काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विवाह पञ्चमी’ पर्वले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । विवाह पञ्चमीको सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै विभिन्न जाति र समुदायका मानिस सामूहिक रूपमा एकसाथ मिलेर ‘विवाह पञ्चमी’ पर्व मनाउनुले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गर्नुभएको हो ।
विवाह पञ्चमीले भगवान् श्रीराम र माता सीताको दिव्य विवाहको सम्झना गराउँदै प्रेम, आदर, सदाचार, सत्कार, विश्वास र सद्भावको भावनालाई उजागर र अनुशरण गर्नमा सहयोग पुग्ने विश्वास छ । परापूर्वकालदेखि यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व एवं उपादेयता रहँदै आएको छ । विवाह पञ्चमी मनाउने परम्परा, विधि, विधान र अनुष्ठान मौलिक छन् ।
खासगरी मधेश प्रदेशको राजधानी जनकपुरधाममा महोत्सवका रूपमा साताव्यापी यो पर्व मनाइन्छ । यो महोत्सव राम–सीताको प्रतिमा र झाँकीसहित ‘नगरदर्शन’ बाट सुरु भई ‘फूलबारी लीला’, ‘धनुष यज्ञ’, ‘तिलकोत्सव’, ‘मटकोर’, ‘राम–सीताको स्वयंवर–विवाह’ अनुष्ठान गर्दै अन्तिम दिन ‘रामकलेवा’ गरी सम्पन्न हुन्छ । यस अवसरमा सीता र रामको विशेष पूजाअर्चना गर्दा परिवार, समाज र देशमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।
“विवाह पञ्चमीलाई समाजमा सत्यको आदर्शहरूलाई प्रोत्साहित गर्ने अवसरका रुपमा लिन सक्नु पर्दछ, यसले भगवान् राम र माता सीताको जीवनबाट प्रेरणा लिँदै हामीलाई पारिवारिक र सामाजिक जीवनमा नैतिक मूल्यहरू अवलम्बन गर्न अभिप्रेरित गर्न सकोस्”, उपराष्ट्रपति यादवले भन्नुभएको छ ।
विवाह पञ्चमीका अवसरमा आयोजना गरिने लोकनृत्य, लोकसङ्गीत र लोकगीत गायन, लोक झाँकी एवं परम्परागत शोभायात्राले हाम्रो मौलिक संस्कृतिलाई जीवन्त बनाइराख्न सहयोग पुग्ने उपराष्ट्रपति यादवको भनाइ छ । विवाह पञ्चमीका अवसरमा रामायणको कक्षाका माध्यमबाट नैतिक शिक्षा र जीवन मूल्यहरूलाई जन–जनसम्म पुर्याउने महत्त्वपूर्ण कार्य हुन्छ ।
“त्रेतायुगमा भएको भनिएको राम–सीताको विवाहको झझल्को दिनेगरी सम्झनास्वरुप जनकपुरधाममा प्रतीकात्मक राम–सीताको विवाह गराउने परम्परा छ, त्यसका लागि भारतको अयोध्याबाट सन्त महन्थहरूसहितको श्रद्धालु भक्तजनहरूको जन्ती जनकपुरधाम पुग्ने पौराणिक रीतिरिवाजले नेपाल र भारतबीचको ऐतिहासिक, रोटीबेटी, सांस्कृतिक र धार्मिक सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउने विश्वास लिएको छु”, उहाँले भन्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच