काठमाडौं । न्युजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेलेइनले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्नुहुने भएको छ । न्युजिल्याण्डका लागि टेस्ट, ओडिआई र टी-२० आई तीनै फम्र्याटमा खेल्नुभएका स्कटले पछिल्लो पटक यसै वर्ष मार्चमा अष्ट्रेलियाविरुद्ध टेस्ट खेल्नुभएको थियो । उहाँको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ । ‘स्कट जस्तो अनुभवी खेलाडीको आगमनले रोयल्स टिममात्र नभएर समग्र नेपाली क्रिकेटलाई फाइदा पुग्ने विश्वास हामीले राखेका छौँ,’ सुदूरपश्चिम रोयल्सले जनाएको छ ।
तीव्र गतिको बलिङ गर्ने स्कटसँग तल्लोक्रममा ठूला सट खेल्ने क्षमता छ । स्कटसँग विश्वका क्रिकेटको शीर्ष फ्रेन्चाइज लिग खेलेको अनुभव छ । उहाँले सन् २०११ देखि प्रथम श्रेणी क्रिकेट खेल्दै आउनुभएको छ ।
टी-२० क्रिकेटमा २६ को औसतले १६८ विकेट लिनुका साथै ब्याटिङतर्फ १३४ को स्ट्राइक रेटले एक हजार २२ रन स्कटको नाममा छ । यसबाहेक प्रथम श्रेणी क्रिकेटमा उहाँले २७ को औसतमा रन जोड्दै चार शतक र १८ अर्धशतक प्रहार गर्नुभएको छ ।
रोयल्सले यसअघि विदेशी खेलाडीका रूपमा स्कटल्याण्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हज प्रमुख मेन्टरमा हुनुहुन्छ । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहनुभएको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत् टमाटा हुनुहुन्छ ।
रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट पनि गर्दैछ । रोयल्सले कात्तिक २८ गते गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र चार सुदूरपश्चिम हिरोज छनोट गर्नेछ । छनोट कार्यक्रम धनगढीमा हुनेछ । आइकोनिक खेलाडी रोयल्सको एनपिएल टोलीमा समावेश हुनुका साथै चार हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षण गर्नुहुनेछ । छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आठ टोलीको सहभागितामा मंसिर १६ गतेदेखि एनपिएल सुरु हुनेछ । सुदूरपश्चिम रोयल्समा हालसम्म दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन र सेफ अलि जेब अनुबन्ध भइसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच