
औंसीलाई अँध्यारोको बिम्बको रूपमा हेरिन्छ । बाहिरी आँखाले मात्रै हेर्ने हो भने औंसीमा अँध्यारो नै देखिन्छ । यस अर्थमा औंसीलाई अँध्यारोको बिम्ब मान्नु अस्वाभाविक लाग्दैन तर भित्री आँखा अर्थात् मनको आँखाले हेर्ने हो भने औंसीलाई उज्यालोको बिम्बको रूपमा पनि देख्न सकिन्छ । यही मान्यता स्थापित गर्ने हेतु मनको चेतनाद्वारा औंसीलाई पनि उज्यालो पार्ने प्रयास भएको छ उपन्यासकार अनिता कोइरालाद्वारा लिखित उपन्यास ‘उज्यालो औँसी’ मा । यो उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको छ ।
समाख्याता स्वयंको वास्तविक जीवनमा आधारित यो उपन्यासको कथानक सत्य जस्तो पनि लाग्छ र स्वैरकल्पना जस्तो पनि । यही सत्य र स्वैरकल्पनाको पृष्ठभूमिमा बुनिएको रोचक कथानकले मुख्य पात्रको सङ्घर्षपूर्ण जीवन, उसको जीवनदर्शन, जीवनको भोगाइ र अध्यात्म, संस्कार तथा सत्सङ्गप्रतिको उसको बुझाइलाई प्रस्तुत गरेको छ । जीवन भोगाइका क्रममा मुख्य पात्रले बेहोरेको राजनैतिक द्वेषको परिणाम, असहिष्णु परिस्थिति र द्वन्द्वका कारण सर्वसाधारण मान्छेले भोग्नुपरेको पीडा र भयभीत भएर बाँच्नुपरेको परिस्थितिको सटिक आख्यानीकरण गरिएको छ ।
तत्कालीन माओवादीलाई उपन्यासमा राँकेभूतको संज्ञा दिइएको छ । राँकेभूतहरूको धमाका धेरैचोटि चल्यो । अनि कमला खोलामा पानीको साटो रगत बग्यो । त्यस्तो धमाका र ज्यादती नेपाली जनताले जनयुद्धकालमा धेरै भोगे । राँकेभूतहरूको यस्तो धमाका र ज्यादतीसँग साक्षात्कार गर्दै हुर्केकी पात्र अनुको सामाजिकीकरणमा आक्रोश र विद्रोहले प्रश्रय पाएको छ ।
उपन्यासको सारलाई उपन्यासको रचनागर्भले नै प्रष्ट्याएको छ । नजन्मिँदै गर्भेटुहुरीको विशेषण पाएकी मुख्य पात्र अनुको जीवनको एउटा महत्वपूर्ण पाटो हो यो उपन्यास । आमाको गर्भमा रहेको भ्रुणले भोगेको पीडा, उसको रोदन, क्रन्दन र विक्षिप्तताले पाठकलाई द्रविभूत बनाउँछ । अझ भ्रुण अवस्थादेखि नै उसले भोग्नुपरेको युद्धको त्रासदी, बर्बरता, भय र त्रासले पाठकको मनमा पनि जुगुप्साबोध गराउँछ ।
एउटा पात्र छ रघु । अरू धेरै बेनामी पात्र छन्, जो रघुलाई मार्न लालायित छन्, उद्यत छन् । आफू पछाडि पर्ने डरले अरूको ज्यान लिनुपर्ने राजनीतिको छुद्र र नीच प्रवृत्ति अझै कायम छ । हुन त यो इतिहासदेखि चलिआएको परम्परा नै हो । पद र सत्ताका लागि आफन्तकै हत्या गर्नु नेपालको मात्रै होइन, विश्व राजनीतिकै परम्परा हो । यही परम्परालाई निर्ममतापूर्वक निर्वाह गरिँदैछ यो एक्काइसौँ शताब्दीमा पनि । राजनीतिको एउटा घृणित पाटो ।
रघुको घर-आँगनमा ढाक्रेदेखि हिङ बेच्नेसम्म, फेरी लाउनेदेखि धुनी जगाउनेसम्मले सन्तोषको सास फेर्थे । वनपालेदेखि रेन्जरसम्मले त्यही घरको छहारीमा हाँस्थे । डोकोमा चुरा बेच्न हिँड्ने चुरौटिनीहरू सातादिनसम्म खोला उर्लिंदा त्यही घरको अन्न खाएर शान्तिले बस्थे । तर, उनैको घरको पिँढीमा बसेर त्यही घरको ढिकुटी रित्याउँदै स्वामस्वाम लाद्रो फुट्ने गरी घिच्नेहरूधोकेबाज भएर निस्के र उनीहरूले नै रघुलाई सामन्ती भने । यस्तै समाजसेवी मान्छेलाई सामन्ती भन्छन् भने संसारमा रघुजस्ता सामन्तीहरूको निकै खाँचो छ अझै पनि । समाजसेवी बन्दा सामन्ती भन्छन् भने ‘...म पनि ठूलो भएपछि बुबा जस्तै सामन्ती हुन्छु र दुःखीहरूलाई माया गर्छु’ (पृष्ठ ७५) भन्ने त्यो गर्भेटुहुरी अनुको अठोटले समाज परिवर्तनको बिगुल फुकेको छ । घरघरमा रघुजस्तै सामन्ती जन्मिनुपर्छ । यस्तै आशय बोकेको छ उपन्यासले ।
मानवतावादी विचारको उदार मान्छे हो रघु । तर ‘समाज र राष्ट्रलाई उन्नत बनाउँला’ भन्ने नारा भजाएर राजनीति गर्ने अभीष्ट बोकेका जनद्रोही र राष्ट्रद्रोहीहरूले रघुलाई मार्ने योजना बनाउँछन् र तिनीहरू आफ्नो योजनामा सफल पनि हुन्छन् । यो योजना थाहा पाएर पनि आफ्नो बाबुलाई बचाउन असमर्थ र आँखैअघि बाबुको हत्या हुँदा डर, त्रास र भयले विक्षिप्त बनेको एउटा भ्रुणको रोदन र क्रन्दनको आवाज पोखिएको छ यो उपन्यासमा । अनि त्यही भ्रुण यो संसारमा आइसकेपछि उसले भोगेको उहापोहयुक्त जीवन, उसले गरेको कठिन संघर्ष र उसले प्राप्त गरेको केही उपलब्धि, मान र सम्मानको कथा पनि छ । उसको जीवनको गाथा छ ।
तत्कालीन माओवादीलाई उपन्यासमा राँकेभूतको संज्ञा दिइएको छ । राँकेभूतहरूको धमाका धेरैचोटि चल्यो । अनि कमला खोलामा पानीको साटो रगत बग्यो । त्यस्तो धमाका र ज्यादती नेपाली जनताले जनयुद्धकालमा धेरै भोगे । राँकेभूतहरूको यस्तो धमाका र ज्यादतीसँग साक्षात्कार गर्दै हुर्केकी पात्र अनुको सामाजिकीकरणमा आक्रोश र विद्रोहले प्रश्रय पाएको छ ।
बुबाकै मार्गमा हिँड्न चाहेकी अनुले हजारौँ नकारात्मक सोचलाई त्याग्दै एउटै सकारात्मक सोचलाई अँगाल्दै अघि बढ्दै जाँदा उच्च शिक्षा हासिल गर्न सफल भएकी छे । गुरुले सिकाएको सकारात्मक सोच, बुबाको समाजसेवा र आमाको शान्तिको सन्देशलाई फेरि गाउँसम्म पु¥याउने र गाउँमा उज्यालो छर्ने रहर बोकेकी अनुले जीवनको यात्रा भिमानदेखि जनकपुर र काठमाडौं हुँदै पुनः भिमानसम्मै जारी राखेकी छे । उसको यात्रामा कालो हेलमेट लाउने युवक जोडिएको छ । उसले मनमनै मन पराएको सुमिरन पनि जोडिएको छ । महात्मा, अध्यात्म र सत्सङ्ग पनि जोडिएको छ । समयसमयमा ध्यानस्थ पनि भएकी छे । अन्तमा अध्यात्मको पछि लागेर घरबार त्यागेर हिँडेका हजुरबुबासँग उसको भेट भएको छ । उनै हजुरबुबाको आफूलाई चिन्ने कोसिस गर्नुपर्छ, आजको मान्छे अरूलाई जान्ने कोसिसमा आफूलाई चिन्न बिर्सिएको छ, त्यसैले भौतारिएको छ, अशान्त छ । सबैभन्दा ठूलो ज्ञान आफूलाई चिन्ने हो । जीवनको परम लक्ष्य आफूलाई आफैँले प्राप्त गर्नु हो भन्ने ज्ञानको वचनलाई आत्मसात गर्न पुगेकी छे । अन्तमा आफ्नै गाउँ भिमान पुगेर चेलीबेटीहरूलाई सक्षम पार्ने काममा अहोरात्र खटेकी छे । उपन्यासको सुखान्त निकै आनन्ददायी छ ।
यो उपन्यास सुखको अभावमा दुःख, शान्तिको अभावमा अशान्ति र प्रकाशको अभावमा अँध्यारोको पीडा भोगेकी एक दुःखी तर हिम्मतिली पात्रको कथा, व्यथा र गाथा पनि हो । गर्भैबाट बाबुको अभाव भोग्नुपर्दा त्यो पात्रले त्यो दुःख, अशान्ति र अँध्यारो भोग्नुपरेको छ ।
यो २१औं शताब्दीको समाजले हत्या र हिंसाको मार्ग होइन शान्ति र सिर्जनाको मार्ग खोजेको छ भन्ने सन्देश दिने अभीष्ट यो उपन्यासको रहेको देखिन्छ । अँध्यारो र उज्यालो जीवनका दुई पाटा हुन् । यद्यपि अँध्यारोबाट उज्यालोतिरको यात्रा मान्छेको चाहना हो । अँध्यारोबाट उज्यालोतिरको यात्राका लागि शिक्षा, संस्कार, अध्यात्म र सत्सङ्गको आवश्यकता छ भन्ने कुरा यो उपन्यासको पठनपछि बोध हुन्छ । समग्रमा भन्नुपर्दा यो उपन्यासले शिक्षा, संस्कार, सत्सङ्ग र नारीवादी चेतना र विचारलाई प्रश्रय दिन खोजेको पाइन्छ ।
सुन्दर भविष्यको सपना देखाएर वर्तमान खरानी बनाउन खोज्ने राँकेभूत अर्थात् मुर्कट्टा अर्थात् कथित माओवादीको ज्यादतीप्रति चरम असन्तुष्टि र आक्रोश यो उपन्यासमा व्यक्त भएको छ । सामन्तीको हौवा दिएर तिनै सामन्तलाई काटेर अगाडि आएका व्यक्ति नै कालान्तरमा डरलाग्दो भेषमा नवसामन्त भएर बसेकोप्रति यो उपन्यासले कठोर प्रहार गरेको छ । उपन्यासको प्रारम्भदेखि नै संवेदना पक्ष निकै घनिभूत भएर आएको छ । भ्रुणको पीडा, क्रन्दन र रोदनले पाठकलाई पनि द्रविभूत बनाउँछ । गजबको स्वैरकल्पनाको प्रयोगले उपन्यासलाई रोचक बनाएको छ । विशेषतः भ्रुण र मृत आत्माबीचको वार्तालापले पाठकलाई चकित तुल्याउनेछ ।
नारी भएर जन्मिँदा घरपरिवार र समाजबाट पाएको र भोगेको हेला, घृणा, लाञ्छना, अपमान र अस्वीकृतिबाट प्रताडित एउटी नारीले नारीको अस्तित्व र महत्व स्थापित गर्नका खातिर अनेक सङ्घर्ष गरेकी छे । नारीको पक्षपोषणमा आफूलाई समर्पित गरेकी छे । त्यो सङ्घर्ष र समर्पणले एउटा निश्चित मार्गनिर्देश र केही हदसम्म सफलता पनि हासिल गरेको छ । यो उपन्यास सुखको अभावमा दुःख, शान्तिको अभावमा अशान्ति र प्रकाशको अभावमा अँध्यारोको पीडा भोगेकी एक दुःखी तर हिम्मतिली पात्रको कथा, व्यथा र गाथा पनि हो । गर्भैबाट बाबुको अभाव भोग्नुपर्दा त्यो पात्रले त्यो दुःख, अशान्ति र अँध्यारो भोग्नुपरेको छ ।
तर, गुरुबाट पाएको ज्ञानरूपी एक झिल्काले त्यो अँध्यारो हटाउने शक्ति प्राप्त गरेकी छे । त्यसैले उसको औंसीजस्तो अँध्यारो जीवनमा उज्यालो छाएको छ । औंसी पनि उज्यालो भएको छ । उपन्यासकारले रचनागर्भमा भने झैँ समाज, सम्बन्ध, राजनीति, अध्यात्म, सत्सङ्ग, बालमनोविज्ञान, नारीचेतना, मानवीय संवेदना आदिको सेरोफेरोमा केन्द्रित भएर यो उपन्यास लेखिएको छ । लेखनशैली उत्कृष्ट छ । विशेषगरी कल्पनाशीलता बेजोड छ । स्वैरकल्पनाले उपन्यासको कथानकलाई थप रोचक र प्रभावशाली बनाएको छ र ‘क्लिसे’ कथाभन्दा थोरै भिन्न बनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच