काठमाडौं । सहकारी संस्थाहरूको बचत अपचलनमा संसदीय छानविन समितिबाट दोषी ठहर भई कारबाहीका लागि सिफारिश भएकामध्ये केही व्यक्तिहरू फरार छन् भने केही व्यक्तिहरू थुनामा छन् । गोरखा मिडिया नेटवर्कमा सहकारीको बचत ल्याई अपचलन गर्ने मध्येका व्यक्तिहरू फरार र थुनामा रहे पनि बचत अपचलनमै संसदीय समितिले दोषी ठहर गरेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने भने निर्बाध गतिविधि गरिरहेका छन् । समान आरोप र ठहरका लागि गोर्खा मिडियाका तत्कालीन निर्देशक छविलाल जोशी थुनामा छन् । छविका व्यावसायिक साझेदार रवि भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको हैसियतमा राजनीतिक गतिविधिमा क्रियाशील हुनुहुन्छ । संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद् र गृह मन्त्रालयले निर्णय गरेर नेपाल प्रहरीलाई निर्देश गरे पनि लामिछाने पक्राउ पर्न नसक्नुमा राजनीतिक दबाब रहेको आशंका गरिएको छ ।
गत असोज ६ गते लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा नेता कार्यकर्ताहरू मध्यरातसम्म शेषमतीस्थित पार्टी कार्यालयमा जम्मा भएका थिए । उनीहरूले रवि पक्राउ परे ‘नीलो क्रान्ति’ गर्ने चेतावनी पनि दिए । त्यसयता दुई साता बिते पनि रवि पक्राउ पर्नुभएको छैन । बरु रविलाई कारबाहीको माग गर्दै चितवनमा प्रदर्शन गर्ने सहकारी पीडितहरूलाई प्रहरीले धरपकड र पक्राउ गरेको छ । रवि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा चितवनको साहारासहित विभिन्न सहकारीबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ लगानी भएको संसदीय छानविनबाट पुष्टि भएको छ ।
पक्राउमा किन विलम्ब ?
पक्राउ पर्ने हल्ला चलेपछि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले सामाजिक सञ्जालबाटै स्टाटस लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई वार्ताका लागि आग्रह गर्नुभएको थियो । ‘प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौँ, सहकारी पीडितलाई न्याय दिने भए म रुम मिलाउँछु’, रविले लेख्नुभएको थियो । त्यसयता लामिछानेले प्रधानमन्त्री ओलीलाई भेटेको औपचारिक पुष्टि नभए पनि सम्पर्क सूत्रहरूमार्फत सूचना आदनप्रदान भएको स्रोतका दाबी छ । प्रधानमन्त्री ओलीको अनिच्छाकै कारण रवि पक्राउ नपरेको बताइन्छ । ‘जिबी फरार छन् । छवि पक्राउ परिसके । अब बाँकी रवि हो । प्रधानमन्त्रीले चाहँदा नहुने कुरो छ र ?’, गृह प्रशासनका एक उच्च अधिकारीले हिमालय टाइम्ससँग भन्नुभयो । उहाँका अनुसार दुई साताअघि नै पक्राउको तयारी भए पनि प्रधानमन्त्रीले न्युयोर्कबाटै सम्पर्क गरेर तत्काल कदम नचाल्न गरेको आदेशले काम गरेको थियो ।
संसदीय छानविन समितिले कारवाही सिफारिश गरेका कारण रविलाई पक्राउ नगरी थप अनुसन्धान र मुद्दा अभियोजन हुने स्थिति छैन । यद्यपि, प्रधानमन्त्रीले बाढीपहिरो, चाडपर्व लगायतका सन्दर्भ जोडेर केही समय लिन खोजेका कारण रवि पक्राउ नपरेका हुन् । गत संसदीय निर्वाचनयता ओली र लामिछानेबीच दुईपटक सत्ता सहकार्य भएको छ । दुवैपटक रविलाई उपप्रधान एवं गृहमन्त्री बनाउन ओलीले निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । प्रधानमन्त्रीसँग विगतको सम्बन्धकै आधारमा तत्कालै रवि पक्राउ पर्ने सम्भावना नभएको प्रहरीकै उच्च अधिकारीहरू पनि अनौपचारिक संवादमा बताउने गर्दछन् ।
चिढिँदै कांग्रेस
सरकारमा कांग्रेसले गृह मन्त्रालयको नेतृत्व गरिरहेको छ । गृहमन्त्री रमेश लेखेकले बारम्बार संसदीय समितिको प्रतिवेदन कार्यान्वयन हुने पनि बताउँदै आउनुभएको छ । यद्यपि, रवि पक्राउ नपरेको कारण कांग्रेस नेतृत्व सरकारसँग सन्तुष्ट छैन । सहकारी पीडितलाई न्याय दिलाउने सन्दर्भमा रविमाथि मुद्दा अभियोजन हुनुपर्ने ठहर कांग्रेसको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले प्रधानमन्त्री ओलीलाई पटक–पटक सहकारी बचत अपचलन गर्नेमाथि कारबाही थाल्न आग्रह गर्नुभएकै छ । यद्यपि, रवि पक्रन भएको ढिलाइले ओलीसँग कांग्रेसको विश्वास क्षयीकरण भइरहेको छ । यिनै कारणले गर्दा शनिबार चितवनमा रवि विरुद्धको प्रदर्शनमा कांग्रेसको जिल्लास्तरका नेताहरू पनि सहभागी भएका थिए । ‘रविलाई तत्काल पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ भन्ने कांग्रेसको धारणा हो । यसमा भइरहेको विलम्बले हामीलाई सोच्न बाध्य बनाएको छ । यदि प्रधानमन्त्रीले रविलाई संरक्षण दिनुहुन्छ भने कांग्रेसले उहाँलाई संरक्षण दिइरहन सक्दैन’, कांग्रेसका एक प्रभावशाली नेताको भनाइ छ ।
कांग्रेसका कतिपय नेताहरूले रवि दशैँअघि पक्राउ नपरे गठबन्धनमै गडबडी हुनसक्ने संकेतसमेत गरेका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक बैठकहरूमा प्रधानमन्त्रीसँग छलफल भइरहेको बताउने गरे पनि परिणाम निस्केको छैन । केही दिनअघि बसेको कांग्रेस संसदीय दलको बैठकमा पनि रवि कहिले पक्राउ पर्छन् ? भनेर सांसदहरूले गृहमन्त्री लेखकलाई प्रश्न गरेका थिए ।
कांग्रेसका एक नेता दशैँअघि रवि पक्राउ नपरे गठबन्धनमा गडबडी हुने बताउनुहुन्छ । ‘दशैँसम्म हेर्ने हो । सहकारी ठगीमा दोषी प्रमाणित भएकाहरू पक्राउ नपरेमा कांग्रेसले गृह मन्त्रालयको नेतृत्व लिएर सरकारमा बसिरहनु पर्छ भन्ने छैन । रवि जोगाउने कि सरकार ? प्रधानमन्त्रीले विचार गर्नुहोला’, कांग्रेस नेताको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच