
एमालेको कार्यालय भवनका लागि काठमाडौं उपत्यकाको महँगो जमिन र त्यो जमिनमा कार्यालय भवनसमेत बनाउने शर्तमा भाटभटेनीका मालिक मीनबहादुर गुरुङलाई फूलमालाले सम्मानपछि प्रधानमन्त्रीसमेतको सक्रियता, संलग्नतामा भएको शिलान्यास अहिले सर्वाधिक नकारात्मक चर्चा र आलोचनाको विषय भएको छ । देशको प्रधानमन्त्रीले अभियुक्तलाई सम्मान गर्ने विषय आपत्तिजनक हो ।प्रधानमन्त्रीको हैसियतले करछलीमा दोषी ठहर भएका र ललितानिवास जग्गा काण्डमा अदालतमा मुद्दा खेपिरहेका अभियुक्त मीनबहादुर गुरुङलाई एमालेको कार्यालय भवन शिलान्यासमा फूलमालाले सम्मानित गर्दा न्यायालयमा र सरकारका छानविन निकायहरूमा के सन्देश जान्छ ?
मीनबहादुरको व्यापारको अनुगमन, नियन्त्रण, गुणस्तर जाँच गर्ने सरकारी निकायहरूका गतिविधि कति कमजोर र निस्तेज बने यसबारे प्रधानमन्त्रीजीलाई हेक्का छ ? यी निकायहरूको तेजोबध गर्ने क्रियाकलाप गर्नेहरूबाट सुशासनको आशा निरर्थक भएन ? यसबारे प्रधानमन्त्रीले सोच्नु र विवेकपूर्ण निर्णय गर्नुपर्ने कि नपर्ने ? देशको कार्यकारी प्रधानमन्त्रीका क्रियाकलाप नै गैरजिम्मेवार भए भने शासकीय संयन्त्र कति गैरजिम्मेवार बन्छ यो हेक्का पु¥याउने काम कसको ? प्रधानमन्त्रीजीको बोली, व्यवहार, उठबस, जीवनशैली, कार्यशैली, खानपिन, रहनसहन र उपभोग्य पदार्थहरूको प्रभाव मूल्यंकन गर्ने परिपाटी भएको भए यसको नतिजा स्पष्ट सार्वजनिक हुन्थ्यो ।
वास्तवमा मीनबहादुरले दानको आवरणमा शुद्ध लगानी गरेका हुन् भन्ने विषयमा तर्क र विचार प्रकट गर्नेहरू के गलत हुन् ? किमार्थ होइनन् । के उनले यस्तै आर्थिक सहयोग अन्य दलहरू खासगरी साना दलहरूको पार्टी कार्यालय बनाउन गर्छन् ? किमार्थ गर्दैनन् । किनकि यो दान प्रत्यक्षतः सत्ता स्वार्थसँग अन्तरसम्बन्धित विषय हो । सत्तारुढ दल र एमाले जस्तो प्रायः सधैँ सत्तासीन हुने सम्भावना भएको पार्टी नै उनले किन रोजे ? यसको अन्तरवस्तुमा प्रवेश गर्दा यो दानको आवरणमा दिएको ऋश्वत हो र लगानी हो भन्ने कुरा पुष्टि हुन्छ । प्रधानमन्त्रीबाट मीनबहादुर गुरुङ सम्मानित हुनुभनेको सरकारका निकायसँग आफ्नो स्वार्थ पूरा गर्ने मीनबहादुरको शक्ति र पहुँच वृद्धि हुने विषयमा किन प्रधानमन्त्रीजीले नजरअन्दाज गर्नुभयो ?
मीनबहादुर गुरुङ करछलीमा दोषी हुन् भने ललितानिवास जग्गा काण्डका अभियुक्त पनि हुन् । बाढीपीडितलाई दान दिन छाडेर उनले प्रधानमन्त्रीजीको पार्टीलाई जग्गा र भवन दान पुण्य कमाउन दिएको पक्कै होइन । यो थप सम्पत्ति आर्जनको हेतुले दिएको दान हो ।
यो आश्चर्य र आशंका मिश्रति विषयले अहिले चर्चा, चासो र चिन्ता प्रकट हुने विषय स्वाभाविकै हो । यो दानले पार्ने दूरगामी नकारात्मक प्रभावको समीक्षा अहिलेको सन्दर्भमा महत्वपूर्ण र पेचिलो छलफलको विषय पनि हो । सरकारको प्रधानमन्त्रीले र एमाले पार्टीले मीनबहादुरबाट अर्बौंको सहयोग स्वीकार गर्यो । अब मीनबहादुरलाई भविष्यमा प्रधानमन्त्री ओली र प्रधानमन्त्रीको पार्टी एमालेले सहयोग गर्ने कुरा स्वाभाविकै हुन्छ । यस निर्विवाद विषयमा प्रधानमन्त्री र एमालेको तर्क निरर्थक हुन्छ । यस प्रकरणमा मितले हलो सित्तैमा दिनुभयो र मैले मितलाई धान सित्तैमा दिएँ भन्ने सिद्धान्त क्रियाशील हुन्छ ।
यस सहयोगमा लेनदेनको विषय छैन् भन्ने विज्ञप्ति भ्रमात्मक र मित्था हो । मीनबहादुरले गरेको आर्थिक सहयोगले प्रधानमन्त्री र एमाले पार्टी पंक्ति त्यस सहयोगको बदलामा जुनसुकै बेला र जस्तोसुकै परिस्थितिमा पनि सहयोग गर्न बाध्य गर्ने सूत्र हो यो दान काण्ड । यो निःस्वार्थ दान हो भन्ने एमालेको भाषा कपटपूर्ण छ । सत्यलाई ठाकछोप गर्ने प्रवृत्तिको सिकार नेपाली जनता कहिलेसम्म हुनुपर्ने ? प्रधानमन्त्री ओली भ्रष्टाचार गर्दिन भनेर चर्को भाषण गर्ने तर व्यवहारमा भ्रष्टहरूसँग साँठगाँठ गर्ने प्रधानमन्त्री ओलीको शैलीलाई अब निन्दा गर्ने कि प्रशंसा ?
यस रोगबाट ग्रसित हुने ओलीमात्रै एक्ला प्रधानमन्त्री भने होइनन् । सबै प्रधानमन्त्रीहरूमा यो रोग देखियो । प्रधानमन्त्रीहरूमा भएको भ्रष्टमैत्री चरित्रले नै सरकारका निकायहरूमा यत्रतत्र सर्वत्र भ्रष्टाचार फैलिएको हो । प्रधानमन्त्रीको चरित्र, जीवनशैली र कार्यशैलीको प्रभाव देशभरका सरकारको संयन्त्रहरूमा प्रत्यक्ष पर्ने हुँदा यसले सुशासनको कन्तबिजोक गरेको छ । यो रोग नेपाल र नेपालीको दुर्भाग्यका कारण परिणाम बनेको छ । प्रधानमन्त्रीले मीनबहादुरलाई शिलान्यासको क्रममा लगाइदिएको फूलमालाको प्रभाव सरकारका सबै निकायका क्रियाकलापमा पर्ने विषय भने नेपाल र नेपालीको दुर्भाग्य भन्नुपर्छ ।
अभियुक्तबाट देशको प्रधानमन्त्रीले सहयोग लिने र अभियुक्तलाई सम्मान गर्ने विषय वास्तवमा आपत्तिजनक र सोझै स्वार्थ बाझिने विषय हुन् । मीनबहादुर गुरुङ सफल र चतुर व्यापारी हुन् भन्ने कुरा यो दान प्रकरणले पुष्टि गर्यो तर उनी इमानदार र नैतिकवान व्यापारी हुन् भन्ने विषयमा भने अदालतबाटै प्रश्नचिहृन लागेको छ । किनकि उनी करछलीमा दोषी हुन् भने ललितानिवास जग्गा काण्डका अभियुक्त पनि हुन् । बाढी पीडितलाई दान दिन छाडेर मीनबहादुर गुरुङले प्रधानमन्त्रीजी तपाईंको पार्टीलाई जग्गा र भवन दान पुण्य कमाउन दिएको पक्कै होइन । यो थप सम्पत्ति आर्जनको हेतुले दिएको दान हो ।
यो दानरूपी लगानीबाट लाभ नहुने भए उनले अर्बौंको लगानी किमार्थ गर्दैनथे । मीनबहादुर गुरुङले दीर्घकालीन लाभको लेखाजोखा नगरीकन हचुवामा अर्बाैं लगानी गरेका छैनन् । यदि उनले लाभको आशा नगरेको भए अभाव र गरिबीमा बाँच्न बाध्य वर्गको उत्थानका क्षेत्रहरूमा लगानी गर्थे । त्यो वर्ग नेपालमा जताततै छ । अझ अहिले बाढीपहिरोले प्रभावित थुप्रै नागरिक अभावमा बाँच्न बाध्य भएको अवस्थामा उनले त्यो क्षेत्र र वर्गमा लगानी नगरेर पार्टी कार्यालयमा किन लगानी गरे ? यो रहस्यभित्र प्रवेश गर्दा उनको दान निःस्वार्थ नभएर स्वार्थप्रेरित छ भन्ने पुष्टि हुन्छ । उनले प्रधानमन्त्रीको पार्टी कार्यालयमै किन लगानी गरे ?
उनको प्रधानमन्त्री ओली र एमाले पार्टीलाई दीर्घकालसम्म प्रभाव पार्ने र व्यापारबाट विविध प्रकारले लाभ लिने रणनीतिअन्तर्गत दानको नाटक मञ्चन गरिएको छ । यो सौदाबाजीमा प्रधानमन्त्री ओली र एमाले पार्टी नराम्ररी फस्यो । यहाँ लगानी गर्दा सरकारका निकायहरूमा आफू हावी हुने सम्भावनाबाट लाभ लिने मीनबहादुरको भित्री योजना सफल भएको छ । हात्तीका देखाउने र चपाउने दाँतमा फरक भएजस्तै यो प्रकरणलाई दानको र सहयोगको संज्ञा दिए पनि यो मीनबहादुरले जानीबुझी भविष्यमा हुने लाभको आँकलन गरेर गरेको लगानी हो । अर्को अर्थमा यो दानको आवरणमा प्रधानमन्त्री र एमाले पार्टी पंक्तिलाई दिएको ऋश्वत हो । अझ भन्नुपर्दा प्रधानमन्त्री र एमाले पंक्तिलाई मीनबहादुर गुरुङले खरिद गर्ने योजना यसभित्र अन्तरनिहित विषय हो ।
यो दानको आवरणमा देशको प्रधानमन्त्रीलाई र सिंगो एमाले पार्टीलाई खरिद गर्ने दुष्प्रयास हो भने प्रधानमन्त्री ओली व्यापारीहरूसँगको साँठगाँठमा मात्रै आफ्नो भविष्य देख्छन् भन्ने प्रमाण हो । झट्ट सुन्दा यो दान हो तर यस क्षेत्रमा व्यापारीले लगानी गर्नुको पछाडि सरकारलाई प्रभावमा पारेर व्यापारबाट अनगिन्ती नाजायज फाइदा लिने रणनीति हो । भारतको प्रख्यात व्यापारी टाटा समूहले भारतमा पछिल्लो एक सय वर्षमा कूल ७५६३ अर्ब भारतीय रुपैयाँ दान गरेको इतिहास छ ।
यति ठूलो धनराशि टाटा समूहले दान गर्दा यत्रो लामो समयसम्म ऊ कहिल्यै विवादित भएन । यसको मुख्यकारण हो उसले पार्टी वा नेतालाई खुशी पार्न वा प्रभावमा पार्ने ध्येयले लगानी नगरेर गरिब र अभावमा जिउन बाध्य समुदायमा केन्द्रित दान ग¥यो तर मीनबहादुरले दानको आवरणमा सोझै ऋश्वत दिए । तसर्थ उनको दानले अहिले दान लिने प्रधानमन्त्री ओली र सिंगो एमाले पार्टी आलोचनाको सिकार बन्यो । यसको नकारात्मक प्रभाव एमालेलाई आगामी २०८४ को निर्वाचनमा पर्ने निश्चित छ ।
व्यापारीले लगानी कहाँ गर्छ ? जहाँ नाफा हुन्छ त्यहाँ गर्छ । अहिले सत्तारुढ दलको प्रधानमन्त्रीबाट एउटा अभियुक्त सम्मानित भयो भने त्यसको सन्देश के जान्छ ? यो कुरा खड्गप्रसाद ओलीलाई भन्दा मीनबहादुर गुरुङलाई यसको दीर्घकालीन प्रभाव बारे राम्रो थाहा छ । सत्तारुढ दललाई प्रभावमा पार्दा हुनसक्ने सम्भावित व्यापारिक लाभको आँकलन विनापैसा कमाउने नै मुख्य व्यवसाय भएको व्यापारीले किन लगानी गर्ने ? यो थप नाजायज आर्जनको अनन्त सम्भावना देखेर भएको लगानी हो । यसले जनता र देशको हानी गर्ने विषयमा सन्देह छैन ।
अहिले खड्गप्रसाद ओली प्रधानमन्त्री भएकाले प्रधानमन्त्रीको हैसियतमा एमाले पार्टी कार्यालयको लागि स्वीकार गरिएको दान नेपाली जनताप्रतिको चरम बेवास्ता पनि हो । पार्टीलाई फाइदा हुने विषयमा देशका प्रधानमन्त्रीको पदलाई नै बदनाम गर्ने क्रियाकलापको गम्भीर समीक्षा हुनुपर्छ । यो आपत्तिजनकमात्रै होइन यो प्रधानमन्त्रीको गैरजिम्मेवार क्रियाकलाप पनि हो ।
एउटा सत्तारुढ राजनीतिक दललाई अर्बौंको जमिन र त्यसकै हाराहारीमा कार्यालय भवनत बनाउने समेतको अर्बौंको मोटो धनराशि करछलीमा दण्डित र अदालतमा मुद्दा विचाराधीन रहेको एकजना विवादित व्यापारीबाट एमाले जस्तो जिम्मेवार र हालमा सत्तामा रहेको पार्टीको प्रधानमन्त्रीले एउटा अभियुक्तलाई सम्मान गर्दै दान स्वीकार गर्नु सिंगो पार्टी र प्रधानमन्त्री स्वयंको प्रतिष्ठाको लिलामी हो । यो प्रधानमन्त्रीको अक्षम्य भूल हो । यो लोकलज्जाको विषय हो । लोकलज्जाको ख्याल प्रधानमन्त्रीले नगर्नु विनाश कालेविपरीत बुद्धि हो । यो सोझै स्वार्थ बाझिने क्रियाकलापमा एमाले पार्टी र देशको प्रधानमन्त्री किन फसे ? वर्तमान अवस्थामा मीनबहादुर अदालतमा मुद्दा खेपिरहेका अभियुक्त हुन् ।
एउटा अभियुक्तलाई देशको प्रधानमन्त्रीले सम्मानित गर्नु अनर्थ हो । यस प्रकरणमा प्रधानमन्त्रीले जनता र देशकै बेइज्जती गर्नुभयो भन्नेहरूलाई उचित र तर्कसंगत जवाफ प्रधानमन्त्रीसँग छ ? किमार्थ छैन ? सुशासनका लागि यसभन्दा ठूलो बेइज्जती अर्को के हुनसक्छ ? प्रधानमन्त्रीको सुशासन, विकास र समृद्धिको नारा झुठो हो खालि जनतालाई भ्रममा पार्ने सूत्र हो भन्ने प्रमाण हो । प्रधानमन्त्रीको प्राथमिकताको विषय देश र जनता कि आफ्नो पार्टी ? देश बाढीपहिरोले ध्वस्त भएको अवस्थामा जनता खाने र बस्ने समस्याले प्रताडित भएका बेला सरकारको प्रधानमन्त्रीको प्राथमिकता आफ्नो पार्टीको केन्द्रीय कार्यालय भवनमा केन्द्रीकृत हुनुभनेको प्रधानमन्त्रीको यो जनता र देशप्रति गैरजिम्मेवारपूर्ण गतिविधि हो ।
राष्ट्रले खरिद गरेको प्रधानमन्त्रीको सम्पूर्ण समयलाई प्रधानमन्त्रीले देश र जनताको हितमा खर्च नगरेर पार्टीको हितमा दुरुपयोग गरेको अर्को उदाहरण हो । अहिले खड्गप्रसाद ओली प्रधानमन्त्री भएकाले प्रधानमन्त्रीको हैसियतमा एमाले पार्टी कार्यालयका लागि स्वीकार गरिएको दान नेपाली जनताप्रतिको चरम बेवास्ता हो । पार्टीलाई फाइदा हुने विषयमा देशका प्रधानमन्त्रीको पदलाई नै बदनाम गर्ने क्रियाकलापको गम्भीर समीक्षा हुनुपर्छ । यो आपत्तिजनकमात्रै होइन यो प्रधानमन्त्रीको गैरजिम्मेवार क्रियाकलाप हो । प्रधानमन्त्रीको हैसियतले अदालतमा मुद्दा विचाराधीन रहेको व्यक्तिबाट जमिन र कार्यालय भवन बनाउने शर्तमा अभियुक्तलाई प्रधानमन्त्रीले सम्मान गर्ने विषय प्रधानमन्त्रीबाट भएको अक्षम्य र ऐतिहासिक त्रुटि हो ।
सत्ता साझेदार कांग्रेसको तीखो आलोचना किन आएन ? यसको नकारात्मक प्रभाव आगामी निर्वाचनमा कांग्रेसले भोग्न तयार हुनुपर्छ । प्रधानमन्त्रीले लगाएको घडी, चश्मा र जुत्ता चरम विलासी भएको विषयमा सर्वाधिक आलोचना भएको बेलामा प्रधानमन्त्रीले मीनबहादुरको अर्बौंको दानको राशि पार्टीका लागि व्यवस्था गर्दा अझ आलोचना चुलिएको छ । यस्तो अवस्थामा प्रतिपक्षी दलहरूको भूमिका शून्य हुनु दुर्भाग्य हो । प्रजातान्त्रिक व्यवस्थामा नेतृत्व आलोचनाबाट डराउँछ तर नेपालमा भ्रष्टाचारमा आलोचित हुनेहरू नै पालैपालो प्रधानमन्त्री हुन्छन् । आलोचना किन फलिफाप हुन्छ ? यो दुर्भाग्यको खेल, प्रहसन, नाटक, चटक कहिलेसम्म नेपाली जनताले भोग्नुपर्ने ?
नेतृत्वमा रहनेहरू नै बेलाबेलामा निर्वस्त्र हुने रोगको पहिल्यै उपचार नगरिकन देशको विकास र समृद्धि फगत नारामा सीमित हुन्छ । देशले गन्तव्य समात्न सर्वप्रथम नेतृत्वमा सादगी इमानदार, नैतिकता, उसको चारित्रिक बलमै राष्ट्र विकास र समृद्धिको मार्गमा अग्रसर हुन्छ । व्यापारी, ठेकेदार-तस्करहरूको सेवाबाट आफ्नो स्वार्थसिद्ध गर्नेहरूलाई नेतृत्व सुम्पेपछि के हुन्छ ? व्यापारी, ठेकेदार-तस्कर पुजिन्छन्, इमानदार पाखा लगाइन्छन् । प्रधानमन्त्रीको काम वातावरण सपार्ने हो कि बिगार्ने ? गाउँको बुढो नै बाटोमा फोहोर गर्न तल्लीन हुन्छ भने सफाको कल्पना गर्नु व्यर्थ भएन ? सरकारको जिम्मेवार पदमा रहनेहरू सधैं बदनाम हुने तर सच्चिनेभन्दा सक्किन उद्यत् हुने अवस्थाले उत्पन्न गरेको निराशाको उपचार के ? यो प्रश्न अनुत्तरित कहिलेसम्म ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच