जनताका सपना र विकासमा ढिलासुस्ती

हिमालय टाइम्स
Read Time = 6 mins

जनता आफ्ना लागि राजनीतिज्ञहरूबाट केही काम होला भन्ने सोचाइमा हुन्छन् । उनीहरूका सपना भनेको नै आफ्नो ठाउँको विकास निर्माण र जीवनयापनमा सहजता हो । त्यसैका लागि उनीहरूले निर्वाचनका माध्यमबाट आफ्ना नेता छनौट गरेका हुन्छन् । अर्कोले भन्दा यसले चाहिँ राम्रो काम गर्नसक्छ कि भनेर उनीहरूले कुनै निश्चित नेतामाथि आफ्नो सपना सिर्जना गरेका हुन्छन् । आफूले विश्वास गरेको नेताबाट अफ्नो गाउँ-ठाउँको कायापलट हुने आशा राखेर बसेका हुन्छन्, कुनै ठाउँको विकास योजना सम्पन्न हुन कति समय लाग्नेरहेछ भन्ने उदाहरण बनेको छ, कालिकोटको नरहरि गाउँपालिकास्थित सुनथरालीको विमानस्थल । त्यहाँका मानिसहरूको चिलगाडी चढ्ने सपना पूरा हुन ३८ वर्ष लागेको छ ।

पञ्चायतकालमै (२०४१ साल) सुरु भएको यो विमानस्थल निर्माणको कार्य हाल बल्लतल्ल पूरा भएको छ । जुन बेला यस्ता विकट पहाडी गाउँ-ठाउँमा यात्रा गर्न हवाईजहाज आवश्यक मानिन्थ्यो, त्यसबेला त्यस्ता ठाउँहरूमा विमानस्थन बन्न सकेका थिएनन् । ती विकट स्थानहरूको आवश्यकतालाई ध्यान दिएर सुरु गरिएको विमानस्थल निर्माण कार्य सम्पन्न हुँदासम्ममा त्यसको आवश्यकता कम भइसकेको आभाष भएको छ । मान्माको विमानस्थल निर्माणको काम सुरु भइसकेको पाँच वर्षपछि आएको बहुदलीय शासन प्रणाली ३३ वर्ष पुरानो भइसकेको छ । सो विमानस्थल निर्माण कार्यको थालनी हुँदा जन्मिएको बालक हाल ३८ वर्षे प्रौढ भइसकेको छ । यो नेपालको विकासको गतिको एउटा नमुनाका रूपमा पेश गर्न सकिन्छ ।

यस्ता नमुनाहरू अनगिन्ति देख्न सकिन्छ । आजकाल त सामाजिक सञ्जालले सूचना संप्रेषणको काम गर्ने भएकाले अनेकौं दृष्टान्तहरू नयनमा देखिँदै आएका छन् । कतै बाटो नभएका ठाउँमा पुल बनाएको त कतै पुलविनै खोलाको दायाँबायाँ बाटो बनाएको देख्न सकिन्छ । आफ्नो खेतबारीका छेउछाउबाट बाटो खनेर नेताहरूले जमिनको मूल्यवृद्धि गराएकोदेखि क्षयीकरण हुने अवस्थामा चाहिँ अरूहरूको जमिनबाट बाटो लैजाने काम पनि हुनेगरेको छ । यस्ता प्रतिनिधि कार्यहरू देशका सबैतिर भएका छन् र शक्तिमा बस्नेहरूले आफ्नो कुरा बिक्ने अवस्थामा यस्ता कार्य गरेका उदाहरण छन् । यसमा कोही अगाडि त कोही अलिकति पछाडि हुनु स्वाभाविक हो तर मौका पर्दा कोही पछि परेका देखिँदैनन् ।

उक्त हवाई मैदान बनाउँदा मओवादी सशस्त्र विद्रोहको बेलामा त्यहाँ काम गरिरहेका मजदुरहरू माओवादीको आशंकामा राज्यका तर्फबाट मारिएका थिए । राज्यपक्षबाट भएको त्यो एउटा ठूलो कमजोरी थियो । धादिङदेखि काम गर्न त्यहाँ पुगेका मजदुरहरू मारिएका थिए । यसैलाई सामूहिक चिहानको संज्ञा दिइएको हो । चिहानमाथि चिलगाडी त ३८ वर्षपछि जाने भयो तर अब त्यसको नियमिततामा भने विश्वस्त बन्न सकेको छैन । वास्तवमा हो पनि हालका दिनमा देशका विभिन्न ठाउँका हवाई मैदानहरू प्रयोगविहीन भइरहेका छन् । तत्कालीन अवस्थामा पहाडी जिल्लाहरूमा स्थलयातायातको पहुच थिएन, केही सम्पन्न व्यक्तिहरू हवाईजहाज चढेर त्यस्ता ठाउँहरूमा पुग्ने गर्थे । अहिले पहाडी जिल्लाहरूमा प्रायः स्थलयातायात पुगेको छ । एक डेढ दिनको यात्रा गर्दा राजधानी तथा अन्य ठूला शहरहरूबाट आफ्नो गाउँ-ठाउँमा पुग्न सकिन्छ ।

भाडा भने हवाईजहाजबाट यात्रा गर्दाभन्दा धेरै कम पैसा स्थलयातायातमा लाग्ने हुँदा हवाईजहाज प्रयोगकर्ता घटेका कारण पहाडी क्षेत्रका धेरैजसो विमानस्थल बन्द छन् । कुनै समय निकै चल्तीका विमानस्थलसमेत हाल बन्द छन् । नवनिर्मित उक्त विमानस्थल पनि नियमित सञ्चालन नहुने हो कि भन्ने आशंका त्यहाँका बासिन्दामा हुनु स्वाभाविकै हो । करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएका विमानस्थलहरूको प्रयोग सकेसम्म बढी हुनु आवश्यक छ । स्थानीयहरूले आफ्नो खेतबारी दिएर बनाउन दिएका विमानस्थहरूमा तिनले सम्हालेको सपना पूरा हुनुपर्छ र तिनले समेत ती योजनाहरूको प्रतिफल लिन पाउनुपर्छ । यस्ता ठाउँहरू सञ्चालनमा आएकाखण्डमा वरिपरि बसेर बन्दव्यापार गर्नेदेखि आफ्ना स्थानीय उत्पादन बाहिर निकासी गर्नसमेत सक्षम हुनेछन् । त्यसैले नियमित सेवा आवश्यक देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?