
नेपाली कला क्षेत्रमा सरिता राजोपाध्याय चिरपरिचित नाम हो । ललितपुरमा स्थायी घर हुनुभएकी उहाँले कला क्षेत्रमा आफ्ना कर्महरू निरन्तर पस्किरहनुभएको छ । उहाँको ‘बुहारी’ सिरियल यतिबेला दर्शकमाझ आइरहेको छ । विगत २२ वर्षदेखि निरन्तर कला क्षेत्रमा रहेर आफ्ना क्रियशन दर्शकमाझ पस्किरहनुभएकी सरिता आफ्नो सानैदेखिको चाहनाले यो क्षेत्रमा होमिएको बताउनुहुन्छ । आफ्नो अन्तिम श्वाससम्म कला क्षेत्रमा नै लाग्ने प्रतिज्ञा गर्नुभएकी उहाँको अभिनय रहेका चलचित्रमा ‘बाचा, रुद्र, कुसुमे रुमाल २, देवी, नालापानी, अनुराग, महापुरुष, पसिना, वीरबिक्रम २, हृयारी कि प्यारी, शिवा, दानवीर, पाइला, निर्भय, लभ स्टेसन, राजारानी, अनुराग, उपहार’ लगायतका रहेका छन् । उहाँले नेपाली चलचित्रका अतिरिक्त भोजपुरी सिनेमामा पनि अभिनय गर्नुभएको छ । उहाँले भोजपुरी सिनेमा ‘छोरी अगती छोरा भगती, चक्रव्युह’ लगायतमा अभिनय गर्नुभएको छ । यस्तै, उहाँले दुई दर्जन जति गीतका भिडियोमा अभिनय गर्नुभएको छ । विभिन्न विज्ञापनमा पनि अभिनय गर्नुभएकी सरिताले दुई दर्जनभन्दा बढी लघु चलचित्र र दुई दर्जनकै हाराहारीमा सडक नाटकका साथै डेढ दर्जन जति सामाजिक चलचित्रमा अभिनय गर्नुभएको छ । सायद आफ्नो जन्म कलाकारिता क्षेत्रका लागि भएको बताउनुहुने कलाकार सरिता राजोपाध्यायसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
कला क्षेत्रमा कसरी आउनुभयो ?
सानोदेखि नै नाटक, गीत र अभिनयमा रुचि भएरै स्कुलमा पनि विभिन्न कार्यक्रममा भाग लिने गर्थेँ । गीत सुन्ने, नाटक सुन्ने र सिनेमा हेर्न पनि त्यत्तिकै रुचि थियो र विस्तारै विस्तारै कला क्षेत्रमा रुचि बढ्दै थियो तर पनि अभिनयमा सामेल हुन सकिरहेकी थिइनँ । स्टेजबाहेकमा मौकाको खोजीमा थिएँ । अभिनय यात्रामा अगाडि बढ्न चाहेर पनि निकै गाह्रो थियो । किनकि घरमा अथवा आफ्नो वरपर कसैले पनि अभिनयमा गएको मन पराउनुहुन्नथ्यो । नेपाली कलाकारितामा काम गर्छु भनेर मैले भन्न सक्ने त कुरै भएन । फेरि सानोमा विवाह भयो र कान्छो छोरा दुई वर्ष पुगेपछि अब मेरो इच्छा पूरा गर्छु भनेर मेरो श्रीमान् हरिमुकुन्द राजोपाध्यायजीसँग सल्लाह गरेँ र उहाँले अनुमति दिनुभयो । यहीबीचमा म हाम्रो नजिकको दिदीको घरमा पुगेँ । त्यहाँ ‘द काठमाडौं’ भन्ने सिरियलको छायांकन भइरहेको देखेँ र दिदीकी छोरीलाई भनेँ, ‘मलाई पनि सिरियलमा काम गर्ने इच्छा छ ।’ त्यतिबेला मेरो उमेर २३ वर्ष भइसकेको थियो । दिदीकी छोरीको साथी संगीताजी हुनुहुन्थ्यो । उहाँसँग मेरो कुरा भएछ । त्यतिबेला ‘जीवन चक्र’ सिरियलमा पाँच भागमा काम गरेँ । यहीँबाट मेरो अभिनय यात्रा सुरु भयो ।
कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
म यस्तै विसं २०६० सालदेखि कलाकारितामा अनवरतरूपमा लागिरहेकी छु । यो क्षेत्रमा लाग्नु भनेको नै आफूले गरेका कामहरू आफू नरहे पनि आफ्नो कामले अरूलाई राम्रो कुरा सिकाउन सकियोस् र आफूले सिक्न सकियोस् भन्ने नै हो । हुन त जिन्दगी बाँचुञ्जेलसम्म जे जति हुन्छ ती सबै सिकाइ नै हुने रहेछन् भन्ने कुरा अहिले आएर थाहा पाएँ ।
यो क्षेत्र मेरो अन्तरआत्मादेखि नै रुचिको विषय भएकाले हर कष्ट, हर दुःख, हर मुस्किललाई पार गर्दै हावाहुरी, पानीझरी, खाइनखाइ, कहिले हाँसेर, कहिले आँखामा आँशु लुकाएर यही कलाकारितामै छु । यसमा मैले आत्मा सन्तुष्ट पार्ने प्रयास गरेकी छु । नाम, माया र शुभचिन्तक कमाएकी छु । सरिता राजोपाध्याय भनेर, कलाकार भनेर चिनिने प्रयास गरेकी छु । यो सब मलाई कलाकारिताले नै दिएको हो ।
यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
पछिल्लो समय म ‘बुहारी’ सिरियलमा व्यस्त छु र ‘बुहारी’ सिरियलकै अर्को प्रोजेक्टको तयारी हुँदैछ ।
यहाँलाई चलचित्र, सिरियल, गीतका भिडियो, नाटक र सामाजिक चलचित्रमा अभिनय गरेको पाइन्छ, अहिलेसम्म कति जतिमा अभिनय गर्नुभयो होला ?
विगत २२ वर्षदेखि निरन्तर कला क्षेत्रमा छु । आफ्नो अन्तिम श्वाससम्म कला क्षेत्रमा नै लाग्ने प्रतिज्ञा छ मेरो । मैले अभिनय गरेका चलचित्रमा ‘बाचा, रुद्र्र, कुसुमे रुमाल २, देवी, नालापानी, अनुराग, महापुरुष, पसिना, वीरविक्रम २, हृयारी कि प्यारी, शिवा, दानवीर, पाइला, निर्भय, लभ स्टेसन, राजारानी, उपहार’ लगायतका छन् । यस्तै भोजपुरी सिनेमा ‘छोरी अगती छोरा भगती, चक्रव्युह’ लगायतका छन् भने दुई दर्जन जति गीतका भिडियो, विभिन्न विज्ञापन, दुई दर्जनभन्दा बढी लघु चलचित्र र दुई दर्जनकै हाराहारीमा सडक नाटकका साथै डेढ दर्जन जति सामाजिक चलचित्रमा अभिनय गरेकी छु ।
‘बुहारी’ सिरियलमा तपाईंको चरित्रलाई दर्शकले निकै रुचाएका छन् नि, कस्तो लाग्छ ?
यहाँले भने जस्तै ‘बुहारी’ सिरियलमा रहेको मेरो चरित्र दर्शकले मन पराउनुभएको छ । सबैतिर श्रुति क्यारेक्टर रुचाइएको कुरा सुन्दा धेरै खुसी लाग्छ । यसका लागि विशेषतः ‘बुहारी’ सिरियलका निर्देशक, लेखक, कलाकार रामचन्द्र बोहरा सर र चिफ एसिस्टेन्ट महेशजंग थापा, लक्ष्मी गिरी आमालगायत सम्पूर्ण सहकर्मीज्यूहरूप्रति आभारी छु । मेरो यो क्यारेक्टरका लागि मैले मात्र नभएर सबैले एकदमै मिहिनेत गर्नुभएको छ, सबैप्रति आभारी छु । सम्पूर्ण शुभचिन्तक र भगवान्रूपी दर्शकज्यूहरूमा नमन ।
कलाकारका पर्दापछाडिका दुःखहरू के-कस्ता हुन्छन् ?
कलाकारका पर्दापछाडिका दुःख त...। जसरी कलाकार देखिन्छ, चिनिन्छ, धेरै गुना दुःख हुन्छ नि । आफ्नो घरको खाना, आफ्नो बेड, आफ्नो अनुकूलता, आफ्नो पर्सनल लाइफ र आफ्नो आफन्त हर कुरामा चाहिएको बेलामा आफू उपस्थित हुन सकिन्न, उहाँहरूलाई समय दिन सकिन्न । जस्तो बुझिन्छ, कलाकारको लक्जरी लाइफ देखिन्छ त्यो त्यति हुँदैन । काम र कामप्रति ध्यान हुन्छ । राम्रो काम गर्ने, हरकसैको कामप्रति सिनसियर हुन्छौं । रमाइलो गर्ने घुम्ने भनेर देखिन्छ । तर, कामको एकदम प्रेसर हुन्छ । यतिसम्म प्रेसर हुन्छ कि कहिलेकाहीँ आफ्नो सिन हुँदाहुँदै समय नपुगेर अर्को दिन बाँकी रहेको सिन गर्दा कन्टिन्युटी जर्क हुँदा मरेतुल्य होइन्छ । काम हाम्रा लागि काम हुँदैन भगवान् हुन्छ, हाम्रो साधना, तपस्या हुन्छ । हाम्रा लागि हाम्रो काम जिन्दगी हुन्छ तर कहिलेकाहीँ सानो कुरा भुल्दा साह्रै लाजमर्दो हुन्छ । त्यतिखेर मन साह्रै रुन्छ । होप्लेस होइन्छ ।
यो क्षेत्रमा लागेर के पाए, के गुमाए जस्तो लाग्छ ?
यो क्षेत्र मेरो अन्तरआत्मादेखि नै रुचिको विषय भएकाले हर कष्ट, हर दुःख, हर मुस्किललाई पार गर्दै हावाहुरी, पानीझरी, खाइनखाइ कहिले हाँसेर, कहिले आँखामा आँशु लुकाएर यही कलाकारितामै छु । यसमा मैले आत्मा सन्तुष्ट पार्ने प्रयास गरेकी छु । नाम, माया र शुभचिन्तक कमाएकी छु । सरिता राजोपाध्याय भनेर, कलाकार भनेर चिनिने प्रयास गरेकी छु । यो सब मलाई कलाकारिताले नै दिएको हो ।
यो क्षेत्रमा नआएको भए ?
सायद मेरो जन्म यही क्षेत्रका लागि भएको हो । मलाई अरू काम गर्न मन लाग्नुपर्ने हो नि, अरूको जस्तो धेरै पैसा पैसा भनेर पैसा नै कमाउन कुनै व्यवसाय गर्थें । पार्लर कस्मेटिकको व्यापारी हुने थिएँ । किनकि मैले ब्युटिसियनको एड्भान्स कोर्स गरेकी छु । तर, मलाई त्यतातिर मन लागेन ।
तपाईंको रुचि ?
मेरो रुचि नै सिनेमा हेर्ने, नाटक हेर्ने रहेको छ । नेपालको अधिराज्यभर घुम्ने, सबै ठाउँमा नजिक गएर हेर्ने, बुझ्ने यस्तै ।
कलाकारिता क्षेत्रमा महिला भएकै कारण हिंसा सहनुपरेको छ कि ?
महिला भनेको धेरै शक्तिशाली मान्छे हो । म के चाहन्छु त्यो मैले बुझ्नुपर्छ । म धेरै महत्वाकांक्षी भएँ भने गलत बाटो हिँड्न सक्छु । त्यसैले महिला दिदीबहिनी, छोरी सबैले हर ठाउँमा सचेत भएर अगाडि बढ्नुपर्छ । अगाडि बढ्नका लागि के कस्तो कम्प्रमाइज गर्ने त्यो व्यक्तिगत कुरा हो । तर, मलाई त्यस्तो अप्ठ्यारो आएन, आयो भने पनि म सचेत छु यस्ता कुरामा । किनकि मेरो बाध्यता होइन काम । मेरो काम नै आत्मा सम्मान हो, तागत हो । स्वाभिमानी आत्मा हो । यो आत्मालाई म सदैव सम्मान गर्दछु ।
महिला र पुरुष कलाकारलाई पारिश्रमिकमा विभेद गरिन्छ रे नि ?
काम र काम गराइ र काम गर्ने मान्छेमा भर पर्छ । पारिश्रमिकका लागि कहाँ कस्तो काम गर्ने, कस्तो प्रोजेक्टमा काम गर्ने भन्ने चाहिँ आफैंले निर्णय गर्नु सक्नुपर्छ । मलाई त्यस्तो समस्या भएन । मैले पाउने काम र पारिश्रमिकमा समस्या भएन । कतैकतै सहयोगका लागि पनि काम गरियो, कतैकतै सम्बन्धका लागि काम गरियो, नत्र त्यस्तो अप्ठेरो परेको छैन ।
अन्त्यमा ?
धेरै धेरै धन्यवाद, मेरो बारेमा बुझ्ने र लेख्नका लागि मलाई छान्नुभयो । मेरो बारेमा कति कुराहरू सानो बेलाको कुरा याद आउँदा म भावुक पनि भएँ । अनमोल समय आएर पनि जान खोज्दै रहेछ । मलाई माया गर्नुहुने चिरपरिचित हजुरहरूमा आभारी छु । तपाईं (गीता) मेरो जीवनमा, मेरो करियरमा भुल्न नसक्ने नाम पनि हो । रामेश्वर शुक्ला सर, घनश्याम गौतम सर, युग ज्योति, हरिमुकुन्द राजोपाध्याय, अभिषेक, आशुतोष, ज्ञानु, रोश्ना, विजय, लक्ष्मीका साथै मेरो करियरमा विभिन्न कुरामा साथ सहयोग हौसला दिँदै अगाडि बढ्न मद्दत गर्ने, मेरा आत्मीय सम्बन्धहरू उहाँहरू सबैप्रति सदैव नतमस्तक छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच