११ व्राण्डका पानीमा फिकल कोलिफर्म भएको पुष्टि, पिउन अयोग्य पानी विक्री वितरणमा रोक

काठमाडौं । सर्वसाधारणले पिउनकाे लागि प्रयाेग गर्ने ११ व्राण्डका जारकाे पानीमा फिकल कोलिफर्म पाइएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गतको कृषि तथा पशुपन्छी विभागले विभिन्न ब्रान्डका पानी परीक्षण गर्दा जारकाे पानीमा ढल र दिसापिसाबमा पाइने कीटाणु भेटिएको हो ।

विभागले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा पानीको गुणस्तर जाँचेको थियो । परीक्षणका क्रममा पानीमा फिकल कोलिफर्म र एमोनिया देखिएको हो ।

भदौ १२ गतेदेखि २८ गतेका बिचका विभिन्न दिनमा विभिन्न स्थानहरुबाट २० वटा पानीको नमूना लिइएको थियो । यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो । प्रति १ सय मिलिलिटर नमूना परीक्षणमा कोलोनी फर्मिङ् युनिट (सिएफयु) मापदण्ड विपरीत देखिएको हो । कोलोनी फर्मिङ् युनिट (सिएफयु) सुक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो ।

खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । फिकल कोलिफर्म दिशामा पाइन्छ । दिशामा पाइने सुक्ष्मजीव पानीमा भेटिनुलाई पिउन अयोग्य मानिन्छ ।

पानीमा कैफियत देखिएपछि ती ब्याचका पानी तत्काल बजारबाट फिर्ता लिनसमेत निर्देशन दिइएको महानगरले जनाएको छ । अब बिक्रीवितरण हुने पानीको प्राविधिक परीक्षण प्रतिवेदन सरकारी निकायबाट पेस गरेर मात्र बिक्रीवितरण गर्न पनि भनिएको छ ।

महानगरपालिकाको आधिकारिक अनलाइन पोर्टल मेट्रो न्युजमा उल्लेख भएअनुसार प्रति १ सय मिलिलिटर नमुना परीक्षणमा कोलोनी फर्मिङ युनिट (सीएफयू) मापदण्डविपरीत देखिएको छ। सीएफयू सूक्ष्म जीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो ।

सर्वसाधारणले उपभोग गर्ने पानी दुषित भेटिएपछि महानगरले ११ कम्पनीको पानी बिक्रीवितरणमा रोक लगाई जनही दुई लाख जरिवाना गरेको छ ।

कारबाहीमा परेका पानी उद्योग

-फ्रेस ड्रप (पञ्चरत्न ग्रुप प्रालि)

-एक्वा कोल्भाटेश्वर (उत्तरवाहिनी फुड एन्ड बेभरेज प्रालि)

-एक्वा डिबी (एक्वा सुन्दरी)

-एकुवा (स्नो क्युब ड्रिंकिङ वाटर प्रालि)

-क्युब (स्तूपा इन्डस्ट्रिज प्रालि)

-एक्वा माइल्ड (मुनलाइट स्प्रिङ वाटर इन्डस्ट्रिज)

-एक्वा कपन (एमके मिनरल वाटर प्रालि)

-एक्वा गौरीशंकर (कोशी मिनरल वाटर उद्योग प्रालि)

-एक्वा पिस (पिस स्प्रिङ वाटर प्रालि)

-एक्वा टोखा (अक्वा एसएनएस बेभरेज प्रालि)

-एक्वा त्रिदेव (जम्बुलिंगा ग्रुप इन्ड्रस्टिज प्रालि)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?