झापा । बुधबार साँझदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग अहिले बिहानबाट सुचारु भएको छ । प्र १-०१-००१ ख ४३३१ नम्बरको रात्रिबसले झापाको कमल गाउँपालिका-३ केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा स्थानीय मनोज इजम लिम्बुकी अन्दाजी १० वर्षीया छोरी कृपा र उनका बुवा ६० वर्षीय टेकबहादुर इजमको मृत्यु भएपछि आक्रोशित स्थानीयले राजमार्ग अबरुद्ध पारेका थिए । मृतक हजुरबुवा, नातिनी हुन् ।
पीडित पक्षसँग चार बुँदे सहमति भएपछि अहिले बिहान ५ बजेदेखि राजमार्ग सुचारु भएको हो । गएराति ९ बजेदेखि आज बिहान अढाई बजेसम्म कमल-३ का वडाध्यक्ष अग्नी कोइरालाको घरमा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको रोहवरमा सम्पन्न सर्वपक्षीय छलफलमा चार बुँदे सहमति भएपछि यातायात सुचारु भएको हो ।
छलफलमा वडाध्यक्ष कोइराला, पीडित पक्ष, नागरिक समाज र सुरक्षा निकाय लगायतका २० जनाको सहभागिता थियो । छलफलमा मृतका परिवारलाई अधिकतम क्षतिपूर्ति दिलाउनका प्रयत्न गर्ने, जनप्रतिनिधि तथा प्रशासनको संयुक्त पहलमा दोषी चालकमाथि कारबाही लागि पहल गर्ने, त्रिपक्षीय सहमतिलाई कार्यान्वयन गर्ने र कानुनी प्रक्रिया पूरा गर्न जारी अवरोध हटाई अगाडि बढ्ने सहमति भएको छ ।
आक्रोशित स्थानीयले गरेको आन्दोलनलाई काबु बाहिर जान नदिन प्रहरीले पटकपटक बल प्रयोग गर्नु परेको थियो । सो क्रममा प्रहरीले ३० पटक जति अश्रुग्यास प्रहार गरेको थियो । नेपाल प्रहरीले १५ र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्यास प्रहार गरेको थियो । आक्रोशित स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीका पाँच जना र सशस्त्र प्रहरीका ५ जना घाइते भएका छन् । उनीहरुको अबस्था सामान्य रहेको झापाका प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनुभयो ।
आक्रोशित स्थानीयले केर्खा बजारमा रहेको प्रहरी र ट्राफिक प्रहरी बिटमा आगजनी गर्दा जलेर ध्वस्त भएको छ । आगलागी नियन्त्रणका लागि तयारी अवस्थामा नजिकै राखिएको दमकल प्रहरी बिटमा लगाइएको आगो निभाउन समेत आउन सकेको थिएन । गेट बाहिरैबाट आक्रोशित भीडले ढुङ्गा प्रहार गर्दा केही सवारी साधनमा क्षति पुगेको छ । केर्खा प्रहरी चौकीको झ्याल फुटेको छ । प्रहरी चौकी अगाडि पार्किङ गरिएको दमकलको सिसा फुटेको छ ।
घटनास्थलनजिकै रहेको मे.१ ख २७४४ नम्बरको न्यू सूर्योदय यातायात र प्रदेश १-०१-००१ ख ४०३७ नम्बरको यात्रुबाहक बसको सिसा फुटेको छ । पूर्वबाट पश्चिमतर्फ हिडेका यातायातका साधन शिवसताक्षीस्थित कमल खोलाको पुलमा र पूर्वतर्फ आउने यातायातका साधन सीतापुरीमा रोकिएका थिए । जसका कारण यात्रु रातभर बीचबाटोमै अलपत्र परेका थिए ।
सहमति भएपछि बिहान ५ बजेपछि पूर्वपश्चिम राजमार्ग सुचारु भएको र यात्रु गन्तव्यमा लागेका छन् । हाल केर्खाको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता चन्दले जानकारी दिनुभयो ।
उक्त सहमति गरेपश्चात् आज बिहान ३ः५० बजेदेखि प्रहरीले आवश्यक कानुनी प्रक्रिया र मुचुल्काको कार्य शुरु गरेको थियो । प्रहरीले बिहान ५ बजे मृतकद्वयको शव मे. १ च १३३३ नम्बरको एम्बुलेन्समा पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको छ ।
काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको इलेक्ट्रिक साइकललाई बुधबार साँझ ५.३० बजे रात्रिबसले ठक्कर दिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको थियो । लगत्तै केर्खा तनावग्रस्त बनेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच