काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न सबै स्थानीय तहलाई आठ बुँदे निर्देशन दिएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले सोमबार जारी गर्नुभएको निर्देशनमा सो कुरा उल्लेख छ । आयोगको निर्णयअनुसार स्थानीय तहको उपनिर्वाचन हुने स्थानीय तहले आयोगका निर्देशन पालना गर्नैपर्ने हुन्छ । उपनिर्वाचन हुने स्थानीय तहमा निर्वाचन आयोगबाट कायम भएका मतदानस्थल तथा केन्द्रको संरचनाको संरक्षण, मर्मत सम्भार एवं उक्त स्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार आवतजावतको वैकल्पिक मार्ग, सडक, पुल पुलेसा, कम्पाउण्ड वाल, तारबार आदिको व्यवस्था र ज्येष्ठ नागरिक, महिला तथा अपांगतामैत्री बनाउन यथासम्भव प्रयत्न हुन सम्बन्धित स्थानीय तहबाटै कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
कल सेन्टर सञ्चालनमा
निर्वाचन आयोगले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनबारे प्रश्न, गुनासा र जिज्ञासा सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि मतदाताका प्रश्न, गुनासा र समस्या समाधान गर्ने उद्देश्यले कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । कल सेन्टरबाट मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान प्रक्रिया लगायतका सम्पूर्ण विषयमा आम मतदाता एवं सर्वसाधारणलाई जानकारी उपलब्ध हुने आयोगले जनाएको छ । आयोगले मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेगरी आयोग परिसरमा निःशुल्क (टोल फ्री) नम्बर ११०२ मा कल गरेर उपनिर्वाचनका विषयमा आफ्ना प्रश्न, गुनासा र जिज्ञासा राख्न सकिने जनाएको छ ।
४४ पदका लागि ४१० जनाको उम्मेदवारी
आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४४ पदका लागि ४१० जनाको मनोयन पत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एकजना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । धनुषामा सबैभन्दा धेरै तथा रुकुम पूर्वमा र बझाङ जिल्लामा सबैभन्दा कम उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ र बझाङको सुर्मा गाउँपालिका–४ को वडा अध्यक्ष पदमा तीन/तीनजना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ । आज (बुधबार)मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
पर्यवेक्षण गर्न नौ संस्थालाई अनुमति
आसन्न स्थानीय तह उपनिर्वाचनमा पर्यवेक्षण गर्न नौवटा संस्थाले अनुमति पाएका छन् । निर्वाचन आयोगले जनप्रशासन संघ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, नेपाल मानव अधिकार संगठन र सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाललाई पर्यवेक्षणको अनुमति दिएको छ । यस्तै, केन्द्रीय बहिरा क्याम्पस, सुशासन महासंघ नेपाल, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्रले निर्वाचन पर्यवेक्षणका लागि अनुमति पाएका आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । एक मतदान केन्द्रमा एक संस्थाबाट बढीमा दुई जनासम्म पर्यवेक्षक रहने गरी परिचयपत्र उपलब्ध गराइने आयोगले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच