सुन आयातमा कोटा प्रणाली खारेज गर्न माग

Read Time = 3 mins

काठमाडौं । सुनचाँदी व्यवसायीले सुन आयातमा कोटा प्रणाली खारेजीको माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले सोमबार संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै पछिल्लो समय दैनिक १० केजीमात्र सुन आयात गरिदिँदा ग्राहकको आवश्यकता पूरा गर्न नसकिएको भन्दै कोटा प्रणाली खारेजीको माग गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले १३ वर्षअघिको कोटा प्रणाली खारेजी गरी सुनचाँदीको बजार पारदर्शी बनाउनुपर्ने बताउनुभयो ।

महासंघका अध्यक्ष शाक्यका अनुसार बजारमा सिजनमा दैनिक ४० केजी र अफ सिजनमा झण्डै १० देखि १५ केजी सुनको माग हुने गरे पनि हाल दैनिक १० केजीमात्रै आपूर्ति हुँदा व्यवसाय नै बन्द हुने अवस्था सिर्जना भएको छ । बैंकमार्फत् आउने सुनबाहेक विदेशवाट आउने नेपालीले बिनाभन्सार ५० ग्रामसम्म र भन्सार तिरेर थप सय ग्राम सुनका गरगहना ल्याउन पाउने व्यवस्था भए पनि सोअनुसार हुन नसकेको व्यवसायीको गुनासो छ । विदेशबाट आउने नेपालीले सुन ल्याउँदा प्रहरी प्रशासनले जफत गर्ने, त्यस्तो सुन कारोबार गर्ने व्यवसायीलाई पक्रिने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य हुन थालेको महासंघले जनाएको छ ।

महासंघले राज्यले तोकेको मापदण्डअनुरूप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्न थालेको भन्दै अनुसन्धानका नाममा अनावश्यक दुःख दिने र व्यवसायीलाई आतंकित बनाउने कार्य बन्द गर्न पनि माग गरेको छ । व्यवसायीले निर्वाधरूपमा राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेशा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न स्पष्ट मापदण्ड ऐन, कानुन बनाई तत्काल कार्यान्वयनमा ल्याउनसमेत महासंघले माग गरेको छ । सो अवसरमा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले पनि सुनको कोटा प्रणाली खारेज गर्न माग गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?