व्यक्ति सबैले पढ्न जरुरी छ । मुलुकको शिक्षाको नीति निर्माण तहमा रहेकाले त भोलि नभनी आजै पढेर पुस्तकहरूमा उल्लेख भए अनुसारको व्यवस्था मिलाउन तत्पर हुनुपर्ने देखिन्छ ।
‘नेभिगेटिङ्ग हाइअर एजुकेसन इन नेपाल : हिस्टोरिकल पर्सपेक्टिभ एण्ड फ्युचर डाइरेक्सन्स’ अर्थात् ‘नेपालमा उच्चशिक्षाको उपयुक्त मार्ग : ऐतिहासिक दृष्टिकोण एवं भावी दिशा’ नामक एक र ‘सिफ्टिङ्ग पाराडाइम इन हाइअर एजुकेसन, ब्यालेन्सिङ हृयुमानिज्म, साइन्टिज्म एण्ड एकेडेमिक क्यापिटालिज्म’ अर्थात् ‘उच्चशिक्षामा आमूल परिवर्तन, मानवता, वैज्ञानिक प्रभाव र प्राज्ञिक पुँजीवाद’ नामक अर्को पुस्तक बजारमा आएका छन् । २१३ पृष्ठको पहिलो पुस्तक सात अध्यायमा विभक्त छ भने २३४ पृष्ठको दोस्रो पुस्तक दश अध्यायमा बाँडिएको छ । अंग्रेजी भाषामा लिखित दुबै पुस्तक सरल अंग्रेजीमा छन् जसलाई सामान्य अंग्रेजी बुझ्नेले पनि सहजै अध्ययन गर्न सक्दछन् ।
आफूले पढेका दर्शन र उच्चशिक्षाको आफ्नो लामो अनुभवलाई मिलाएर डा.खनियाद्वारा लेखिएका दुवै पुस्तक पहिलो पाना पढ्न थाले पछि छोड्न मन नलाग्ने छन् । अंग्रेजीका विद्वान् डा.खनिया अंग्रेजीका मात्रै नभएर शिक्षा, समाज र राजनीति सबै क्षेत्रका विज्ञ रहेको पुष्टि यी पुस्तकहरूले गरेका छन् ।
वीरेन्द्र क्याम्पस, चितवनको क्याम्पस प्रमुख, त्रिविमा अंग्रेजी केन्द्रीय विभागको अध्यक्ष, आधारभूत शिक्षा परियोजनाको प्रमुख, उच्चमाध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष जस्ता जिम्मेवारीहरू सम्हालेर तिनै बेलाका अनुभव पोखिएका पुस्तकहरू यत्तिकैमा पनि गर्विला छन् भन्न सकिन्छ । त्यतिमात्र नभई राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य र त्रिभुवन विश्वविद्यालयको उपकुलपति जस्ता अति मर्यादित ओहोदामा रहेर अनुभव सँगालेका डा.खनियाका पुस्तकहरूलाई कम आँक्न त्यसै पनि हुँदैन । त्यसमाथि पाँच दशक अंगे्रजी प्राध्यापनको क्षेत्रमा बिताएका डा. खनियाले अंग्रेजी भाषामै पुस्तक लेख्दा सरर्र बगेका छन् र नितान्त प्राविधिक विषयलाई पनि रसिलो बनाउन सफल भएका छन् ।
आफूले पढेका दर्शन र उच्चशिक्षाको आफ्नो लामो अनुभवलाई मिलाएर डा.खनियाद्वारा लेखिएका दुबै पुस्तक पहिलो पाना पढ्न थालेपछि नसकिँदासम्म छोड्न मन नलाग्ने छन् । अंग्रेजीका विद्वान् डा.खनिया अंग्रेजीका मात्रै नभएर शिक्षा, समाज र राजनीति सबै क्षेत्रका विज्ञ रहेको पुष्टि यी पुस्तकहरूले गरेका छन् । विदेशीदेखि स्वदेशी विद्वान्हरूले प्रतिपादन गरेका शिक्षा सम्बन्धी दर्शनलाई पठनीय बनाएर एकातिर प्रस्तुत गरिएको छ भने तिनै दर्शनहरूलाई नेपाली उच्चशिक्षाको प्रायोगिक अनुभवसँग तारतम्य मिलाएर समेटिएको छ ।
नेपालीहरूका लागि उपयोगी यस्ता पुस्तकहरू प्रकाशन गरेर अमेरिकाको बाल्टिमोर स्थित स्टार स्कलर्स प्रेस धन्यवादको पात्र बनेको छ । नेपालीका लागि मात्र नभई कतिपय सन्दर्भहरू विश्वका विकसित मुलुकहरूले समेत अनुसरण गर्नुपर्ने खालका पनि छन् ।
इतिहासदेखि भावी दिशासम्म समेटिएको पुस्तकमा याज्ञवल्क्य, व्यास, गार्गीदेखि लिएर बुद्धसम्मकाले ज्ञानको केन्द्र नेपाललाई बनाएको गर्व छ भने वर्तमानमा नेपालको उच्चशिक्षाले जुन स्थान लिनुपर्दथ्यो त्यो लिन नसकेकाले दुःख मनाउसम्म गरिएको छ । कतैकतै विद्यालय शिक्षाका बारेमा सामान्य प्रवेश गरिएको भए तापनि दुबै पुस्तक उच्चशिक्षामै केन्द्रित भएका छन् । त्यसैले पनि पुस्तकहरूको नाममा उच्चशिक्षा लेखिएको छ र शीर्षकहरू सार्थक बन्न पुगेका छन् । राणाकाल, पञ्चायतकाल, प्रजातान्त्रिक काल र गणतन्त्रपछिको गरी क्रमबद्धरुपमा विभिन्न चरणका आरोह अवरोहसहित उच्चशिक्षाको इतिहासलाई प्रामाणिकताका साथ प्रस्तुत गरिएको छ ।
विशेषतः त्रिभुवन विश्वविद्यालयलाई नै उच्चशिक्षा र उच्चशिक्षा भनेकै त्रिवि भन्ने आशय पुस्तकहरूबाट झल्किन्छ । लगभग ८० प्रतिशत विद्यार्थीको बोझ धानेको त्रिभुवन विश्वविद्यालयको गुनगान विशेष हुनुमा कसैले आपत्ति जनाउँदैन तर अरू २० प्रतिशतको चर्चा हुँदै नहुनुमा भने डा. खनियाले यस्तो किन गरे होलान् भन्ने लाग्दछ । खनिया सरको जीवन त्यहीँ बित्यो, खनियाँ सरलाई त्रिविले नै विश्वभर चिनायो, डा.खनियालाई डा.खनिया त्रिविले नै बनायो, त्यसैले त्रिविको विशेष चर्चा उनको पुस्तकहरूमा हुनुलाई कुनै पनि हिसाबले अनौठो मानिँदैन । अर्कोतिर ज्येष्ठ प्राध्यापकहरूको अधिक संख्या त्रिविमै हुनु र नेपालको उच्चशिक्षाको नेतृत्व तहमा त्रिविकै अंश बढी हुनुले पनि यसो हुनुलाई असामान्य नमानिएला तर खनिया सर जत्तिकाले अरू विश्वविद्यालय र उच्चशिक्षा प्रदायक संस्थाहरूका भूमिकालाई पनि स्थान दिएको भए सुनमा सुगन्ध हुने थियो जस्तो लाग्दछ ।
विभिन्न समयमा लागू गरिएका शिक्षानीतिका साथै उच्चशिक्षाले इतिहासमा भोगेका कठिनाइ र भोलिका दिनमा नेपालले आत्मसात् गर्नुपर्ने बाटाका बारेमा विस्तृत व्याख्या गरिएको छ । मानिसको सबैभन्दा उत्कृष्ट सिर्जना नै विश्वविद्यालय हो भन्दै शिक्षाको महत्वलाई प्रकाश पार्ने काम डा. खनियाका पुस्तकहरूले गरेका छन् । त्रिभुवन विश्वविद्यालय स्थापनापूर्व नेपालीहरूले उच्चशिक्षाको डिग्री लिन बनारस या भारतका विश्वविद्यालयहरूमा जानुपर्ने बाध्यताका कुराहरूदेखि त्रिभुवन विश्वविद्यालयको स्थापनापश्चात्का समग्र उतारचढावहरूका बारेमा जानकारी मिल्दछ । उनी आफू उपकुलपति हुँदा विश्वका विश्वविद्यालयहरूको गुणस्तरको सूचीमा त्रिवि ८०१ देखि १००० सम्मको श्रेणीमा परेको तर पछिल्ला दिनमा खस्किएर निकै तल झरेकोमा ठूलो चिन्ता व्यक्त गरिएको छ ।
आफू कार्यरत संस्थाहरूप्रति खनिया इमानदार देखिएका छन् । उच्च माध्यमिक शिक्षा परिषद्को पहिलो उपाध्यक्ष भएका उनी आरम्भमा सरकार तथा समाजका तर्फबाट उच्च माध्यमिक शिक्षालाई गरिएको बेवास्तालाई समेत विस्तारमा बताएका छन् । विश्वविद्यालयले भने नयाँ ज्ञान र प्रविधिहरूको सिर्जना गर्दै मुलुकको विकासमा योगदान गर्नुपर्नेमा त्रिवि त्यतापट्टि अग्रसर हुन नसकेको दुखेसो पुस्तकमा पाइन्छ । योग्य विद्यार्थीहरू बाहिरका विश्वविद्यालयहरूमा पढ्न जानु र त्रिभुवन विश्वविद्यालयले आफूलाई विश्वव्यापीरुपमा प्रतिस्पर्धी साबित गर्न नसक्नुका कारणहरू पर्याप्त मात्रामा केलाइएका छन् । विदेशी विश्वविद्यालयका कोर्सहरू यत्रतत्र सहजै पढ्न पाइने व्यवस्था नेपालमा हुँदा त्रिविले विद्यार्थी संख्यामा भोग्नु परेको नियतिका बारेमा पनि उल्लेख छ ।
राजनीतिले विश्वविद्यालय बिगारेका कुराका बारेमा त विस्तृतमा दुईवटा अध्यायमा बताएका छन् । प्राध्यापकहरूको राजनीति र विद्यार्थीहरूको राजनीतिलाई बेग्लाबेग्लै प्रस्तुत गरिएको छ । प्राध्यापकहरूका साझा संगठन नेपाल प्राध्यापक संघ र त्रिवि प्राध्यापक संघदेखि लिएर राजनीतिक दलहरूका समर्थक संगठनहरूका बारेमा खुलेर लेखेका छन् । विद्यार्थी संगठनहरूको पनि त्यस्तै खाले व्याख्या पुस्तकमा भेटिन्छ । वर्गीय हकहितभन्दा पनि दलीय स्वार्थलाई विश्वविद्यालय भित्रका संघ संगठनहरूको प्राथमिकता रहनुले विश्वविद्यालयको गुणस्तरवृद्धिमा असर पारेको भन्दै प्राध्यापक र विद्यार्थीहरूका संघ संगठनहरूले आफ्नो भूमिकामा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख डा.खनियाले गरेका छन् ।
डा.खनियाका दुबै पुस्तकमा समस्याको उठान पनि भएको छ र समाधानका मार्ग पनि बताइएको छ । शिक्षकहरूलाई तालीम नहुनु, विद्यार्थीहरूलाई परम्परागत पाठ्यक्रम मात्रै पढाइनु, विद्यार्थी केन्द्रित पठन पाठन आरम्भ गर्न नसक्नु जस्ता कुराहरूले गुणस्तरमा असर पारिरहेको खनिया लेख्दछन् । कक्षा कोठामा निश्चित संख्यामा विद्यार्थी हुनुपर्नेमा जति पनि राख्ने प्रचलन अझै गएको छैन । निरन्तरको तालाबन्दीले विश्वविद्यालय तहसनहस बनेको छ । थोरै शुल्क बढाएर विश्वविद्यालयमा नयाँ प्रविधि भित्र्याउन खोजियो भने स्ववियुहरूले अवरोध गर्ने कुरा उजागर गरेका छन् ।
विद्यार्थी विदेशिने गरेकोमा डा.खनिया धेरै चिन्तित देखिन्छन् । विदेश गएका विद्यार्थी कसरी बस्छन्, कसरी कमाउँछन्, पढ्नका लागि कति घण्टा काम गर्छन् जस्ता कुराहरूको अध्ययन गरी त्यसका बारेमा यहाँका युवालाई जानकारी दिएमा केही प्रभाव पर्न सक्ने उनको आँकलन छ ।
विशेषतः विश्वविद्यालयहरूमा अनुसन्धान नहुनु र अनुसन्धानमा बजेट नहुनु मूल समस्या हो भन्दै सरकारले आफूलाई चाहिने सल्लाहका लागि विश्वविद्यालयसँग समन्वय गर्ने कुरामा जोड दिइएको छ । राष्ट्रका लागि आवश्यक पर्ने अनुसन्धानहरू विश्वविद्यालय मार्फत गराउन उनी जोड दिन्छन् । सामुदायिक विश्वविद्यालयको स्थापना र स्वायत्त कलेजहरूको व्यवस्थाले पनि त्रिविको भार घटाई गुणस्तर अभिवृद्धिमा सहयोग पुर्याउने तर्क खनियाको छ । भद्रगोल हुँदै गएको विश्वविद्यालयमा पारदर्शिता र उत्तरदायित्वको अभावलाई पनि औँल्याएका छन् ।
पुस्तक लेखनको सुरुवातमा आधुनिक शिक्षा पद्धति, आधुनिक प्रविधि र नयाँ सोचहरूप्रति बढी झुकाव देखिए पनि अन्त्यतिर आइपुग्दा हाम्रा परम्परागत शिक्षा पद्धति, हाम्रा पौराणिक ग्रन्थ र हाम्रा प्राचीन सोचहरूको महत्वतिर पनि डा.खनिया आकर्षित हुन पुगेका छन् । आजको शिक्षामा मानवताको अभाव बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मुक्तिको ज्ञान दिलाउने शिक्षाको महत्व पनि विश्लेषण गर्न पुगेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनको अन्त्यतिर आएर ‘आखिर श्रीकृष्ण रहेछ एक’ भने झैँ पुस्तक लेखनको अन्त्यतिर आइपुग्दा मुक्तिको ज्ञान दिलाउने शिक्षातिर पनि डा.खनियको ध्यान गएको छ । देवतामाथिको विश्वासले हतोत्साही, खिन्न (डिप्रेसन)मा पर्दै गएको समाजलाई उकास्न सक्छ भन्ने विश्वास उनमा छ ।
विद्यार्थी विदेशिने गरेकोमा डा.खनिया धेरै चिन्तित देखिन्छन् । यसको समाधानका लागि उपाय पनि सुझाएका छन् । विदेश गएका विद्यार्थी कसरी बस्छन्, कसरी कमाउँछन्, पढ्नका लागि कति घण्टा काम गर्छन् जस्ता कुराहरूको अध्ययन गरी त्यसका बारेमा यहाँका युवालाई जानकारी दिएमा केही प्रभाव पर्न सक्ने उनको आँकलन छ । विदेश गएर असफलता हात लागेपछि फर्केकाहरूको कथा र त्यहीँ बसिरहेकाहरूले भोगेका कष्टहरूका बारेमा जानकारीमूलक सामग्रीहरू नेपालमा पस्कने हो भने पनि विदेशिने दर घट्न सक्छ कि भन्ने डा.खनियाको अनुमान पुस्तकमा छ ।
यो सानो आलेखमा दुई पुस्तकका सारा ज्ञानलाई संक्षेपीकरण गर्नमात्रै पनि सम्भव छैन । सारांशमा भन्नुपर्दा पुस्तकहरू पठनीय छन् । पठनीयमात्रै होइन, शिक्षाक्षेत्रमा संलग्न हुनेहरूले पढ्नै पर्ने खालका छन् । विश्वविद्यालयको पाठ्यक्रममा राखेर विद्यार्थीलाई पढाउनुपर्ने तहका पुस्तकहरू डा.खनियाबाट आएको छ । डा.खनियालाई एउटै अनुरोध यो छ कि यिनै पुस्तकहरूलाई विस्तार गर्दै नेपालका अन्य विश्वविद्यालयहरूको योगदानलाई समेटेर चाँडै अरू पुस्तकहरू लेखियुन् । नेपाली भाषमा पनि रूपान्तर गरी प्रकाशन गरिए अंग्रेजी भाषामा पहुँच नभएकाहरूलाई सहज हुने थियो । यस्ता पठनीय पुस्तकहरू लेख्ने जाँगर डा.खनियाको बढिरहोस्, हार्दिक शुभकामना !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच