काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गर्नुभएको छ । हिमालयन एअरलाइन्सको चार्टर्ड विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीको टोलीमा चीन भ्रमण गर्ने जम्बो टोली छ । प्रधानमन्त्री ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ, चिनियाँ जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले बुधबार पेकिङ युनिभर्सिटीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणको एजेण्डा स्वीकृत गरेको थियो ।
प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमण तयारी गरिरहेको परराष्ट्र मन्त्रालयले संयुक्त वक्तव्यका दुईवटा प्रस्ताव तयार पारेको छ । परराष्ट्र स्रोतबाट प्राप्त जानकारीअनुसार कांग्रेस र एमाले मिलेर तयार पारेको ‘फ्रेमवर्क अन बिआरआई कोअपरेसन’मा हस्ताक्षर भयो भने एउटा र भएन भने अर्को वक्तव्य निकाल्ने गरी दुईवटा मस्यौदा तयार पारिएको हो ।
नेपाल र चीनका संयुक्त अधिकारीहरूले नै मस्यौदा तयार गरेको भए तापनि फ्रेमवर्क अन बिआरआई कोअपरसनमा छलफलका क्रममा कुरा मिल्न नसक्ने सम्भावना रहेको भन्दै दुई किसिमका वक्तव्यको मस्यौदा तयार पारिएको हो । चीनसँगको सहकार्यमै फ्रेमवर्कको मस्यौदा तयार भएकाले हस्ताक्षर हुनेमा नेपाल पक्ष विश्वस्त छ । ‘छलफल गर्दै जाँदा एउटा-एउटा कुराले पनि अड्काउन सक्छ भनेर संयुक्त वक्तव्यका दुईवटा मस्यौदा तयार पारिएको हो,’ परराष्ट्र स्रोतले भन्यो ।
कांग्रेस र एमालेका नेताहरू सम्मिलित कार्यदलले तयार पारेको फ्रेमवर्कको मस्यौदा नेपालस्थित चिनियाँ दूतावासमार्फत चीनको परराष्ट्र मन्त्रालयमा पठाइसकिएको छ । चीनले त्यसको जवाफ भने दिइसकेको छैन । तर, चीनसँग पनि सल्लाह गरेर फ्रेमवर्क तयार पारेकाले यसपटक फ्रेमवर्कमा हस्ताक्षर हुने सम्भावना धेरै रहेको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतको भनाइ छ ।
सन् २०१७ मा नेपालले बिआरआईसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । त्यसपछि बिआरआई इम्लिमेन्टेसन प्लानमा हस्ताक्षर गर्ने भनिए पनि हस्ताक्षर हुन सकेको थिएन । प्रधानमन्त्री ओलीको सोमबारदेखि चार दिनका लागि चीन भ्रमणको मिति तय भएसँगै इम्पिलिमेन्टेसन प्लानको मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र अधिवक्ता सेमन्त दाहाल सदस्य रहेको कार्यदल बनाइएको थियो । सोही कार्यदलले बिआरआई इम्लिमेन्टेसन प्लानको नाम र त्यसका व्यवस्थाहरू परिवर्तन गरेर फ्रेमवर्क अन बिआरआई कोअपरेसन बनाएको थियो । फ्रेमवर्कको प्रावधानलाई एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘अनुमोदन’ गरेर मस्यौदा चीनको परराष्ट्र मन्त्रालयलाई पठाइसकिएको छ ।
यी हुन् सरकारले स्वीकृत गरेका एजेण्डा
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा बोल्ने चिनियाँ भाषा विकास कार्यक्रम परिचालनका सम्बन्धमा तयार भएको समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा सम्बन्धित समकक्षी पदाधिकारीबाट हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुमति दिने निर्णय गरेको छ । सरकारले प्रस्तावित २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्नेसम्बन्धी आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गर्ने, उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने, प्रस्तावित तीन सय मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने, उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ ।
त्यस्तै, सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजन र रेडियो नेपाल र चाइना मिडिया गु्रपबीच हुने समझदारी पत्र स्वीकृत गर्ने, उक्त समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने निर्णय भएको पनि प्रवक्ता गुरुङले बताउनुभयो ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा काठमाडौं रिङरोड, अरनिको हाइवे, हिल्सा-सिमिकोट, आइसिडी, आइसिपी कोरला नाकामा आवश्यक पर्ने सबै सीमा नाका व्यवस्थित गर्न चेक पोष्ट निर्माण गर्ने बारेमा पनि सहमति हुँदै छ । यस्तै, टोखा-छहरे सुरुङमार्ग, जिलुङ-केरुङ–काठमाडौं क्रस बोर्डर रेल्वे प्राजेक्टको अध्ययन, खाँदबारी–किमाथांका सडकमा अरुण नदीमा मितेरी पुल बनाउने, चोभारमा मल्टिफङ्सनल क्वारेन्टाइन, कोरलामा औद्योगिक जोन बनाउने बारेमा पनि दुई देशबीच सहमति हुँदै छ ।
यस्तै, केरुङ-रसुवागढी-चिलिमे क्रसबोर्डर ट्रान्समिसन लाइन, काठमाडौं उपत्यकाको ट्रान्समिसन लाइनको स्तरउन्नति, मदन भण्डारी विश्वविद्यालय, झापामा रहेको औद्योगिक पार्क निर्माणको विषयमा पनि सहमति हुँदै छ । यस्तै, प्रधामन्त्री केपी शर्मा ओलीको औपचारिक भ्रमणका बेला चीनले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई एक-एकवटा परियोजना उपहार दिने भएको छ ।
चीनले नै गरेको यस प्रस्तावमा नेपाल सरकारले समेत सहमति जनाइसकेको छ । सोमबारदेखि मंसिर २० गतेसम्म हुने प्रधानमन्त्रीको चीन भ्रमणका बेला प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा-५ मा स्पोर्ट्स कम्प्लेक्स र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा सभाहल बनाउने सम्झौतामा हस्ताक्षर हुँदैछ ।
प्रधानमन्त्रीको बिदाइमा दुई मन्त्री मात्र उपस्थित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान प्रधानमन्त्री ओलीलाई बिदाइ गर्न उपप्रधानमन्त्रीसमेत रहनुभएका शहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखक मात्रै उपस्थित हुनुभयो । शहरी विकास मन्त्री सिंह कार्यवाहक प्रधानमन्त्रीको रूपमा विमानस्थलमा उपस्थित हुनुभएको हो । यसअघि राष्ट्रपति वा प्रधानमन्त्री विदेश आउजाउ गर्दा विमानस्थलमा भिभिआइपी र भिआइपीहरूको लस्कर हुन्थ्यो । यसपालि गृह मन्त्रालयले कार्यविधि बनाएर भिभिआइपीको विदेश भ्रमण आउजाउमा तोकिएका व्यक्ति मात्रै उपस्थित हुने नियम बनाएको थियो । प्रधानमन्त्री चीन जाँदा उपप्रधानमन्त्री सिंह र गृहमन्त्री मात्रै बिदाइमा पुग्नुभएको थियो । अरू मन्त्रीहरू जानुभएन । प्रधानमन्त्री विदेश जाँदा र विदेश भ्रमणबाट फिर्ता हुँदा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री मात्र एयरपोर्ट गए पुग्ने व्यवस्था गरेको छ ।
नयाँ कार्यविधिअनुसार प्रधानमन्त्रीको स्वागत र बिदाइमा रक्षामन्त्रीसहित अन्य मन्त्रीहरू एयरपोर्ट जानुपर्ने छैन । प्रधानमन्त्रीको स्वागत र बिदाइमा अबदेखि मुख्यसचिव, प्रधानसेनापति, परराष्ट्र मन्त्रालयका सचिव, सञ्चार मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुख उपस्थित हुनेछन् । नयाँ नियमले प्रधानमन्त्रीको स्वागत र बिदाइमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतका विशिष्ट व्यक्तिहरूलाई एयरपोर्ट जानु नपर्ने व्यवस्था गरेको छ । यसअघि, राष्ट्रपति वा प्रधानमन्त्रीको भ्रमणका बेला बिदाइ र स्वागतमा सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत भिभिआइपीहरू विमानस्थलमा पुग्ने गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच