काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको ठूलो क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले दुःख व्यक्त गरेको छ । महासंघका महासचिव रोशन दाहालले आइतबार विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना र तत्काल उपचार व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । साथै बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारणसहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित निर्माण कम्पनी/व्यवसायीलाई यथाशीघ्र राहत उपलब्ध गराउन पनि महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । विपद्को घडीमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्न सम्बन्धित सबै निकायलाई आ-आफ्ना यन्त्र उपकरण उपलब्ध गराई सहयोग गर्नसमेत देशभरका निर्माण व्यवसायीलाई महासंघले अपिल गरेको छ । सरकारको उद्धार तथा राहत अभियानमा सक्रियरूपमा सहभागी हुन पनि महासंघले सम्बद्ध निर्माण व्यवसासीलाई आग्रह गरेको छ ।
त्यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघले पनि वर्षाका कारण सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवास, संघ, संस्था तथा विभिन्न कृषि बजार, कृषि फार्म, कृषि उत्पादनलगायतमा अर्बौं क्षति भएको भन्दै दुःख व्यक्त गरेको छ । प्राकृतिक विपद्मा सबैले आ–आफ्नोतर्फबाट सक्दो सहयोग गर्नसमेत संघले अपिल गरेको छ । बाढी पहिरो र प्राकृतिक विपद्का कारणबाट भएको क्षति संकलन भइरहेको सन्दर्भमा संघ र संघको सञ्जालमा रहेका सदस्य संस्था, सदस्य किसान वा व्यवसायमा के-कति क्षति पुगेको छ, त्यसको विवरण उपलब्ध गराउन पनि संघका अध्यक्ष खेमबहादुर पाठकले आग्रह गर्नुभएको छ । त्यस्तै राष्ट्रिय कृषक समूह महासंघले पीडितको उद्धार तथा राहतमा जोड दिँदै कृषि क्षेत्रमा बाढी पहिरोबाट भएको क्षतिको किसानलाई क्षतिपूर्तिको माग गरेको छ ।
त्यस्तै अखिल नेपाल किसान महासंघले घाइतेको उपचार गर्न, बेपत्ताको खोजी गर्न, विस्थापित परिवारको पुनस्र्थापनामा जुट्न महासंघमा आबद्ध सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यलाई आहृवान गरेको छ । यस किसिमका विपत्तिबाट किसानले अझ बढी दुःख, क्षति र सास्ती झेल्नुपरिरहेको उल्लेख गर्दै महासंघ अध्यक्ष डा. प्रेम दंगालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस्ता प्राकृतिक विपत्तिबाट कृषि उत्पादन एवं उत्पादकत्वमा ह्रास आउने हुँदा राष्ट्रिय खाद्य सुरक्षा प्रणाली नै कमजोर बन्न पुग्छ । यसको सबैभन्दा बढी मार हामी किसानले नै बेहोर्नुपरिरहेको छ । यो अविरल वर्षाका कारण किसानले ठूलो परिमाणमा आफ्नो उत्पादन खाद्यान्न, फलफूल, तरकारी र पशु वस्तुसमेतमा क्षति बेहोर्नुपरेको अवस्था छ । खासगरी पाक्न लागेको धानमा ठूलो क्षति हुन पुगेको छ भने डुबान र कटानले बालीसमेत खेतबारी खण्डहरमा परिणत भएको अवस्था छ ।’ महासंघले वर्षाले कृषि क्षेत्रमा के-कति क्षति पुर्याएको छ भन्ने कुरा अबिलम्ब तथ्यांक संकलन गरी क्षति पुगेका पीडित किसानलाई उचित राहत र क्षतिपूर्ति प्याकेज ल्याउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
कृषि क्षतिको तथ्यांक संकलन गर्न निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षति यकिन गरी आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । क्षति सम्बन्धमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकास्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिनुभएको कृषि मन्त्रीको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच