काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँ आज (बिहीबार)बाट सुरु भएको छ । बडादशैँको पहिलो दिन घटस्थापना । आज सबै नेपालीहरूले आ-आफ्नो घरघरमा जमरा राख्ने गर्दछन् । आज सबैले आ-आफ्नो घरको पूजा कोठामा विधिपूर्वक घटस्थापना गर्छन् । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ । यव अंकुर दुर्गा देवीको प्रियवस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
त्यस्तै, काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा पनि धार्मिक विधिपूर्वक आज घटस्थापना गरिँदै छ । आज बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको ज्यो.प. नारायण भण्डारीले जानकारी दिनुभयो । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ ।
१६औँ शताब्दीका राजा महेन्द्र मल्लले निर्माण गरेको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दशैँ घरमा गोर्खाबाट ल्याइएको फूलपातीहरू फूलपातीकै दिन भित्र्याइन्छ । यसरी भित्र्याइँदै आएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिआएको छ ।
जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ । घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धीपछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट बालुवा या माटो ल्याई जमरा राखिन्छ ।
जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ । यसैबीच घटस्थापनाको उपलक्ष्यमा काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रिको पूजा आरम्भ हुन्छ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीको टीकाको दिन पहेँलो जमरासँगै दुर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ । घटस्थापना गरिएको स्थानमा हरेक दिन अधिष्ठात्रि देवी दुर्गाका नौ स्वरूपको पूजा गरिन्छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैँघर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमददेवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुति पाठ गरिन्छ । यस अवसरमा देशभरका शक्तिपीठहरूमा पूजाआजाका लागि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच