सिटीको सहज जित

हिमालय टाइम्स
Read Time = 3 mins

लण्डन । नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको सानदार प्रदर्शनमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिड्समाथि ३-१ को सहज जित हात पारेको छ । सिटीको जितमा हालान्डले दुई तथा रोड्रीले एक गोल गर्नुभयो । लिड्सका पास्कल स्ट्रुजिकले एक गोल फर्काउनुभयो । पहिलो हाफको इन्जुरी समयमा रोड्रीले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाउनुभयो । ५१औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पार्नुभयो । त्यसपछि ६४औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्नुभयो । ७३औँ मिनेटमा पास्कलले गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याउनुभयो ।

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको सिटीले शीर्षस्थानको आर्सनलमाथि दबाब बढाएको छ । सिटीको १५ खेलबाट ३५ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको आर्सनलको ४० अंक छ । पराजित लिड्स १५ अंक जोडेर १५औँ स्थानमा छ ।

यता, फ्रेन्च लिग वानमा ब्राजिली फरवार्ड नेयमार जुनियरले रातो कार्ड खाएको खेलमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्ट्रासबर्गमाथि २-१ को जित हात पारेको छ । पिएसजीको जितमा मार्किन्हस र केलियन एमबाप्पेले गोल गर्नुभयो । स्ट्रासबर्गले उपहार गोल पाएको थियो ।

खेलको १४औँ मिनेटमा मार्किन्हसले गोल गर्दै पिएसजीलाई १-० को अग्रता दिलाउनुभयो । ५१औँ मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा आयो । त्यसपछि दुई मिनेटको अन्तरमा दोहोरो पहेंलो कार्ड खाँदै नेयमार मैदानबाट बाहिरिँदा पिएसजी दबाबमा परेको थियो । त्यसपछि इन्जुरी समयको थप गरिएको छैटौँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई २-१ को रोमाञ्चक जित दिलाउनुभयो ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको १६ खेलबाट ४४ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको लेन्सको ३६ अंक छ । पराजित स्टार्सवर्ग ११ अंक जोडेर १९औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?