खाडी र मलेसियामै निर्भर श्रम बजार

चालु आर्थिक वर्षमा आठ लाख वैदेशिक रोजगारीमा, इतिहासमै धेरै

हिमालय टाइम्स
Read Time = 7 mins

रमेश भारती/हिटा
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को असार दोस्रो सातासम्म सात लाख ४० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । रोजगारीको लागि उनीहरू ७३ देशमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा १०५ वटा म्यानपावरहरूले दुईदेखि पाँच हजारभन्दा बढी कामदार विभिन्न देश पठाउन सफल भएको विभागले जानकारी दिएको छ । विभागले आर्थिक वर्ष सकिन दुई साता बाँकी हुँदै म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएका श्रमिकको तथ्यांक सार्वजनिक गरेको हो । सात लाख ४० हजारभन्दा बढी श्रमिकले रोजगारीका लागि विभिन्न देश जान अन्तिम श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ । नेपालको इतिहासमै धेरै कामदार वैदेशिक रोजगारीमा गएको यो पहिलोपल्ट रहेको विभागले जनाएको छ । ७७ वटा म्यानपावरले एक हजारदेखि दुई हजार श्रमिकलाई विदेश पठाएका छन् । १४ वटा म्यानपावर कम्पनीले तीनदेखि पाँच हजारभन्दा बढी कामदार विदेशी पठाएको विभागको तथ्यांकमा छ ।

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिएका ८५४ वटा म्यानपावरमध्ये १०० भन्दा कम श्रमिक पठाउने २१२ म्यानपावरको नामावली विभागले सार्वजनिक गरेको छैन । एक आर्थिक वर्षमा वर्षमा १०० जना श्रमिकलाई रोजगारीमा पठाउन नसक्ने म्यानपावर कम्पनीको नवीकरण नहुने र इजाजतपत्र रद्द हुने कानुनी व्यवस्था छ । ऐनमा उल्लेखित संख्याभन्दा कम श्रमिक पठाउने म्यानपावर कम्पनीको नामावली सार्वजनिक नगरिएको विभागले जानकारी दिएको छ । विभागले प्रकाशन गरेको आँकडाअनुसार चालु आवको यस अवधिमा द रिभर ओभरसिजले वैदेशिक रोजगारमा सबैभन्दा बढी श्रमिक पठाएको छ । उक्त म्यानपावर कम्पनीले पाँच हजार १२ जना नेपालीलाई विदेश पठाएको विभागले जनाएको छ । त्यस्तै, दोस्रोमा इन्टरनेसनल म्यानपावर रिक्रुटमेण्ट रहेको छ । सो कम्पनीले पाँच हजार दुई जना श्रमिक पठाएको तथ्यांक छ । तेस्रोमा वाइडस्पेस इन्टरनेसनलले तीन हजार ९२० जनालाई रोजगारीका लागि विदेश पठाएको छ । चौथो स्थानमा रहेको नीलकमल ह्युमन रिसोर्सले तीन हजार ६४१ जनालाई विदेश पठाएको छ भने पाँचौँ स्थानमा रहेको एक्सेस पार्टनर्सले तीन हजार ४२८ जनालाई विदेश पठाएको विभागले उल्लेख गरेको छ । यसैगरी, मोन्टेज ओभरसिज, मेरिडियन ओभरसिज, एसओएस म्यानपावर सर्भिस र मास ह्युमन रिसोर्सले तीन हजारभन्दा बढी श्रमिक विदेश पठाएर रेकर्ड राखेका छन् ।

चालु आर्थिक वर्षमा नेपालको इतिहासमै सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा पनि मलेसिया र खाडीकै देशमा ८५ प्रतिशत वैदेशिक रोजगारीमा गएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा युरोपका देश, जापान, दक्षिण कोरिया, अमेरिका, क्यानडा, मलेसिया र अन्य देशमा नेपालीहरू श्रम स्वीकृति लिएर गएको उहाँको भनाइ छ । विभागका अनुसार चालु आर्थिक वर्षमा आठ लाखभन्दा धेरै विदेशिने बताइएको छ ।

लाखौँ गुणा बढे
कोरोनाको असर कम हुँदै गएपछि ६ लाख ३० हजारभन्दा बढीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष एक लाखभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका छन् । चालु आर्थिक वर्षमा सात लाख ४० हजार विभिन्न देश गएका हुन् । यसको आर्थिक वर्षदेखि युरोपका देश जाने कामदार बढेको विभागले जनाएको छ । वैदेशिक रोजगार विभागले तथ्यांक राख्न सुरु गरेको वर्ष आर्थिक वर्ष २०५०/५१ मा तीन हजार ६०५ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ । सरकारले यही वर्षदेखि विदेशिने कामदारको तथ्यांक राख्न थालेको थियो । यो संख्या चालु आर्थिक वर्षमा आइपुग्दा लाखौँ गुणा बढेको विभागले जनाएको छ ।

२०५१/५२ मा दुई हजार १५९ जनाले श्रम स्वीकृति लिए भने २०५२/५३ मा दुई हजार १३४ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ । यस्तै, यो संख्या बढेको आर्थिक वर्ष २०५७/५८ मा वार्षिक ५० हजार, २०५८/५९ मा एक लाख र ०५०/५१ देखि आर्थिक वर्ष २०६८/६९ सम्म २४ लाख ६५ हजार ६९९ जना बढेर पुगेको विभागले तथ्यांकमा छ । साथै, आर्थिक वर्ष, २०७३/७४ मा ६ लाख ४२ हजार ८५९, २०७३/७४ मा ६ लाख ४२ हजार, २०७४/७५ मा ६ लाख १२ हजार ६८५ जना, २०७५/७६ मा पाँच लाख आठ हजार ८२८ जना, २०७६/७७ मा चार लाख ६८ हजार ४३३, २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जना विदेशिएको विभागले जनाएको छ । कोरोनाका कारण दुई वर्ष वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको विभागले जनाएको छ । कोभिडका कारण अन्तर्राष्ट्रिय उडान बन्द तथा विभिन्न देशमा आप्रवासी प्रवेशमा कडाइ गर्दा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थियो । कोरोनाका कारण आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थियो । उक्त वर्ष मात्रै अन्तिम श्रम स्वीकृति लिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?