कलाकारिताको भोकले पाण्डेलाई अन्ततः निर्देशक बनायो

हिमालय टाइम्स
Read Time = 8 mins

-प्रकाश सुवेदी

काठमाडौं । २०४६ सालमा धादिङ जिल्लामा मध्यमबर्गीय परिवारमा जन्मिनुभएका देवेन्द्र पाण्डे सानैदखि गीत गाउन र नाचगान भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । काठमाडौंको ज्याबहालमा रहेको नवयुग माध्यामिक विद्यालयमा अध्ययन गर्ने क्रममा विद्यालयमा हुने हरेक कार्यक्रममा पाण्डे सहभागी हुने गर्नुहुन्थ्यो ।

२०५९ सालमा एउटा गीतको छायांकनका लागि नवयुग विद्यालयका छात्रछात्राहरू लगिएको थियो । त्यहाँ जाने विद्यार्थीहरू मध्ये पाण्डे पनि छनौटमा पर्नुभएको थियो । त्यही दिनदेखि अभिनयमा आकर्षित हुनुभएका पाण्डे अन्ततः राम्रो भिडियो निर्देशक बन्नुभयो  ।

२०५९ सालदेखि राजधानीको पुतलीसडकमा रहेको परिवर्तन नेपालमा तीन महिना नृत्य सिक्नुभएका उहाँले २०६० सालदेखि पुतलीसडकमै रहेको साधना कलाकेन्द्रमा लगातार तीन वर्ष नृत्य प्रशिक्षणका साथै यदाकदा विभिन्न म्युजिक भिडियो र चलचित्रका गीतहरूमा समेत नृत्य गर्न थाल्नुभयो ।

वाक चतुरता, सरल, सहयोगि र ठट्यौली स्वभावका देवेन्द्रले कोरसमा नाच्ने क्रममा नृत्य निर्देशकहरूसँग छिट्टै नै राम्रो सम्बन्ध बनाउनुभयो । फलस्वरुप २०६३ देखि २०६६ सालसम्म म्युजिक भिडियो निर्देशकहरूसँग लगभग तीन वर्ष जति काम गर्नुभयो । यो तीन वर्षको अवधिमा उहाँले कतिपय गीतमा सहायक नृत्य निर्देशक त कतिपयमा नृत्य निर्देशकको रूपमा काम गर्नुभयो । जुन म्युजिक भिडियोमा भिडियो निर्देशक स्वयं नृत्य निर्देशन गर्न जान्दैनथे त्यस्ता निर्देशकको रोजाईमा देवेन्द्र पर्नुहुन्थ्यो । यो प्रकृतिको काम गर्न पाउँदा पाण्डे पनि खुशी हुनुहुन्थ्यो ।

बि.सं २०६६ सालदेखि स्वनिर्भर रूपमा निर्देशनमा लाग्नुभएका देवेन्द्रले हालसम्म ३०० को हाराहारीमा म्युजिक भिडियो निर्देशन गर्नुभएको छ । हेमन्त शर्माको ‘खोलीको पानी’ बोलको गीतमा नृत्य निर्देशकको रूपमा काम गर्दा उहाँले पहिलो पटक चर्चित क्यामेरामेन धिरजजंग शाहसँग काम गर्ने अवसर पाउनुभयो । शाहको काम गर्ने तरिकासँग लोभिनुभएका पाण्डेले त्यसपछि केही गीतमा निर्देशककै रूपमा शाहसँग काम गर्ने अवसर जुराए । त्यतिबेला कयामेरामेनमा धिरजजंग शाह, विदुर पाण्डे, शिवराम श्रेष्ठ र सम्पादकमा प्रकाश तुलाधर भनेपछि नाम नै काफी थियो । बजारको माग र उच्च प्रविधिलाई बुझनुभएका पाण्डेले धिरजजंग शाहसँगै प्रकाश तुलाधरसँग पनि सहकार्य गर्न थाल्नुभयो । उहाँहरूसँग काम गर्दा जो कसैलाई पनि दुईओटा कुरामा फाइदा थियो । एक त म्युजिक भिडियो राम्रो बन्थ्यो भने अर्को टेलिभिजनहरूमा प्रसारण गर्न त्यति धेरै मिहिनेत नै गर्न पर्थेन ।

‘ओन साइड लभ, भिलेन, मानिस ठूलो दीलले हुन्छ जातले हुँदैन’ (गीतैगीतको चलचित्र) जस्ता चलचित्रमा समेत निर्देशकको रूपमा काम गर्नुभएका पाण्डेले हालसम्म राजेश हमाल, करिस्मा मानन्धर, निखिल उप्रेती, केकी अधिकारी, सिम्पल खनाल, पुष्प खड्का, पल शाह, मोहन निरौला जस्ता दिग्गज कलाकारहरूसँग काम गर्नुभएको छ । महानायक राजेश हमालसँग त उहाँको विशेष खालकै सम्बन्ध छ । पाण्डेले महानायकको स्वरमा बनेका ‘मन बूढो हुँदैन’ र ‘गाउँले ठिटो’ गीतमा समेत निर्देशन गर्नुभएको छ ।

धिरजजंग शाह, शिवराम श्रेष्ठ, अर्जुन तिवारी, उत्सव दाहाल, अजय रेग्मी लगायत बरिष्ठदेखि कनिष्ठ दर्जनौं क्यामेरामेनसँग सहकार्य गर्नुभएका पाण्डेले भिडियो सम्पादकमा प्रकाश तुलाधर, निशान घिमिरे, भरत रेग्मी, अर्जुन पोख्रेल, साहिल खान, विकास दाहाल लगायतसँग सहकार्य गर्नुभएको छ ।

कुनै पनि व्यक्तिको सफलताको एउटा टर्निङ पोइन्ट आउँछ । ‘तपाईंको करिअरकै टर्निङ पोइन्ट कुन हो’ भन्ने प्रश्नमा पाण्डे २०६८ सालतिर निर्देशन गरेका ‘तिमी फूल बन’ र ‘सुखमा पनि’ गीतहरू रहेको सुनाउनुहुन्छ । यी गीतहरूको निर्देशन गरेपछि पाण्डेलाई जीवनमा पछाडि फर्केर हेर्नुपरेन रे । वर्तमान समयमा पाण्डे व्यस्त र चल्तिका भिडियो निर्देशक हुनुहुन्छ ।

पाण्डे नेपाल आर्मीले २०७२ सालमा आयोजना गरेको लघु चलचित्र प्रतियोगितामा ‘राष्ट्रको पहरेदार’ नामक चलचित्रबाट उत्कृष्ट लेखक निर्देशकका रूपमा पुरस्कृत हुनुभएको थियो । पाण्डेले उत्कृष्ट  भिडियो निर्देशकको रूपमा ११ र १२ औँ विन्ध्यवासिनी अवार्ड, ७ औँ राप्ती अवार्ड लगायत थुप्रै अवार्डहरू हात पार्नुभएको छ ।

पेशा र पढाईलाई सँगसँगै लानुभएका पाण्डेले कानुन र व्यवस्थापन विषयमा स्नातक, जनप्रशाशनमा स्नातकोत्तर पास गर्नुभएको छ भने  राजनीतिशाष्त्रमा पनि स्नातकोततर गर्दैहुनुहुन्छ । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध  पाण्डे नेपाल म्युजिक भिडियो निर्देशक समाजको कार्ववाहक अध्यक्ष र चलचित्र निर्देशक समाजको सचिवसमेत रहेर कुशल कार्यसम्पादन गर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?