पाल्पा । पाल्पाका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्न साइकल यात्रा गरिने भएको छ ।
पाल्पा साइक्लिङ संघमा आवद्ध युवाहरुले जिल्लामा भएका ऐतिहासिक पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने उद्देश्यले साइकल यात्रा गर्न लागेका हुन् ।
उनीहरुले साइकल यात्रामार्फत बाहिरबाट आउनेहरुलाई जिल्लाका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउन दुई दिने ‘हेरिटेज राइड–२०८१’ आयोजना गर्न लागेका छन् । ‘स्वास्थ्य र पर्यटनको लागि साइकल चलाउने’ भन्ने मूल नाराका साथ यही कार्तिक २३ र २४ गते साइकल यात्रा गर्न लागिएको संघले जनाएको छ ।
विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको विशेष उपस्थितिमा साइकल यात्रा हुने छ । जसमा जिल्लाका ऐतिहासिक धार्मिक, पर्यटकीय स्थलहरु पाल्पा दरबार संग्रहालय, भैरवस्थान मन्दिर, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी,रानीमहल, देवदत्तपार्क, लिस्ने भिर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिने छ ।
संघले तानसेनमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको छ । संघका अध्यक्ष रुपेश महर्जनले स्वास्थ्य र पर्यटकीय क्षेत्रलाई जोडेर साइकल यात्रा गर्न लागिएको बताउनुभयो । उहाँले यो कार्यक्रम पाल्पा साइक्लिङ संघको मात्र नभएर आम पाल्पालीहरुको हितमा हुन लागेकाले प्रचार–प्रसारमा सहयोग गरिदिन जिल्लाका पत्रकारहरुलाई आग्रह गर्नुभयो । यात्रामा देशभरका १ सय ५० बढी साइकल यात्री सहभागी हुने संघका उपाध्यक्ष अमन शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘कार्यक्रममा सहभागी हुन हामीले अनलाईमार्फत दर्ता गर्न आह्वान गर्छौं, त्यसमा १ सय ५० जनालाई हामीले सहभागी गराउने लक्ष्य लिएका छौं, उक्त संख्या भन्दा पनि बढी हुन सक्नुहुन्छ ।’
अनलाईन दर्ता व्यक्तिगत र सामूहिक दुवै तरिकाबाट गर्न सकिने संघका सदस्य शान्तम थैवले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सहभागी हुन दर्ता शुल्क प्रतिव्यक्ति २ हजार ५ सय लाग्ने छ । उनीहरुलाई बस्ने खाने व्यवस्थाका लागि भने विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी आयोजकले व्यवस्था गर्ने उहाँले बताउनुभयो । प्रचार–प्रसारको अभावमा रहेका पर्यटकीय स्थलहरुको प्रत्यक्ष अवलोकन गराई तिनीहरुको प्रचार गर्ने उद्देश्यले तानसेनका युवाहरुको सक्रियतामा हुन लागेको कार्यक्रमलाई सबै पक्षबाट सहयोग हुनुपर्ने संघका सदस्य सुरज शाक्यले बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिका –६ का वडा अध्यक्ष सागरमान महर्जनले संघले आयोजना गर्न लागेको कार्यक्रमले स्वास्थ्यलाई मात्र नभई पर्यटकीय क्षेत्रको विकासमा महत्वपूूर्ण टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘साइकल यात्राले साहासिक खेलको विकास मात्र गर्दैन यसले यहाँको पर्यकीय स्थलहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन समेत ठूलो मद्दत पुग्दछ भन्ने मैले विश्वास लिएको छु ।’ पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुक्ति न्यौपानेले संघले आयोजना गर्न लागेको हेरिटेज राइडलाई सफल पार्न पाल्पाली पत्रकारहरुले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रम सम्पन्न गर्नका लागि ८ लाख ६० हजार खर्च अनुमान गरिएको छ । साइकल यात्रामा सहभागी हुनेहरुलाई टुडीखेलबाट धिमे बाजासहित पाल्पा दरबार संग्राहालय परिसरमा पु¥याइने संघका सदस्य बेशान्तर शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रा दरबार परिसरबाट सुरु भई विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पुगी त्यहाँको बारेमा उनीहरुलाई जानकारी गराईने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच