काठमाडौं । चौधरी ग्रुपले आर्थिक वर्ष २०८०/०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रुपैयाँ कर तिरेको छ । जुन सरकारको कुल राजस्वमा करिब दुई प्रतिशत (१.९६ प्रतिशत) योगदान भएको बताइएको छ । चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको उक्त योगदान सबैभन्दा उच्च रहेको ग्रुपको जिकिर छ ।
ग्रुपका अनुसार आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यावसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ । आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान भने गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/०८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक वर्षमा राजस्वमा पुर्याएको योगदान दुई अर्ब ३८ करोडले बढी छ । आर्थिक वर्ष २०७९/०८० मा ग्रुपले १६ अर्ब १४ करोड रुपैयाँ कर तिरेको थियो ।
‘आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान भने गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ ।’
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भन्नुभयो, ‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूल वातावरणबीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउन सकेकोमा हामीलाई खुसी लागेको छ । यसले देशको विकास निर्माण र आमनागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ । राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौँ ।’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले स्थापित एवं नयाँ व्यवसाय वृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको बताउनुभएको छ । ‘हामीले प्रत्येक वर्ष राजस्वमा योगदान बढाउँदै लगेका छौँ र आगामी वर्षहरूमा पनि यो वृद्धिदर कायम राख्ने हाम्रो लक्ष्य छ,’ प्रबन्ध निर्देशक चौधरीले भन्नुभयो, ‘चौधरी गु्रपले नेपाललाई आफ्नो प्रमुख प्राथमिकतामा राखी लगानीको दायरा विस्तार गर्दै आएको छ । हामीले पूर्वाधार र नयाँ प्रविधिमा आधारित व्यवसायमा लगानी गरिरहेका छौँ । यसबाट राष्ट्रको समग्र आर्थिक विकासमा योगदान पुग्ने हाम्रो विश्वास छ ।’
नेपालमा व्यावसायिक ग्रुपहरूले सरकारको राजस्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजस्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको जनाएको छ । करदाताका रूपमा व्यवसायमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । जसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिँदै आएको छ । उक्त दुविधा अन्त्य गर्न र आफूले राजस्वमा गरेको योगदान आमजनमानसबीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यावसायिक ग्रुपका हैसियतमा चौधरी ग्रुपले प्रत्येक वर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्दै आएको जनाएको छ ।
साथै व्यावसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पुर्याइएको योगदानको वास्तविक तथ्य आमजनमानससमक्ष राख्न सरकारीस्तरबाटै व्यावसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउन पनि ग्रुपले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ । चौधरी ग्रुपका प्रवक्ता मधुसुदन पौडेलद्वारा जारी विज्ञप्तिका अनुसार गत पाँच वर्ष चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७६/७७ मा नौ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड, २०७९/८० मा १६ अर्ब १४ करोड, २०८०/८१ मा १८ अर्ब ५२ करोड कर दाखिला गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच