कानुनकै कर्मचारीबाट नियम उल्लंघन, छड्के पुग्दा मन्त्रालय रित्तै

हिमालय टाइम्स
Read Time = 5 mins

-नन्दराम जैशी
सुर्खेत । कर्णाली प्रदेशमा शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन र नियमन गर्ने मुख्य उद्देश्य लिएको कानून मन्त्रालयकै कर्मचारीबाट नियम उल्लंघन भएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कर्मचारीले कार्यालय समय पालनाको नियम उल्लंघन गरेका हुन् ।
एक अनुगमनको पृष्टिका आधारमा यो मन्त्रालयमा कार्यरत कर्मचारीहरु समयमै कार्यालय उपस्थित हुँदैनन् ।

मंगलबार कर्णाली प्रदेश सभा अन्तर्गतको प्रदेश मामिला समितिले गरेको छड्के अनुगमनका क्रममा करिब ९० प्रतिशत कर्मचारीहरु १० बजेसम्म मन्त्रालय पुगेका थिएनन् ।

समितिकी सभापति तथा प्रदेश सभा सदस्य कल्याणी खड्काको नेतृत्वमा छड्के अनुगमन भएको हो । सो अवसरमा मन्त्रालयमा कार्यरत २६ जना कर्मचारीमध्ये कार्यालय सहयोगी सहित चार/पाँच जना कर्मचारी मात्रै उपस्थित भएका थिए ।

कोही काज, कोही तालिम, कोही घर बिदा त कोही जरुरी कामले ढिलो भयो भन्दै करिब बिहान साढे १० बजेसम्म कार्यालय रित्तै थियो । यतिसम्मकी मन्त्रालयका सचिवसमेत 'कार्यालयको काममा थिएँ' भन्दै बिहान १०ः२२ मा कार्यालय पुगे ।

अनुगमनका क्रममा बोल्दै समितिकी सभापति खड्काले मन्त्रालयमा कार्यरत कर्मचारीलाई कर्तव्यनिष्टभई समयको पालना गरी सेवाप्रवाहमा जुट्न निर्देशन दिनुभयो । नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयका कर्मचारीले नै नियमको उल्लंघन गरे सेवाग्राहीमा राम्रो सन्देश नजाने भन्दै उहाँले अबदेखि सच्चिन निर्देशन दिनुभयो ।

समितिका सदस्य रनसिंह परियारले राज्यलाई आवश्यक पर्ने नीति कार्यान्वयनमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कर्मचारी संयत्र नै व्यवस्थित र जिम्मेवार भएर चल्नुपर्ने बताउनु भयो । सेवाप्रवाहका क्रममा आइपर्ने व्यवधान समधानमा समिति र संसद कर्मचारीको साथमा रहेको उहाँको भनाइ छ ।

यस्तै समितिका सदस्य महेन्द्र केशीले राजनीतिक र प्रशासनिक संयत्रहरु नागरिक प्रति उत्तरदायी हुनुपर्ने भन्दै अनेक बाहानामा उम्कने समयमै कार्यालय नआउने कुरा राम्रो नभएको बताउनु भयो । समितिका सदस्य दक्षिणा शाहीले सचिवको नेतृत्वमा समयमै काम नगर्ने र कार्यालय समय ढिला गर्ने कर्मचारीहरुले आगामी दिनमा आफुलाई सच्याउन आवश्यक रहेको औंल्याउनु भयो ।

अनुगमनमा समितका पदाधिकारी र सचिव तथा पत्रकारहरुको सहभागिता रहेको थियो । अनुगमनपछि मन्त्रालयका सचिव धुव्र घिमिरेले अनुगमन टोलीले दिएको सुझाब सल्लाहलाई ममन गरी काम गर्ने बताउनु भयो ।

मन्त्रालयमा कर्मचारीको कुल दरवन्दी ३८ जना रहेकोमा हाल २६ जना मात्रै कर्मचारी कार्यरत छन् । जसमध्य चार जना काजमा रहेका छन् ।
सरकारलाई प्रदेश सभाप्रति उत्तरदायी र जवाफदेही बनाउनका लागि प्रदेश सरकारबाट भएगरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिने क्षेत्राधिकार मामिला समितिलाई रहन्छ । प्रदेश सभा नियमावलीको नियम १५४ बमोजिम प्रदेश मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश लोकसेवा आयोग र सरकारका कामकाजको अनुगमन गर्ने अधिकार पनि समितिलाई दिइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?