काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७० हजार सात सयमा कारोबार भयो । सुनको यो मूल्य हालसम्मकै उच्च हो । बजारमा सुनको मूल्य आकाशिँदै गर्दा राजनीतिक दलका नेताहरूको सुन मोह भने घटेको छैन । उदाहरणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको सार्वजनिक भएको सम्पत्ति विवरण मात्रै हेर्दा पुग्छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेभसाइटबाट सार्वजनिक विवरण अनुसार प्रदेश सरकारका नौ जनासँग कम्तीमा ४४७ तोला सुन रहेको छ । जसको नेपाली बजारमा बुधबारको भाउअनुसार सात करोड ६३ लाख दुई हजार नौ सय मूल्य पर्दछ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग जम्मा ४५ तोला सुन रहेको छ । उहाँसँग सात सय तोला चाँदी, दुईवटा हिरा सेट र एउटा मोती सेट रहेको छ । गण्डकी सरकारका सबैभन्दा धनाढ्य मानिएका मन्त्री विन्दुकुमार थापासँग कुल १६० तोला सुन रहेको छ । जसको बजार मूल्य दुई करोड ७३ लाख १२ हजार रुपैयाँ पर्दछ । थापासँग ५७० तोला चाँदी र २० सेट हिरा पनि रहेको छ । अघिल्लोपटक कानूनमन्त्री हुँदा पनि थापाले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको थियो । त्यसयता उहाँसँग ७० तोला सुन थप भएको विवरणमा देखिन्छ ।
भौतिकमन्त्री प्रकाशबहादुर केसीसँग ९५ तोला सुन छ । जसको बजार मूल्य कम्तीमा एक करोड ६२ लाख १६ हजार पाँच सय पर्दछ । उहाँसँग डेढकिलो चाँदी र ६ सेट हीरा पनि छन् । वनमन्त्री भेषबहादुर पौडेलसँग ८० तोला सुन र ६० तोला चाँदी छ । प्रदेश सरकारमा रहनुभएकी एक मात्र महिला मन्त्री पद्मा जिसी श्रेष्ठसँग ३१ तोला सुन र २८५ तोला चाँदी रहेको छ । ऊर्जामन्त्री फणिन्द्र देवकोटाले आफूसँग १० देखि १२ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नभएको छ । आर्थिक मन्त्री डा.टकराज गुरुङसँग १० तोला सुन र १० तोला चाँदी रहेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक र उद्योगमन्त्री मित्रलाल बस्याल दुवैजनाले आफूसँग आठ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।
गण्डकी प्रदेशका सबैजसो मन्त्री धनाढ्य र सुनचाँदीमा विशेष रुचि भएका देखिन्छन् । मुख्यमन्त्री पाण्डेसहित सबैसँग घर, जग्गा, गाडी र बैंक ब्यालेन्सका अत्तिरिक्त विभिन्न कम्पनीहरूमा सेयर लगानी रहेको सम्पत्ति विवरणबाट देखिन्छ । राजनीतिलाई विशुद्ध समाज सेवा भनिने गरे पनि पछिल्लो समय व्यापारिक व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरू राजनीतिमा स्थापित हुने क्रम बढ्दो छ । सम्पत्ति सकेर राजनीतिमा होमिनेभन्दा सम्पत्ति थप्दै राजनीति गर्नेहरूले अवसर पाउने क्रमसमेत बढ्दा करोडपछि घटीका मन्त्री भेट्न संघदेखि प्रदेशसम्म सबैतिर मुस्किल छ । गण्डकी सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भए पनि संघीय सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण भने अझै सावर्जनिक भएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच