यो कार्यकालमा जनता र देशको पक्षमा काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

हिमालय टाइम्स
Read Time = 3 mins

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो कार्यकालमा जनता र देशको पक्षमा काम गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको बताउनुभएको छ । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उहाँले अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा काम गर्ने बताउनुभएको हो । मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्र सुधार लगायतका विषयमा कामको सुरुवात गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला चितवन पुग्नुभएका दाहालले भन्नुभयोे, ‘मैले यो पटक हरेक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने प्रतिज्ञा गरेको छु । नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु । मेरो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेर प्रतिबद्धता गरेको छु ।’ भ्रष्टाचार र बेथिति नियन्त्रण तथा जनताले विभिन्न ठाउँमा पाइरहेका सास्तिहरूलाई अन्त्य गर्ने निर्णय पनि पहिलो मन्त्रिपरिषद्बाट गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा पनि जनतालाई पिरमर्का पर्ने कुनै पनि निर्णय नगर्ने बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयोे, ‘सुशासन र समृद्धिको नयाँ युगको सुत्रपात गर्न एकजुट हौं भनेर अपील गर्न चाहन्छु ।’

कार्यक्रममा उहाँले विद्यालयमा विशिष्ट योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान गर्नुभएको छ । सोही अवसरमा हीरकद्वार, हीरक स्तम्भको अनावरण, निर्माण गर्न लागिएको भवनको शिलान्यास, हीरक स्मारिकाको विमोचनसमेत उहाँले गर्नुभयो । कार्यक्रममा प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विसं २०२० जेठ ६ गते चार विद्यार्थी लिएर रात्रिकालीन रुपमा पठनपाठन सुरु गरिएको यस विद्यालयमा हाल तीन हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । हाल यहाँ कक्षा १ देखि १२ सम्म पढाइ हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?