काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीका लागि सम्झौता हुँदै गर्दा कांग्रेस सांसद प्रदीप पौडेलले मन्त्री बन्ने अवसर पाउने आँकलन कसैले गरेका थिएनन् । स्पष्ट वक्ता र काम केन्द्रित स्वभावको छवि बनाउनुभएका पौडेल अन्तिम समयमा मात्रै मन्त्री बन्ने टुंगो लागेको थियो । स्वास्थ्यमन्त्रीको रूपमा शपथ लिएलगत्तै पौडेलले भन्नुभएको थियो- अनुभूति दिलाउने गरी काम गर्छु ।
गठबन्धन सरकारले पाँच महिना पूरा गर्नै लाग्दा स्वास्थ्यमन्त्री पौडेल आफ्नो प्रतिबद्धतामा इमानदार देखिनुभएको छ । सरकारको समीक्षा गर्ने जोकोहीले स्वास्थ्यमन्त्री पौडेलले गरेका प्रयासको सराहना गरेका छन् । स्वास्थ्यमन्त्रीको रूपमा कार्ययोजना सुनाउँदा मन्त्री पौडेल निकै महत्वाकांक्षी देखिनुभएको थियो । खासगरी सरकारी अस्पतालमा लाइन हटाउने र स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख पुर्याउने घोषणालाई सबैले चुनौतीको रूपमा व्याख्या गरेका थिए ।
संघीय अस्पतालहरूमा लाइन हटाउने कुरा चुनौतीपूर्ण रहेको तथ्य स्वास्थ्यमन्त्री पौडेल आफैँले स्वीकार गर्नुभएको थियो । अहिले लाइन हटाउनकै लागि १७ वटा संघीय अस्पतालहरूमा अनलाइन प्रणाली सुरु गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार साउन महिनादेखि नै संघीय अस्पतालहरूमा दुई सिफ्टमा ओपिडी सेवा सञ्चालन गरिएको छ । दुई सिफ्टमा ओपिडी सञ्चालन हुँदा भिड व्यवस्थापनमा सहजता पुगेको मन्त्रालयको दाबी छ । क्यान्सरको उपचारमा रहेको केन्द्रीकृत प्रणाली हटाएर सरकारले सातै प्रदेशका अस्पतालबाट क्यान्सरको उपचार पनि सुरु गराएको छ । जसले भक्तपुर र चितवनको क्यान्सर अस्पतालमा तुलनात्मक सहजता ल्याएको छ ।
स्वास्थ्य मन्त्रालयले मन्त्रालयको आन्तरिक सुधार र स्वास्थ्यकर्मीहरूको प्रोत्साहनलाई पनि प्राथमिकतामा राखेको छ । समायोजनमा समस्या देखिएका स्वास्थ्य जनशक्तिको समस्या समाधानका लागि कार्यविधि स्वीकृत भएको छ । जसबाट स्वास्थ्यका एक हजार ६ सय बढी कर्मचारी लाभान्वित र प्रोत्साहित भएको मन्त्रालयको दाबी छ । स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकको तयारी, न्याम्स आबद्ध अस्पतालमा चार सय शिक्षक चिकित्सकको दरबन्दी स्वीकृत, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात व्यवस्था लगायतका निर्णयबाट स्वास्थ्य सेवामा सुधारको प्रयत्न भएको मन्त्रालयको भनाइ छ ।
बिग्रेका उपकरण बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र
संघीय सरकार मातहतका अस्पतालमा उपकरणहरू बिग्रेकै कारण सेवाग्रही समस्यामा पर्ने क्रम रोक्न स्वास्थ्यमन्त्री पौडेलले नै ती उपकरणहरू मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने प्रस्ताव गर्नुभएको थियो । सोहीअनुसार गत भदौ ५ मा सरकार र केन्द्रबीच संघीय अस्पतालमा बिग्रिएका उपकरण मर्मत र व्यवस्थापन गर्ने सम्झौता भएको थियो । त्यसलगत्तै केन्द्रले वीर अस्पतालमा बिग्रिएको अवस्थामा रहेका भेन्टिलेटर, सी आर्म मेसिन लगायतका उपकरणहरू मर्मत गरिसकेको छ । वीर अस्पतालले आविष्कार केन्द्रले बनाएका उपकरणहरू सञ्चालमा आइसकेको जनाएको छ । वीरकै जस्तो कान्ति बाल अस्पतालमा पनि केन्द्रले विभिन्न उपकरणहरू मर्मत गरेको छ । काठमाडौंको गंगालाल हृदय केन्द्रमा मात्रै आविष्कार केन्द्रले पाँच महिनामा २८३ वटा स्वास्थ्य उपकरण मर्मत गरेको छ । केन्द्रले मर्मत नभएर थन्किएका ५० प्रतिशतभन्दा बढी उपकरण मर्मत गरेर सञ्चालनमा ल्याउँदा नयाँ उपकरण खरिदमा लाग्ने करोडौँ रकम जोगिएको छ ।
धेरै सुधार्न सकिन्छ : मन्त्री पौडेल
स्वास्थ्यमन्त्री प्रदीप पौडेल स्वास्थ्य सेवाको दीर्घकालीन सुधारका लागि अहिलेसम्म सुरुआत मात्रै भएको बताउनुहुन्छ । नागरिकको प्रत्यक्ष सरोकार जोडिएको स्वास्थ्य सेवामा वर्षौंदेखि रहेको बेथिति अन्त्य गरेर सुधारिएको स्वास्थ्य सेवा स्थापित गर्न अझै काम बाँकी रहेको उहाँले बताउनुभयो । ‘अहिले भएका कामहरू सुरुआत हुन् । यिनै काममा सन्तोष गरेर बस्ने अवस्था छैन । नेपालको समग्र स्वास्थ्य सेवामा आमूल सुधार ल्याउन धेरै काम गर्न बाँकी छ । ती काम गर्न म आफ्नो तर्फबाट शतप्रतिशत प्रयास गरिरहेको छु’, मन्त्री पौडेलले हिमालय टाइम्ससँग भन्नुभयो । आफूले मन्त्री हुनुअगाडि नागरिकका रूपमा स्वास्थ्य क्षेत्रमा देखेका समस्या क्रमिक रूपमा समाधान गर्न प्रयास गरेको मन्त्री पौडेलको भनाइ छ । ‘नेपालको स्वास्थ्य सेवा जस्तो भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो त्यस्तै बनाउन प्रयास गरिरहेको छु । मन्त्रीका रूपमा मसँग मेरो मन्त्रालय, सिंगो सरकार र सबैजना लाग्नुभएको छ,’ पौडेलले भन्नुभयो । उहाँले सरकारी अस्पतालमा अप्रेसनका लागि वर्षदिनसम्म कुर्नुपर्ने अवस्था अन्त्य भएको र दुई सिफ्टको ओपिडीका कारण लाइन पनि घट्दै गएको बताउनुभयो ।
स्वास्थ्य सेवामा सुधार सुरु : डा. कोइराला
स्वास्थ्य क्षेत्रका सन्दर्भहरूमा नियमित अध्ययन एवं लेखनसमेत गर्दै आउनुभएका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रामेश कोइराला नेपालको स्वास्थ्य सेवामा स-साना सुधारको संकेत देखिन थालेको बताउनुहुन्छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन इमानदार प्रयत्न गरेको आफूले महसुस गरेको भन्दै कोइरालाले मन्त्रीले चाहँदा सुधार हुन्छ भन्ने स्थापित हुन लागेको उल्लेख गर्नुभयो । ‘स्वास्थ्य मन्त्रीले इमानदार प्रयास गर्नुभएको देख्छु । ससना सुधारहरू भइरहेकै छन् । १४ वर्षमुनिको निःशुल्क क्यान्सर उपचार, सातै प्रदेशमा जलनको निःशुल्क उपचार, राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य परीक्षण लगायतको काम सकरात्मक छ’, कोइरालाले हिमालय टाइम्ससँग भन्नुभयो । स्वास्थ्य क्षेत्रका दीर्घकालीन विषयमा सुधार स्थापित गर्न मन्त्रीले अझै केही समय काम गर्नुपर्ने उहाँको भनाइ छ । ‘मन्त्रीको पहलले हुने काम भएकै छन् । कतिपय ठूला सुधारहरूमा राज्यका सबै निकायको प्रयास हुनुपर्छ । बजेट पनि धेरै नै खर्च हुन्छ । स्वास्थ्य बीमाको दायरा बढाउन अबको बजेटमा प्रबन्ध भयो भने कोशेढुंगा सावित हुन्छ’, उहाँले भन्नुभयो ।
स्वास्थ्य मन्त्रालयका पछिल्ला सकरात्मक कामहरू :
-उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई
-संघीय अस्पतालमा दुई सिफ्टमा ओपिडी सञ्चालन
-सातै प्रदेशमा क्यान्सरको उपचार सुरु
-१४ वर्षमुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार
-१६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप प्रबन्ध
-राष्ट्रिय खेलाडीहरूको निशुल्क स्वास्थ्य परीक्षण व्यवस्था
-मृत्युपश्चात् अंगदान गर्नेको परिवारलाई दुई लाख दिने
-सातै प्रदेशमा जलनको उपचार निःशुल्क
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच