हेटौंडा । नेपालीहरुको महान् पर्व दशैं र तिहार सकिएसँगै हेटौंडामा छठको रौनक छाएको छ । तराई मधेशमा निकै महत्वकासाथ मनाइने छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रका हिन्दु धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन् ।
छठ पुजाका लागि हेटौंडाको राप्तीतटमा पनि विभिन्न किसिमका बत्ती र झिलीमिलीले सजाइएको छ । छठ पुजा समारोह समिति सचिव नन्दलाल दास छठ पुजा मधेशमा मात्र नभइ पछिल्लो समय सबै हिन्दु धर्मावलम्बीको विशेष पर्व बन्दै गएको बताउनुभयो । छठ पुजालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको छ । पछिल्ला वर्षहरु भन्दा यस वर्ष छठ पुजा गर्नेको संख्या बढ्ने अनुमानसाथ सोहीअनुसार तयारी गरिएको दासले बताउनुभयो । अघिल्लो वर्ष करिब ६० हजारले पूजा अवलोकन गरेको उहाँले बताउनुभयो ।
अघिल्लो वर्ष भन्दा यस वर्ष भक्तजन र अवलोकन गर्न आउनेको संख्या दोब्बर हुने अनुमान रहेको र त्यहीअनुसार व्यवस्थापन गरिएको छ । अघिल्लो वर्ष ६ फिटको पण्डाल बनाइएको तर यस वर्ष साढे ६ फिटको पण्डाल बनाइएको उहाँले बताउनुभयो । छठी माईको पुजा गरेपछि मनले चिताएको पूरा हुने आस्थाले तीन दिनसम्म पानीसमेत नखाइ व्रत बस्ने र तीन दिनको दिन विहान सूर्यलाई अर्घ्य दिएर व्रत सक्ने परम्परा छ । छठ पुजा सजावट कार्यका लागि हेटौंडास्थित सुपारेटार ब्यारेकका नेपाली सेनाको सहयोग रहेको उहाँले बताउनुभयो ।
राप्तीतटमा हेटौंडामा रहेका अस्पताललाई स्वास्थ्य शिविरका लागि पत्र पठाइएको र शिविर राख्ने जानकारी पाएको उहाँले बताउनुभयो । भिड बढ्ने हुँदा सुरक्षाका लागि सुरक्षाकर्मी खटाइने पनि उहाँले बताउनुभयो ।
लोकआस्थाको महापर्व छठको दोस्रो दिन हिजो व्रतालुले 'खरना’ विधि गरेका छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मंगलबार 'नहाय-खाय’ सम्पन्न गरेका व्रतालुले कार्तिक शुक्ल पञ्चमी तिथिका दिन 'खरना’ गरेका हुन् ।
हिजो विहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खीर कुलदेवता र छठी देवीलाई चढाइ व्रतालुले त्यही खीर खाएका छन् । यस विधिलाई 'खरना’ भनिन्छ । श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको 'खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मंसिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खीर केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रुपमा खाने गर्छन् । दिनभरि उपवास गर्ने व्रतालुले सूर्यास्तपछि चन्द्र दर्शन गरेर यस विधि सम्पन्न गरेका छन् ।
पर्वको तेस्रो दिन आज कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख व्रतालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा 'सझुका अरख’ वा 'सझियाघाट’ भन्ने गरिएको छ ।
सप्तमीका दिन विहान व्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा 'भोरका अरख’ वा 'पारन’ भनिन्छ । अर्घ्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्ठान्न परिकार र केरासहितका फलफुल सूर्यदेवलाई देखाउने चलन छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठेकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठेकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी-जाँतोमा कुटिएको, पिसिएको पिठोबाट तयार गरिन्छ । पर्वमा अर्घ्य दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वसाथ लिने गरिएको छ ।
केही वर्ष पहिलेसम्म मधेशी मुलका हिन्दुले मात्र मनाउँदै आएका यस पर्व अब पर्वते मुलका हिन्दु पनि बाक्लै मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले समेत व्रतालुलाई अर्घ्यका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन् । यसले छठ पर्वलाई साझा बनाएको छ । यस पर्वमा सबै धर्म, संस्कृति र वर्ग/तप्का सामेल हुने हुनाले याे पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अंग बनेको हेटौंडाका संस्कृतिविद् रामचन्द्र आचार्य बताउँनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच