नेपालको लोकतान्त्रिक आन्दोलनमा अनेक व्यक्तित्वहरूको योगदान प्रत्यक्ष अप्रत्यक्ष छ । विचारकासाथ लोकतन्त्रको आन्दोलनमा लाग्नु, विचार अनुसारको लोकतान्त्रिक हुनु, र लोकतन्त्रको संस्कृति वरण गर्दै त्यसको विकास गर्न सक्रिय हुनु एउटै दर्शन र आन्दोलनका फरक व्यवहार हुन् । दशकमा एक वा केही मानिस हुन्छन् जो लोकतान्त्रिक मर्यादालाई निष्ठा सम्झिन्छन् र त्यसको अनुशरण गर्दछन् । दमननाथ ढुंगानाको नाम त्यही निष्ठाकासाथ लोकतन्त्रको साधकका रूपमा लिइनेछ । बौद्धिक हुनुमात्रै पर्याप्त हुँदैन, त्यो बौद्धिकतालाई महिमामण्डित गर्ने क्षमता आवश्यक हुन्छ । दमननाथ ढुंगानामा त्यो क्षमता थियो भन्ने आमजानकारी छ । अब दमननाथ ढुंगाना इतिहासको एक कालकराल गर्तमा प्रवेश गरिसक्नु भएको छ । भविष्यमा लेखक र अनुसन्धान गर्नेहरूका लागि एउटा जीवन्त समयको साक्षी र विषय भएर स्मृतिमा रहनुहुनेछ ।
समकालीन नेपाली राजनीतिमा धेरैजना दमननाथ पुस्ताका हुनुहुन्छ । जो सत्ता, शासन, पद र पैसाको जालोमा निरन्तर अल्झिरहनु भएको छ । कतिपय अपसंस्कृति र विवादको बिम्ब बन्नु भएको छ । वर्तमानको त्यस बिम्बले उहाँहरूको प्रकाशपूर्ण विगतलाई अन्धकारमा पुरिदिएको छ । तर, दमननाथ ढुंगाना प्रदीप गिरिहरूको नाम एउटा विशिष्ट मानक भएर स्थापित भएको छ । दुर्भाग्यबस प्रदीप गिरि केही वर्ष पहिले नै देहमुक्त हुनुभयो भने हामीले दमननाथ ढुंगानालाई अहिले गुमाएका छौं । यद्यपि आठदशक निष्कलंक जीवन व्यतीत गर्नु सामान्य कुरा होइन । आठदशकमध्ये करिब ६ दशक पूर्ण लोकतान्त्रिक आन्दोलनमा समर्पण गर्नु आफैंमा असामान्य कुरा हो । दमननाथ ढुंगानाले ०१७ पछिको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्नु भएको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनको युवा मियो नेपाल विद्यार्थी संघको स्थापनामा उहाँको महत्वपूर्ण भूमिका थियो । आज नेपाली कांग्रेसको स्थापित शीर्ष नेतृत्वमा नेपाल विद्यार्थी संघकै स्थापनाकालीन नेताहरू रहेका छन् । रामचन्द्र पौडेल, शेरबहादुर देउवासहित अनेक नेताहरू नेपाल विद्यार्थी संघबाट राष्ट्रिय राजनीतिमा समाविष्ट हुन्, सहभागी भएका हुन् । लोकतान्त्रिक राजनीतिमा बौद्धिक, समन्वयकारी नेताका रूपमा दमननाथको नाम सम्मानपूर्वक लिइने गरिएको छ ।
निर्दलीय पञ्चायतविरोधी आन्दोलनमा दमननाथहरू अहिंसात्मक जनपरिचालनका पक्षमा रहनु भए पनि नेपाली कांग्रेसले चालेका हरेक आन्दोलनको सहयोगी हुनु भएको स्पष्ट छ । ढुंगानालाई कानुन व्यवसायी, मानव अधिकारवादी, लोकतान्त्रिक आन्दोलनको एक स्तम्भ र साहित्यकारका रूपमा बुझ्न सकिन्छ । उहाँले माओवादी सशस्त्र हिंसाका समय नागरिक समाजको अग्रणी हुँदै शन्ति स्थापना, संघीय लोकतान्त्रिक गणतन्त्रको अभियानमा अहं भूमिका खेल्नु भएको थियो । माओवादीका हतियार बिसाउन र मानव अधिकार बहाली गराउनु ढुंगाना र पद्मरत्न तुलाधरको सक्रियतालाई पृथक गराउन सकिँदैन । उहाँहरू दुबैजनाले यो भूमिका सशक्तरूपमा निर्वाह गर्नुभएको थियो भने संविधान निर्माण प्रक्रियामा पनि योगदान रहेको थियो । तर, यतिले मात्रै ढुंगानाको मूल्यांकन हुनसक्दैन । लोकतान्त्रिक आन्दोलनमा लागेका सदस्यहरूलाई अनेक प्रकारका मुद्दा लगाइन्थ्यो । कतिपयसँग आफ्नो प्रतिरक्षा गर्ने आर्थिक हैसियत हुने थिएन । त्यस्तो समय राजधानीका केही थोरै कानुन व्यवसायीमात्रै थिए जसले विपन्न लोकतन्त्रवादीहरूको दुःख दर्द मेटाउन, कम गर्न निःशुल्क कानुनी सायताको काम गर्थे । तीमध्ये एक थियो दियाद ल फर्म र दमननाथ ढुंगाना । त्यसो त कुसुम श्रेष्ठ, कृष्णप्रसाद भण्डारीहरू पनि त्यस समयमा राजनीतिक मुद्दाहरूमा निःशुल्क सहयोग गर्नु हुन्थ्यो । पछिल्लो पुस्तामा पनि यो परम्परा विद्यमान छ ।
ढुंगानाहरूले कानुनको विद्यार्थीका रूपमा यसरी बसाउनु भएको सहयोगी परम्पराले लोकतान्त्रिक आन्दोलनलाई ऊर्जा प्रदान गरेको थियो । ढुंगाना केही समय पत्रकारिता र लेखनमा समेत सक्रिय हुनुहुन्थ्यो । प्रेस स्वतन्त्रताका पक्षमा उहाँको नित्यनिरन्तर सक्रियता रहृयो । निर्दलीयकालखण्डमा प्रेसविरुद्ध एकै पटक पत्रिका खारेजी, सम्पादक प्रकाशकलाई जेल चलानी, प्रेसमा शिलबन्दी र दण्ड जरिवाना, कैद जस्ता यन्त्रणाहरूको प्रयोग हुन्थ्यो । त्यस्तो अन्यायविरुद्ध ढुंगानाहरू सम्पूर्णरूपमा कानुनी लडाइँ लड्नुहुन्थ्यो । स्वतन्त्रताको संरक्षणमा आफूलाई अब्बल प्रमाणित गर्नुहुन्थ्यो । ०३३ सालमा बीपी कोइराला नेपालभित्र प्रवेश गर्नुभएपछि बीपीले लिनुभएको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको प्रखर व्याख्याता हुनुभयो ढुंगाना । ०३७ सालपछि उहाँले विचारोत्तेजक रूपमा प्रस्तुत गरेका लेखहरू राष्ट्रपुकारसहित अनेक पत्रपत्रिकामा प्रकाशित छन् । खासगरी निर्दलीय पञ्चायती संविधानको संशोधन, निर्वाचन र मेलमिलाप नीतिबारे उहाँका बेजोड तर्कहरूलाई बीपी कोइरालासहितका नेताहरू गम्भीरतापूर्वक सम्मान गर्ने गर्नुहुन्थ्यो । यसरी हेर्दा राजनीतिक रूपमा ढुंगानालाई निर्दलीय कालखण्डमा लोकतान्त्रिक योद्धा, ०४६ को परिवर्तनपछि लोकतान्त्रिक संस्कृतिको पहरेदार, ०६० को दशकमा मानव अधिकार र शान्तिका पक्षमा प्रबल प्रवक्ता मान्नुपर्ने हुन्छ ।
०४६ को परिवर्तनलगत्तै निर्माण भएको संविधान मस्यौदा समितिमा रहेर ढुंगानाले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । विश्वनाथ उपाध्यायको अध्यक्षतामा बनेको त्यस समितिले नै पहिलो पल्ट मौलिक हकलाई अखण्डित भनेर किटानीकासाथ उल्लेख गरेको थियो । ०४८ को आमनिर्वाचनमा ढुंगाना काठमाडौं तत्कालमा रहेको निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित हुनुभएपछि उहाँको भूमिका संसदीय राजनीलिाई मर्यादित, व्यवस्थित र अनुशासितसहित सैद्धान्तिक बनाउनमा केन्द्रित थियो । ०४८ को निर्वाचनमा तत्कालीन प्रमुख प्रतिपक्ष एमाले वर्ग संघर्षको नारा छाडेर संसदीय राजनीतिमा सहभागी भए पनि लालविचारको कठोर धङ्धङीमुक्त थिएन । अत्यन्त आक्रामक भएर संसद्मा प्रस्तुत भएको थियो । नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको महत्वाकांक्षा सिद्धान्तभन्दा माथि पद र शक्तिमा बढी केन्द्रित भइरहेको थियो ।
लामोकालखण्डपछि आरम्भ संसदीय अभ्यासलाई सहष्णिु, गतिशील र सुसंस्कृत बनाउँदै लैजानुपर्नेमा एमाले नेतृत्व र सरकार पक्षको नेतृत्व प्रत्यक्ष मुठभेटतर्फ अग्रसर भएका समय समन्वयको बिन्दु सभामुखको जिम्मेदारी ढुंगानामा रहेको थियो । ढुंगानाले यसैकारण संसद् र सत्ताको अभ्यासजन्य परिभाषा अघि सार्नुभएको थियो । उहाँको त्यो परिभाषा सत्तालाई बिझाउने र विपक्षलाई उकास्ने जस्तो हुन पुग्यो । तर, उहाँले सत्ता र संसद्को जिम्मेदारीलाई स्पष्ट गर्नुभएको यहाँ स्मरणीय छ । उहाँले भन्नुभएको : संसद्मा सरकार पक्षको र संसद् विपक्षको हुन्छ । विपक्षले संसद्मा आफ्नो पक्ष प्रस्तुतमात्रै गर्दैन भोलिको सरकार निर्माणमा आफ्नो आधार पनि तयार पारिरहेको हुन्छ । तर, त्यस समय कोइराला पक्षले यो भनाइलाई सरकारविरोधी मान्यो र उहाँको आलोचना गरिरहृयो । ०५१ को मध्यावधि निर्वाचनमा ढुंगानाले आफूलाई सभामुख भएको हुनाले पक्ष वा विपक्षको नभनी प्रचारमा जाने निर्णय गर्दा पराजित हुनपुग्नुभयो । पराजयका संकेतहरू देखिए पनि उहाँले आफ्नो अडान छाड्नु भएन । पछिल्लो पटक भक्तपुरबाट निर्वाचन लड्ने सोच भने उहाँको जीवनको ठूलो भुल हो भन्नुपर्ने हुन्छ । ढुंगाना अहिलेको अवस्थासँग अत्यन्त असन्तुष्ट हुनुभएको थियो । संविधानमा रहेका अनेक त्रुटिहरू केलाउन र तिनमा सुधार गर्न उहाँ निरन्तर लाग्नु भएको थियो । तर, नियतिको भाषा फरक थियो । उहाँ देहमुक्त हुनुभयो । हार्दिक श्रद्धासुमन लोकतन्त्रका अनवरत् योद्धा दमननाथ ढुंगानामा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच