दशैँ अवधिमा सुदूरपश्चिममा सडक दुर्घटनाबाट १३ जनाले गुमाए ज्यान, ४६ घाइते

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । सुदूरपश्चिममा सडक यात्रा गर्ने १३ जनाका लागि दशैँ दशा बनेको छ । घटस्थापनाको दिनदेखि असोज ३० गते पूर्णिमा सम्मको अवधीमा भएका सडक दुर्घटनामा १३ जनाले ज्यान गुमाएका हुन । सो अवधीमा २१ वटा सडक दुर्घटना भएकोमा ४६ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ । मृत्यु हुनेमा ९ पुरुष, ३ महिला र एक शिशु छन् ।

त्यस्तै घाइते हुनेमा २५ जना पुरुष, ३ महिला र ३ बालबालिकाको अवस्था गम्भीर रहेको छ । बाँकी १५ जनाको अवस्था मध्यम तथा सामान्य रहेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका सूचना अधिकारी ट्राफिक प्रहरी निरीक्षक सुरजबहादुर खड्काले दसैँ अवधिमा प्रदेशका ४ जिल्लामा सवारी दुर्घटना भएको बताउनुभयो । दसैँ अवधिमा सबैभन्दा धेरै सवारी दुर्घटना कैलालीमा भएका छन् । कैलालीमा १७ वटा सवारी दुर्घटना भएको कार्यालयका सूचना अधिकारी खड्काले बताउनुभयो ।

उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने २६ जना घाइते भएका छन् । यस्तै डडेल्धुरामा भएका २ वटा दुर्घटनामा पाँच जनाले ज्यान गुमाउनुका साथै १४ जना घाइते भएका छन् । जसमा मंगलबार राती भएको बस सवारी दुर्घटनामा मात्रै ५ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका छन् ।

दशैँ अवधिमा प्रदेशमा भएको यो नै सबैभन्दा ठुलो दुर्घटना पनि हो । त्यस्तै दशैँ अवधिमा भएको सवारी दुर्घटनामा कञ्चनपुर र बझाङमा एक-एक जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । सो अवधिमा कञ्चनपुरमा ६ जना घाइते भएका छन् । प्रदेशका अन्य जिल्लामा भने यो अवधिमा दुर्घटना नभएको प्रहरीले जनाएको छ ।

प्रदेशमा दसैँ अवधिमा ७ सय २ मोटरसाइकलसहित एक हजार ८५३ सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उक्त सवारी साधन कारबाहीबाट १३ लाख ५८ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको छ । गत वर्ष २ हजार ३३६ सवारी साधन कारबाहीमा पर्दा ट्राफिक प्रहरीले १५ लाख ४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

दसैँमा अन्य समयको तुलनामा बढी भिडभाड हुने भएकाले यो समयमा विशेष सडक सुरक्षा व्यवस्था गरिँदै आएको छ । सडकमा चेकजाँचमा कडाइका साथै सडक पनि मर्मत गरिने गरेका छन् । तर, पनि दसैँको समयमा हुने सवारी दुर्घटनामा कमी भने आउने सकेको छैन । जसले गर्दा दसैँका लागि सडकको यात्रा गर्ने केही यात्रुका लागि दसैँ दशा नै बनेर आउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?