गृह श्रमिकका समस्या समाधानमा जोड

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापा, तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटी, जेटियुसिसी र जिफण्टका अध्यक्ष विनोद श्रेष्ठ, गृह श्रमिक सरोकार समाज नेपालका अध्यक्ष प्रभा पोखरेलको सहभागिता, होमनेट साउथ एसियासँगको समन्वय एवं श्रम तथा सामाजिक अध्ययन केन्द्र नेपालको संयोजनमा काठमाडौंमा गृह श्रमिकको अवस्थाबारे अन्तरक्रिया सम्पन्न भएको छ ।

घरमै बसेर सिलाइ, बुनाइ एवं हस्तकलासम्बन्धी काम गरी आफ्नो जीविकोपार्जन गरिरहेका श्रमिक १९.२ प्रतिशतको हाराहारीमा रहेको एक सर्वेक्षणले देखाएको छ ।

आयोजकका अनुसार घरमा बसेर सिलाइ, बुनाइ एवं हस्तकलासम्बन्धी काम गरी आफ्नो जीविकोपार्जन गरिरहेका श्रमिक १९.२ प्रतिशतको हाराहारीमा रहेको एक सर्वेक्षणले देखाएको छ । विशेषगरी महिला गृह श्रमिकका समस्याबारेमा राज्यले ध्यान नदिएको सरोकारवालाले गुनासो गरेका छन् । स्वरोजगार रही राज्यलाई सघाइरहेका महिला गृह श्रमिकको हकहितका लागि विशेष नीति नहुनु, श्रम मन्त्रालयबाट छुट्टै विभाग नतोकिनु एवं गृह श्रमिकको सही तथ्यांक उपलब्ध नभएकाले राज्य यसतर्फ गम्भीर भएर आवश्यक नीति नियम बनाई गृह श्रमिकको मुद्दा सम्बोधन गरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा क्लास नेपालको संयोजन एवं विभिन्न सरोकारवाला निकायको समन्वयमा तयार गरिएको गृह श्रमिकसम्बन्धी हाते पुस्तक संयुक्त रूपमा विमोचन गरिएको थियो । क्लास नेपालका कोषाध्यक्ष गोमा पाण्डेले गृह श्रमिकले भोग्नुपरेको समस्याबारे जानकारी गराउनुका साथै विमोचित पुस्तकमाथि प्रकाश पार्नुभएको थियो भने तारकेश्वर नगरपालिकाका उपमेयर बुर्लाकोटीले आफ्नो नगरपालिकामा बजेट व्यवस्था गरेर गृह श्रमिकको तथ्यांक संकलन गर्ने कार्य सुरु गरिसकेको जानकारी दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?