सत्ता आफैंमा असल पनि हो अवसर पनि । सत्ताको स्वादमा परेको व्यक्ति सत्ताबाहिर हुन सक्दैन । उसका लागि सत्ता नै सबैभन्दा उत्तम उपाय हो । दाम कमाउने वा जनताको सेवा गर्ने । यही उपायको खोजीमा आजको संसारको राजनीति विकसित छ । संसारको राजनीति सत्ता केन्द्रित छ । सत्तासीन व्यक्तिका लागि कतिपय अवस्थामा देश र जनता मुख्य केन्द्रमा रहेका हुन्छन् । तर कतिपय अवस्थामा भने आफू र आफ्नो स्वार्थ नै सत्ताको घेरामा सक्रिय रहेका हुन्छन् । यही हो सत्ता र सत्ताबाट विकसित खेल पनि । राजनीति गर्ने व्यक्तिका लागि सत्ताको स्वाद गतिलो नै हुन्छ । देश जनता र आफ्नो धर्म, कर्म गर्ने व्यक्तिका लागि सत्ताले खाशै महत्व राख्दैन । महत्व सत्ताको होइन कर्तव्य र आफूले निर्वाह गर्ने भूमिकाको रहेको हुन्छ ।
राम कर्तव्य निर्वाहका लागि चौध वर्षको वनवासमा निस्के । अयोध्यामा राजतिलक गर्ने अवस्थामा नै उनलाई उनकी विमाताले दशरथसित वरदान माग्ने आधारमा चौध वर्ष वनवास पठाइन् । उनलाई अयोध्यामा नै फर्काएर ल्याउने उद्देश्यले भरत उनलाई लिन वनमा पुगे । भरतको प्रयासलाई दाजुप्रतिको अटल आस्था मान्न सकिन्छ ।
राम कर्तव्य निर्वाहका लागि चौध वर्षको वनवासमा निस्के । अयोध्यामा राजतिलक गर्ने अवस्थामा नै उनलाई उनकी विमाताले दशरथसित वरदान माग्ने आधारमा चौध वर्ष वनवास पठाइन् । पिताको आज्ञालाई उनले माने र वनवासतिर लागे । उनलाई अयोध्यामा नै फर्काएर ल्याउने उद्देश्यले भरत उनलाई लिन वनमा पुगे । भरतको प्रयासलाई दाजुप्रतिको अटल आस्था मान्न सकिन्छ । भरतलाई सत्ताप्रतिको मोह हुन्थ्यो भने उनले कहिले पनि रामलाई अयोध्याको राजा बनाउने अभिलाषा राख्दैनथे । आफू नै सत्तासीन बनेर बसेका हुन्थे तर त्यसो भएन । रामलाई लिन पुगेका भरतका साथ गएका जाबालि ऋषिले रामलाई सबैभन्दा प्यारो सत्ता हो भन्ने भावना बाहिर ल्याए । उनले रामलाई सत्ताको लोभ देखाए ।
जाबालीको कथन
जाबाली ऋषि हुन् । भरतको आग्रह अस्वीकार गर्ने रामलाई जाबालीले सम्झाएका छन् । उनले रामलाई भनेका छन् :
तस्मान्माता पिता चेति राम सज्जेत यो नरः
उन्मत्त इव स ज्ञेयो नास्ति कश्चिद्धि कस्यचित् ।।
मानिस बुबाआमा सम्झेर कसैप्रति आसक्त हुन्छ त्यो मानिस पागल हो । यो संसारमा कोही केही कसैको पनि होइन र हुने पनि छैन । संसारमा मानिस एक्लै आयो र एक्लै जाने हो तर संसारको सबैभन्दा महत्व धन र सत्ता हो । सत्ताको सुखभोग नगर्ने रामलाई जाबालीका यी अभिव्यक्ति हुन् । पिताको आज्ञा मानेर वनवासमा आएका रामलाई जाबाली भन्छन् :
पित्र्यं राज्यं समुत्सृज्य स नार्हसि नरोत्तम
आस्थातुं कापथं दुःखं विषमं बहुकण्टकम् ।।
हे नरश्रेष्ठ राम ¤ तपाईं पिताको राज्यलाई छोडेर यो दुःखले भरिएको, काँडाहरूबाट सजिएको यो वनको भ्रमणलाई किन रुचाउनुभयो । यो व्यवहार हजुरका लागि उपयोगी देखिँदैन । राज्यको सुखलाई त्यागेर वनको वास उपयोगी र हितकारक पनि होइन । अयोध्या समृद्धशाली राज्य हो । उक्त राज्यले तपाईंको प्रतिक्षा गरिरहेको छ भन्दै जाबाली भन्छन् :
समृद्धायामयोध्यायामात्मानमभिषेचय
एकवेणीधरा हि त्वा नगरी सम्प्रतीक्षते ।।
समृद्धशाली अयोध्या हजुरको प्रतीक्षामा छ । हजुर उक्त राज्यको शासनमा बसेर जनताको सेवा गर्नुहोस् । जनताको सेवा नै राजनीतिको अति सबल पक्ष हो । अयोध्या राज्यको सञ्चालन गर्नु हजुरको पहिलो आधार हो । जन्म र मृत्यु सत्य हो । यो सत्यसित कोही पनि भाग्न मिल्दैन । मानिस संसारका एक्लो आयो र एक्लै जाने हो । कोही कसैको होइन भन्दै जाबाली भन्छन् :
न ते कश्चिद् दशरथंस्त्वं च तस्य च कश्चन
अन्यो राजा त्वमन्यस्तु तस्मात् कुरु यदुच्यते ।।
राजा दशरथ हजुरका कोही पनि होइनन् । हजुर पनि उनका कोही होइन । तपाईं अर्कै हो उनी अर्कै हुन् । त्यसैले म जे भन्छु त्यो गर्नुहोस् । यो जाबालीको रामलाई अयोध्यामा लैजाने अभिव्यक्ति थिए । जाबालीका अभिव्यक्तिमा स्वार्थ छ । स्वार्थले भरिएको भावना छ ।
मानिसको कर्तव्यभन्दा पनि उसले भोग्ने समाजको आशा छ । यही आधारमा रामलाई जाबालिले भनेका अभिव्यक्ति हुन् यी । जाबाली ऋषि हुन् । ऋषिका वाणीमा देखिएको यो अभिव्यक्ति पक्कै पनि स्वार्थ कोन्द्रित देखियो । मानिसलाई सत्ताको मोहमा फसाउने र सत्ता केन्द्रित राजनीतिको अवस्थालाई जाबालिले रामका अघि राखेको देखिन्छ । भरत आफैंमा सत्ताका लोभी थिएनन् ।
पृथ्वी, कीर्ति, यश र लक्ष्मी यी सबै सत्यवादी पुरुषलाई वरण गर्ने चाहनाले अभिप्ररित हुन्छन् । सत्यको बाटोमा हिँड्नु नै मानिसको सबैभन्दा उत्तम उपाय हो । जबालिले रामलाई सत्ता नै सबै हो भन्ने भावनामा आफूलाई राखे । सत्ताको सुख भोग अयोध्याको राजसत्तालाई समालेर आफूलाई भाग्यमानी बनाउन आग्रह गरे ।
उनले आफूले राज्य नगर्ने अठोट लिएका थिए । त्यही सन्दर्भमा रामलाई लिन जाने भरतका साथ गएका जाबालिले यी अभिव्यक्ति रामका अघि राखिदिएका थिए । जाबालिका नास्तिक थिए वा रामलाई गलत मार्गमा प्रवृत्त गराउन लागिपरेका थिए । जाबालीका वचनमा सत्य छैन । उनले कर्तव्यपथमा चलेको व्यक्तिलाई कर्तव्यच्युत गराउने आधार बाहिर ल्याए ।
सत्ता सबै होइन
राम आफैंमा मर्यादापुरुष हुन् । रामका लागि सत्ता सबैभन्दा कमजोर कडी हो । उनलाई सत्ताको मोह थिएन । सत्ताको साँचोमा नढालिने उनी र उनको भावना पिताको आज्ञा पालन र पिताप्रतिको दृढ आस्थामा केन्द्रित थियो । त्यही आस्थाका कारण उनले आफूलाई कहिले पनि सत्ताको केन्द्रमा राखेका थिएनन् । जाबालीका अभिव्यक्तिले रामको कर्तव्यपालनलाई कमजोर बनाउन सकेन । रामले जाबालीको प्रश्नको उत्तर यसरी दिएका छन् ।
सोद्रहं पितुर्निदेशं तु किमर्थं नानुपालये
सत्यप्रतिश्रवः सत्यं सत्येन समयीकृतम ।।
म सत्यप्रतिज्ञ हुँ । सत्यको कसम खाएर पिताको वचनलाई पालन गर्न आएको हुँ । यो अवस्थामा मेरो पहिलो कर्तव्य पिताको आज्ञाको पालन गर्नु हो । मानिसको कर्तव्यप्रतिको आस्थालाई भत्काउन प्रयास गर्ने जाबालिप्रतिको अभिव्यक्तिलाई रामले सन्देश दिएका छन् । सत्ता सबै होइन । मानवीय कर्तव्यका माध्यमबाट आफूलाई बाहिर ल्याउनु मानवीय धर्म रामले मानेका छन् । म सत्यमा अडिग रहेको मान्छे । सत्यबाट विचलन हुन म सक्दिन । सत्ताको लोभमा म कहिले पनि फस्दिन भन्दै राम भन्छन् :
नैव लोभान्न मोहाद् वा न चाज्ञानात्तमोद्रन्वितः
सेतुं सत्यस्य भेत्स्यामि गुरोः सत्यप्रतिश्रवः ।।
सत्यलाई पालन गर्ने प्रतिज्ञा गरेर म आएको हुँ । लोभ र मोहको वसमा परेर म पिताको आज्ञा वा वचनबाट विमुख हुन सक्दिन । मानिसको पहिलो काम उसले आफ्नो कर्तव्यलाई निर्वाह गर्नु हो । कर्तव्यको पथमा चल्ने मानिसका लागि यी सबै कुरा स्वतः प्रकट भएर आएका हुन्छन् । त्यसैले सत्यको पालन नै मेरो पहिलो प्राथमिकता हो भन्ने धारणालाई रामले यहाँ उल्लेख गरेका छन् । सत्य मानिसका लागि सबैभन्दा उच्च मर्यादा हो । यो मर्यादालाई निरन्तर पालन गर्ने हो भने मानिसका लागि सबै वस्तु तुच्छ मानिएका छन् । मर्यादाको पालन गरेर बस्ने मानिसलाई यी सबै कुरा स्वतः उपस्थित हुन्छन् भन्ने सन्दर्भलाई उल्लेख गर्दै राम भन्छन् :
भूमिः कीर्तिर्यशो लक्ष्मीः पुरुषं प्रार्थयन्ति हि
सत्यं समनुवर्तन्ते सत्यमेव भजेत् ततः ।।
पृथ्वी, कीर्ति, यश र लक्ष्मी यी सबै सत्यवादी पुरुषलाई वरण गर्ने चाहनाले अभिप्ररित हुन्छन् । सत्यको बाटोमा हिँड्नु नै मानिसको सबैभन्दा उत्तम उपाय हो । जबालिले रामलाई सत्ता नै सबै हो भन्ने भावनामा आफूलाई राखे । सत्ताको सुख भोग अयोध्याको राजसत्तालाई समालेर आफूलाई भाग्यमानी बनाउन आग्रह गरे । सत्तामा रमाउन नसक्ने मानिस संसारमा सबैभन्दा बढी कमजोर हुने तर्कसमेत उनले राखे । सत्ताको स्वादमा रमाउनु नै मानिसको कर्तव्यका रूपमा उनले स्वीकार गरे । संसारमा कोही आफ्नो हुँदैन । आफूले चाहेजस्तो केही पनि हुँदैन । त्यसैले मानिसको सबैभन्दा सत्य सत्ता जाबालिले मानेको देखिन्छ ।
जाबालिको प्रश्नको उत्तरमा रामले मानिसको कर्तव्यलाई नै पहिलो जीवनको आधार माने । रामले जुन तरिकाले जाबालिको प्रश्नको आधार माने त्यो नै मानिसको पहिलो कर्तव्य मानिएको देखिन्छ । मानवीय कर्तव्यका अघि सत्ताको स्वाद कमजोर हुने तर्कलाई रामले राखे । राजनीति झुठको खेती मान्ने आजको समाजमा रामका अभिव्यक्ति कमजोर मानिएका छन् । जसरी पनि सत्तामा पुग्ने र बसिरहने प्रवृत्तिका अघि जाबालि नै सत्य सावित भएका छन् आजको राजनीतिमा । जाबालिको भनाइले आजको राजनीतिलाई गति दिएको छ । आजको मानिस सत्ताको भोगलाई उच्च मानेर गतिशील छ ।
आजको मानिसका लागि जनता, समाज, देशभन्दा आफू, आफन्त र धन उच्च रहेको छ । राजनीति स्वस्थ हुनुपर्छ, कर्तव्य पालन पहिलो आधार हो भन्ने रामका अभिव्यक्ति आजको राजनीतिका लागि कमजोर मानिएका छन् । रामको अभिव्यक्तिमा देशको हित, कर्तव्यको आधार मानिसको धर्म छ । मानिसलाई मानिस बनाउने आधार छ । त्यही आधारमा संसार चलेको पनि छ । जाबालिका अभिव्यक्तिमा स्वार्थ र आफ्नो दुनो सोझ्याउने प्रवृृत्ति देखिएको छ । त्यसैले विश्व जाबालिको स्वार्थपरक राजनीतिमा चलेको छ । रामको कर्तव्य परायण राजनीतिलाई आजको समाजले कहिले पनि हेर्न सक्दैन । राजनीति स्वस्थ हुनुपर्नेमा रामका अभिव्यक्ति आएका हुन् । रामको जस्तो त्याग गर्न नसके पनि जाबालिको उपदेश जस्तो राजनीतिले देशको भलो हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच