काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व-गृहमन्त्रीसमेत रहनुभएका सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सडक प्रदर्शनमा छ । लामिछाने पक्राउ परेसँगै रास्वपाका नेताहरू छटपटीमा छन् । आफ्नो पार्टी सभापतिमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै एकातिर रास्वपा विरोध प्रदर्शनमा उत्रिएको छ भने अर्कातिर प्रधानमन्त्री तथा सत्तारूढ दलका नेताहरूलाई भेटेर रिहाइको लागि हारगुहार पनि गरिरहेका छन् । कास्कीको सूर्यदर्शन सहकारीको करोडौँ रुपैयाँ आफू प्रबन्ध निर्देशक रहेको गोरखा मिडियामा ल्याएर अनधिकृत रूपमा खर्च गरेको कसुरमा २ कात्तिकमा रवि पक्राउ पर्नुभएको थियो । पक्राउ परेलगत्तै पोखरा पुर्याइएका लामिछाने अहिले कास्की प्रहरी हिरासतमा हुनुहुन्छ । लामिछाने पक्राउ परेलगत्तै रास्वपाका पदाधिकारी, केन्द्रीय समिति र देशभरका कार्यकर्ता पोखरा पुगेर निषेधित क्षेत्रभित्रै प्रदर्शन गरे । तर, पोखरामा विरोध प्रदर्शन कमजोर भएपछि रास्वपा अहिले काठमाडौं केन्द्रित सडक प्रदर्शनमा छ ।
लामिछाने पक्राउविरुद्ध विरोध प्रदर्शनमा रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गर्दै आएको छ । विरोधका क्रममा उनीहरूले प्रधानमन्त्रीको शवयात्रासमेत निकालेका छन् । मंगलबार पनि रास्वपाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरे । प्रदर्शनका क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नारा लगाएका छन् । एकातिर रास्वपाका नेता तथा कार्यकर्ताहरूले प्रधानमन्त्री, मन्त्री र सत्तारूढ दलका नेताहरूले राजनीतिक प्रतिशोध साँधेको भनेर आरोप लगाइरहेका छन् भने अर्कातिर न्यायिक प्रक्रियामा अगाडि बढिसकेको विषयमा प्रधानमन्त्री, गृहमन्त्रीसहित सत्तारूढ दलका नेताहरूसँग अनुनय विनयको दौडधुप गरिरहेका छन् ।
प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट
रास्वपा सभापति लामिछाने सहकारीको रकम हिनामिना र अपचलनको आरोपमा थुनामा रहेका बेला सोही पार्टीका नेताहरूले प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता गरेका छन् । लामिछानेको हाल पोखरामा बयान जारी छ । यसैक्रममा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डिपी) र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेट गर्नुभएको छ । गृहमन्त्री लेखकसँग अर्याल एक्लै सिंहदरबार पुगेर भेट्नुभएको थियो भने बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्न अर्याल र परियार दुवै जानुभएको थियो । उपसभापति अर्याल र प्रमुख सचेतक परियारले प्रधानमन्त्रीसँग भेट गरी रविको मुद्दा फिर्ता लिने वातावरण बनाइदिन आग्रह गरेको दाबी गर्दै बालुवाटार स्रोतले भनेको छ, ‘रास्वपाका नेताहरू डोलप्रसाद अर्याल र सन्तोष परियार सोमबार साँझ बालुवाटार आउनुभएको थियो । हाम्रो सभापतिमाथि राज्य पूर्वाग्रही भयो । केही न केही उपाय लगाएर मुद्दा फिर्ता लिने वातावरण बनाइदिनुपर्यो भन्ने आशय उहाँहरूको थियो । तर, प्रधानमन्त्रीले संसदीय समितिले भनेअनुसार सरकारले न्यायिक प्रक्रियालाई मात्रै अगाडि बढाएको भन्दै सरकारले त्यसलाई कार्यान्वयन नगरे संसद्को अनादर हुने जवाफ दिनुभयो । तपाईंहरूकै सदस्यसमेत रहेको समितिले सर्वसम्मत पारित गरेको विषय अगाडि बढाएको मात्रै हो भनेर पठाउनुभयो ।’
सोक्रममा, प्रधानमन्त्री ओलीले कुनै व्यक्ति विशेषमाथि छानविन गर्नेगरी संसदीय समिति बनाउन आफूले इच्छा व्यक्त नगरे पनि माओवादी र रास्वपाले नै स्वीकारेपछि समिति बनेको उल्लेख गर्नुभएको बालुवाटार स्रोतको भनाइ छ । प्रधानमन्त्रीविरुद्ध मुख छाडेर हिँड्ने, जिउँदोलाई मरेको घोषणा गर्ने र दाहसंस्कार गर्नेजस्तो निकृष्ट व्यवहार देखाएपछि रास्वपाको चौतर्फी आलोचना भइरहेको छ ।
रास्वपा नेताहरू बालुवाटार पुगेर रविलाई बचाउन हारगुहार गरे : रिजाल
नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्रीको दाहसंस्कार जस्तो अशोभनीय काम गर्नेहरू कुन मुख लिएर बालुवाटार पुगेको ? भन्दै प्रश्न उठाउनुभएको छ । रविलाई बचाइदिनु पर्यो भनेर हारगुहार गरे पनि मुद्दा फिर्ता लिन सम्भव नहुने जिकिर गर्दै रिजालले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘दिनभरि प्रधानमन्त्रीका विरुद्ध व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्नेजस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति-राति कुन मुख लिएर बालुवाटारमा कुरेर रविजीलाई बचाइदिनु प¥यो, लौ न भनेर हारगुहार गर्दा हुन् ? यति हेक्का राखे हुन्छ, राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानुनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेजस्तो मुद्दा फिर्ता सम्भव हुन्न ।’ मंगलबार बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गर्नेबारेमा कुराकानी गर्न भेट गरेको दाबी उपसभापति अर्यालले गर्नुभएको छ ।
९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार हामी दिन्छौँ : अर्याल
रास्वपा उपसभापति डोलप्रसाद (डिपी) अर्यालले ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार रास्वपाले दिने दाबी गर्नुभएको छ । मंगलबार बालुवाटारमा गरेको विरोध प्रदर्शनका क्रममा अर्यालले भन्नुभयो, ‘सरकारले प्राधिकरण बनाओस् त्यसमा हामीलाई पनि राखोस् । सबै त भन्दिनँ तर, ९० दिनभित्र बचत फिर्ता गर्ने आधार हामी दिन्छौँ । पाँच लाख मुनिको बचत फिर्ता गर्ने आधार आफूहरूले गएको बजेटमै दिएका छौँ ।’
अहिलेसम्मका भ्रष्टाचारको निष्पक्ष छानविन गरिछाड्छौँ : वाग्ले
रास्वपाका अर्का उपसभापति स्वर्णिम वाग्लेले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानविन गर्ने दाबी गर्नुभएको छ । समितिमा आनन्द मोहन भट्टराई, ईश्वर खतिवडा जस्ता न्यायाधीशहरूलाई सहभागी गराउने उहाँको दाबी छ । सरकार दल फुटाउने विधेयक ल्याएर साना दल फुटाएर रवि लामिछानेलाई सिध्याउने ध्यानमा रहेको उहाँको आरोप छ । वाग्लेले सरकार आफूहरूलाई थर्काउने/धम्काउने गलाउने रणनीतिमा लागेको आरोप लगाउँदै वाग्लेले भन्नुभयो, ‘धनराज गुरुङ र ऋषिकेश पोखरेल जस्तालाई उन्मुक्ति दिने । जिबी राईको सल्लाहकार राष्ट्रपतिका सल्लाहकार छन् । उहाँहरूलाई उन्मुक्ति दिने रविलाई हिरासतमा राख्ने ठिक छैन । रविलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोध हो । आफूहरूले अवसर पाए सहकारी बचतकर्ताको बचत फिर्ता गर्छांै ।’
शान्तिपूर्ण आन्दोलनलाई प्रहरी प्रशासन लगाएर दबाउन खोजियो : श्रेष्ठ
रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले सरकारविरुद्धको आन्दोलन कमजोर बनाउन सत्ताले प्रयास गरिरहेको टिप्पणी गर्नुभएको छ । उहाँले सरकारको रवैयाविरुद्ध सशक्त प्रतिरोध गर्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ । आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले प्रहरी प्रशासन लगाएर दबाउन खोजेको आरोप लगाउँदै श्रेष्ठले भन्नुभयो, ‘तपाईँहरूले सक्दै सक्नुहुन्न यो प्रतिरोधलाई दबाउन सक्दै सक्नुहुन्न । हामीलाई तर्साउन गलाउन र कमजोर बनाउन तथा फुटाउने प्रयास यिनीहरूले गर्छन् । हाम्रै दाजुभाइ दिदीबहिनी प्रयोग गरेर तर्साउँछन् यसको प्रतिरोध गर्नुपर्छ ।’
सन्तोष परियारको चेतावनी- ‘हिजो राजाको शासनमा ढुंगा हानेका हात हुन्’
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले शान्तिपूर्ण प्रदर्शनमा सरकारले बल प्रयोग गरेको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलबार बालुवाटारमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै परियारले भन्नुभयो, ‘हाम्रो अनुशासनलाई बुझ्नुस्, धेरै धाकधम्की नदेखाउनुस्, बल प्रयोग नगर्नुस्, हाम्रा केही साथीहरूलाई घरपकड भयो । स्मरण रहोस्, न्यायका लागि हिजो राजाको प्रत्यक्ष शासन सत्तामा ढुंगा हान्ने हातहरू यिनै हुन् ।’
रास्वपाको आन्दोलनमा राष्ट्रिय झण्डाको दुरुपयोग
सहकारी ठगी मुद्दामा पक्राउ परेर हाल कास्की प्रहरीको हिरासतमा रहनुभएका रवि लामिछाने पक्राउविरुद्ध रास्वपा सडक प्रदर्शनमा छ । रविलाई न्याय दिनुपर्छ भन्दै रास्वपा कात्तिक ३ गतेदेखि सडक प्रदर्शनमा केन्द्रित छ । प्रदर्शनका सुरुका दिनमा रास्वपाले पार्टीको झण्डा प्रयोग गरेको थियो । तर, पोखरा केन्द्रित आन्दोलन प्रभावकारी नभएपछि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको रास्वपाले पार्टीको झण्डा छाडेर विरोध प्रदर्शनमा राष्ट्रिय झण्डाको प्रयोग गरेको छ । रास्वपाले मंगलबार सडक आन्दोलन गर्दा पनि बालुवाटारमा सहभागीको हातमा राष्ट्रिय झण्डा देखिएको छ । उक्त प्रदर्शनमा घण्टी अंकित झण्डा भने देखिएन । विरोध प्रदर्शनमा पार्टीको झण्डाको सट्टा राष्ट्रिय झण्डाको प्रयोग गरेपछि आलोचनासमेत सुरु भएको छ । आन्दोलनमा आम जनतालाई सहभागी गराउन राष्ट्रिय झण्डाको प्रयोग भएको स्वीकार गर्दै रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले भन्नुभयो, ‘यो पार्टीका लागि गरिएको आन्दोलन होइन । समग्र जनताका लागि गरिएको आन्दोलन हो । यहाँ रास्वपा कार्यकर्ता मात्र होइन सर्वसाधारण जनता जो न्यायको पक्षमा हुनुहुन्छ उहाँहरूको पनि उपस्थिति छ । जो सरकारसँग असन्तुष्ट हुनुहुन्छ सरकारको रवैया र क्रियाकलापप्रति असन्तुष्ट हुनुहुन्छ र उहाँहरूलाई सहभागी हुन सहज होस् भनेर राष्ट्रिय झण्डाको प्रयोग भएको हो ।’
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गर्यो : रास्वपा
रास्वपाले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लगाएको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा मंगलबार बालुवाटरमा भएको प्रदर्शनका क्रममा आफ्ना नेता कार्यकर्ता पक्राउ परेको भन्दै रास्वपाले भत्र्सना गरेको छ । कार्यवहाक महान्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन लोकतान्त्रिक मूल्य मान्यताको चरम उल्लंघन हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच