सुर्खेत । सुदूरपश्चिमबाट कर्णाली र कर्णालीबाट सुदूरपश्चिम जाने छोटो मार्ग हो बड्डीचौर-बाबियाचौर-कुइने-चिसापानी सडक । सुदूपश्चिमकै अछाम, बाजुराबाट तराई पुग्न होस् वा पहाड पुग्ने छोटो मार्ग यही सडक हो । कैलालीको चिसापानीबाट कैलालीकै कुइनेसम्म १२ किलोमिटर सडक पर्दछ । चिसापानीबाट सुर्खेतको बड्डीचौर सम्मको दूरी ४८ किलोमिटर छ । चिसापानी क्षेत्रको दुई किलोमिटर सडक कालोपत्रे छ । बाँकी पाँच किलोमिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कञ्चनपुरले ठेक्का लगाइसकेको छ ।
तर, सडक किनारामा रूख परेकाले अपेक्षाकृत निर्माणको काम गर्न नसकेको सडक डिभिजन कञ्चनपुरका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजेशकुमार यादव बताउनुहुन्छ । उहाँका अनुसार कालोपत्रेका लागि झण्डै १२ करोडको ठेक्का लागेको सडक हो यो । रूख कटानका लागि गर्नुपर्ने प्रक्रिया पूरा गरेर क्षतिपूर्ति बापतको रकम अर्थ मन्त्रालयले निकाशा नगरेपछि निर्माणमा ढिलाइ भइरहेको छ ।
संघ, प्रदेश र स्थानीय सरकारले चिसापानी–बाबियाचौर, जंगलाघाट–बडिमालिका जोड्ने छोटो मार्ग निर्माणमा विलम्ब गर्दा स्थानीयहरूले बेलाबेला सडक मर्मत जस्ता अभियान चलाएर दबाब दिने गरेका छन् । तर, सडक निर्माण कार्य सुस्त छ । आगामी चैतसम्म ठेक्का अवधि रहेकाले पुस महिनामा रूख काटे बापतको क्षतिपूर्ति रकम अर्थले निकाशा गरिदिएको खण्डमा सो रकम वन मन्त्रालयलाई बुझाएर निर्माणलाई गति दिनेगरी पहल भइरहेको डिभिजन प्रमुख यादवले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशबाट कर्णाली भित्रने र बाहिरिने सबैभन्दा छोटो सडक हो चिसापानी–बाबियाचौर सडक । कुइनेस्थित कर्णाली नदी र जामुमा रहेको भेरी नदीमा पक्की पुल निर्माणपछि सञ्चालनमा आएपछि त्रिदेशीय जोड्ने सडक छिटो निर्माण गर्न सरकारलाई दबाब बढेको हो ।
यहीँ सडक भएर कर्णालीका सुर्खेतसहित दैलेख, कालिकोट, जुम्ला, हुम्लाका नागरिकलाई सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जान र फर्किन छोटो हुन्छ । कर्णाली राजमार्गको जमुनाह–हिल्सा त्रिदेशीय सडक जोडिएसँगै बड्डीचौर-खम्बगाडे बाबियाचौर सडक निर्माणाधीन अवस्थामा छ । बाबियाचौर-जंगलघाट सडक अझै स्तरोन्नति नभए तत्कालका लागि बड्डीचौरबाट कर्णाली राजमार्ग भएर यात्रा गर्न सहज हुनेछ । हिउँदको समयमा कैलालीबाट अछाम जाने सवारीहरू चिसापानीबाट सुर्खेत-दैलेख भएर अछामको कमलबजार र मंगलसैन पुग्ने गरेका छन् । अन्य समयमा चिसापानी-कोहलपुर सुर्खेत भएर बाहिरिने गर्छन् । वर्षात्मा निकै सास्ती दिने चिसापानी बाबियाचौर सडक बाह्रैमास सञ्चालनका लागि चुनौती छ । अहिले कैलालीबाट दैलेख, कालिकोट, जुम्ला, बाजुरा, हुम्ला मुगु लगायतका जिल्लामा पुग्न झण्डै दुई सय किलोमिटर दूरी तय गर्नुपर्ने बाध्यता छ ।
हाल नागरिकहरू कैलालीको चिसापानीबाट कोहलपुर-सुर्खेत हुँदै बाहिरिनु र भित्रनुपर्छ । कैलालीबाट अछाम पुग्न मात्रै चिसापानी–कोहलपुर ७७, कोहलपुर–वीरेन्द्रनगर नौ र वीरेन्द्रनगर-बेलखेत हुँदै मंगलसेन अछाम १५९ किलोमिटर गरी ३२६ किलोमिटर दूरी तय गर्नुपर्ने अवस्थामा छ । चिसापानी-जंगलघाट-मंगलसेन सडकको सुरुवात अछामका पञ्चायतकालीन नेता स्व. हरिप्रसाद भण्डारीले गर्नुभएको हो । उहाँले २०२४ सालमै यहीँ सडकबाट जिप अछाम सदरमुकाम मंगलसेन पु¥याएको आलेखहरू भेटिन्छन् ।
कैलालीमा पर्ने चिसापानी कुनै बेला सुनदेखि नुनसम्म किन्न जाने बजार हो । ६० को दशकसम्म साबिक कर्णाली र भेरी तथा सेती अञ्चलका अधिकांश नागरिकहरू गाउँमा उत्पादित वस्तुको बिक्रीदेखि आवश्यक सामान खरिद गर्न पैदलै हिँडेर त्यहीँ चिसापानी पुग्थे । सडक निर्माणको गति पहाड र हिमालसम्मै पुगेपछि कुनै बेलाको चर्चित चिसापानी बजारको अस्तित्व धरापमा छ । पैदल मार्च गर्ने गोरेटो बाटोमा अचेल गाडी गुड्ने सडक बनेको छ । चिसापानी भएरै राजापुरसम्म आवश्यक सामग्री लिन जानेहरूलाई घर आँगनमै सामान गाडीले पु¥याइदिने सुविधा दिइरहेका छन् ।
अछाम खण्डमा धमाधम काम
सुदूरपश्चिम सरकारले अछाम खण्डको ५० किलोमिटर सडकलाई प्रदेश गौरवको आयोजनामा समावेश गरेको छ । अछामको गैरीटार-कमलजबार, तुर्माखाँद-जंगलाघाट सडक निर्माण तीव्र गतिमा भइरहेको छ । गैरीटारदेखि कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाको सिमाना बासकाँडासम्म सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०७९/०८० मै ठेक्का लगाएर काम जारी रहेको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्रबहादुर बोगटीले जानकारी दिनुभयो । गैरीटार-बासकाँडा सम्मको दूरी २३ किलोमिटर सडक ग्राभेल अन्तिम चरणमा रहेकाले फागुनबाट कालोपत्रे गरेरसक्ने लक्ष्य रहेको प्रमुख बोगटी बताउनुहुन्छ । उहाँका अनुसार बासकाँडा-तुर्माखाँद-जंगलाघाट २७ किलोमिटर सडक डवल कटिङ र ग्राभेल गर्ने काम भइरहेको छ ।
अछाम खण्डमा सडक निर्माणका लागि कुनै विलम्ब नभएको र सन्तोषजन काम भइरहेको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विसी बताउनुहुन्छ । जंगलाघाटमा पक्की पुल निर्माणसँगै सुर्खेत खण्डमा छिटो काम हुने हो भने सिंगो अछामका नागरिक १२ घण्टा लगाएर धनगढी पुग्नुपर्ने अहिलेको बाध्यता यो सडकले अन्त्य गर्ने बिसीको भनाइ छ । यता, बाबियाचौरबाट अछामका तुर्माखाँद, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाका नागरिकहरू जोखिम मोलेर यात्रा गरिरहेका छन् । बाबियाचौरबाट अछामको तुर्माखाँद भएर सदरमुकाम मंगलसैन पुग्ने सडक सञ्चालनमा छ । कच्ची सडक भएर बाबियाचौरबाट कर्णाली नदीको किनाराको बजार जंगलाघाट पुग्न सकिन्छ । जंगलाघाटमा कर्णाली नदीमाथि पक्की पुल नहुँदा झोलुंगे पुल तरेर अर्को सवारीबाट अछामको तुर्माखाँद, कमलबजार भएर मध्यपहाडी राजमार्गको गैरीटार पुग्नुपर्छ । गैरीटारदेखि अछाम सदरमुकाम पुग्न मध्यपहाडी राजमार्ग यसअघि नै कालोपत्रे गरिसकिएको छ ।
सुर्खेत खण्डमा काम सुस्त
यता, पूर्वाधार विकास निर्देशनालय सुर्खेतले बाबियाचौरदेखि कुइनेसम्म झण्डै १८ किलोमिटर सडक कालोपत्रेका लागि २०७८ मै अनक जयदेवी सनलाइट जेभी र बाँकी जलजला जेभीसँग निर्माण सम्झौता गरेको हो । झण्डै २५ करोड लागतमा निर्माण भइरहेका सडक ठेकेदारले सन्तोषजनक काम नगरेको निर्देशनालयले जनाएको छ । बाबियाचौर-भक्तडी-जंगलाघाटसडक वर्षौं पहिले ट्याक खोलिएको हो । पञ्चपुरी नगरपालिकाले छाप्रेका नागरिकहरूलाई सहज आवजावतका लागि सडक अवरुद्ध भएको बेला खुलाएर सञ्चालनमा ल्याउने गरेको छ । यो सडक निर्माणमा प्रदेश र संघ सरकारले चासो दिएका छैनन् । चिसापानी-कुइने बाबियाचौर ३०, बाबियाचौर-भक्तडी-जंगलाघाट १८, जंगलाघाट-तुर्माखाँद-कमलबजार-गैरीटार ५० र गैरीटार-मंगलसैन २१ किलोमिटर गरी चिसापानी-बाबियाचौर, जंगलाघाट-मंगलसैन सम्मको दूरी ११९ किलोमिटर छ । यो सडक निर्माण भएमा कैलालीको अत्तरियाबाट डडेल्धुरा-डोटी-साफेबगर-मंगलसैन र अत्तरियार-कोहलपुर, सुर्खेत-दैलेख-मंगलसैन पुग्न झण्डै तीन सय किलोमिटर छोटो पर्छ ।
जंगलाघाटमा पक्की पुल बन्दै
सुर्खेत र अछामलाई जोड्न जंगलाघाटमा पक्की पुल निर्माण गर्न लागिएको छ । पञ्चपुरी नगरपालिका सुर्खेत र तुर्माखाँद गाउँपालिकाको सीमानामा पर्ने जंगलाघाटको कर्णाली नदीमा पक्की पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि ८ साउन २०७८ मै सम्झौता गरिएको हो । तर, पुलको डिजाइन र निर्माण दुवै निर्माण व्यवसायीले गर्नेगरी सम्झौता गरेकाले निर्माण थालनीमा थोरै विलम्ब भएको पुल सेक्टर कार्यालय सुर्खेतका इञ्जिनियर देवेन्द्र भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार ३६ महिनामा पुल निर्माण गरिसक्नुपर्ने हो । तर, पुल निर्माणका लागि आवश्यक ठूला मेसिनरी सामग्री ढुवानी गर्न सुर्खेततर्फको सडक साँघुरो भएकाले म्याद थपिएको छ । १० कात्तिक २०८३ सम्ममा कर्णाली नदीमा पुक्की पुल निर्माण सम्पन्न गर्नेगरी म्याद थप गरिएको छ । १६ करोड ५८ लाख ६४ हजार लागत रहेको पुल निर्माणको जिम्मा लामा कन्ट्रक्सन प्रालि काठमाडौंले जिम्मा लिएको छ । निर्माण व्यवसायीले पञ्चपुरी नगरपालिकालाई मेसिन ढुवानी गर्दा मोड साँघुरो भएकाले फराकिलो बनाइदिन अनुरोध गरेको छ । दोबाटोबाट छाप्रे हुँदै जंगलाघाट पुक्ने अधिकांश मोड साँघुरा रहेको र कटिङ गर्न बजेटको खोजी गरिरहेको पञ्चपुरी नगरपालिकाका प्रमुख लालबहादुर भण्डारी बताउनुहुन्छ । उहाँका अनुसार कम्तीमा ६० लाख बजेट भयो भने मोडहरू सुधार्न सकिने अवस्था छ । यसबारे प्रदेश सरकारसँग आवश्यक बजेटका लागि पहल गरिएको छ । यता, मुख्य प्रवेश विन्दु चिसापानी कुइनेको समस्या समाधान गर्न प्रदेश सरकारले गम्भीरताका साथ केन्द्र सरकारलाई दबाब दिइरहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह बताउनुहुन्छ । पटक-पटक यो त्रिदेशीय जोड्ने सडक निर्माणमा चासो दिनुपर्यो भनेर पहल गरिरहेको उहाँको भनाइ छ । ‘यसबारे अब एकपटक प्रधानमन्त्री केपी शर्मा ओलीसम्मै कुरा राख्ने तयारीमा छु । वन र भौतिक मन्त्रीसमक्ष एकपटक समस्या टुंग्याउन दबाब दिनेगरी लागि परेको छु’ उहाँले भन्नुभयो, ‘कुइनेदेखि माथि मोहन्याल गाउँपालिका केन्द्रसम्म पुग्ने सडकलाई सुधार गर्न प्रदेशले पुल निर्माणसहित थप काम गर्न यो वर्ष बजेट विनियोजन गरेर कार्यान्वयनमा गएको छ ।’
क्याप्सन ः चिसापानी–बाबियाचौर–अछाम सडकको बाबियाचौर सुर्खेत खण्डमा काम हुँदै ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच