काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार भएका दुई खेलमा कर्णाली याक्स र सुदूरपश्चिमले जित निकालेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित दर्ता ग¥यो भने दिउँसो भएको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध सात रनको जित निकालेको छ । जारी प्रतियोगितामा कर्णालीको यो दोस्रो जित हो । कर्णालीले यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ र काठमाडौं गुर्खाजसँग तीन विकेटको हार बेहोरेको थियो । तेस्रो खेलमा भने कर्णालीले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । सुदूरपश्चिम रोयल्सले आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म कायम राखेको छ ।
शनिबार कर्णालीले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२६ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा विराटनगरलाई जितका निम्ति १५ रन आवश्यक थियो । तर, क्रिजमा रहनुभएका कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीले सात रनमात्र जोड्न सक्नुभयोे । त्यससँगै विराटनगर सात रनले पराजित भएको हो ।
विराटनगरका निकोलस किर्टोनले सर्वाधिक ४० रन बनाउनुभयो पनि हार टार्न सक्नुभएन । नन्दन यादवबाट १८औँ ओभरको चौथो बलमा बोल्ड हुनुअघि उहाँले ३९ बलमा चार चौका र एक छक्का प्रहार गर्नुभएको थियो । ६०-५ को स्थितिबाट किर्टोनले छैटौँ विकेटका निम्ति दीपक बोहरासँग ४४ रनको साझेदारी गर्नुभएको थियो । बोहराले १८ रन जोड्नुभयो । उहाँलाई १८औँ ओभरको पहिलो बलमा नन्दनले नै बोल्ड गर्नुभएको थियो ।
शनिबारका दुई खेलपछि अंकतालिकामा पनि परिवर्तन आएको छ । लगातार तीन जितका साथ सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा उक्लिएको छ भने तीन खेल जितेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा छ । चार अंकका साथ चितवन राइनोज तेस्रो र चारै अंक रहेको कर्णाली चौथो नम्बरमा छन् । यस्तै पोखरा एभेन्जर्स पाँचौँ तथा काठमाडौं गुर्खाज छैटौँ स्थानमा रहँदा विराटनगर किङ्स सातौँ स्थानमा छ । अंकविहीन रहेको लुम्बिनी लायन्स आठौँ स्थानमा छ । शीर्ष चार स्थानमा रहने टिम अघिल्लो चरणमा पुग्नेछन् ।
ओपनर लोकेश बमले १९ रन बनाउनुभयो । उहाँले नौ बलमा एक चौका र दुई छक्का प्रहार गर्नुभएको थियो । लोकेशलाई चौथो ओभरको पहिलो बलमा विपिन शर्माले बोल्ड गर्नुभएको थियो । यसबाहेक विराटनगरका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर अकिब इल्यास र बसिर अहमेद समान आठ रन बनाउँदै आउट हुनुभयो भने नरेन भट्ट सात र मार्टिन गप्टिलले चार रन बनाउनुभयो । क्रिस सोल ‘डक’ हुनुभएको थियो ।
कर्णालीका नन्दन यादवले तीन विकेट लिनुभएको थियो । उहाँले विराटनगरका निकोलस किर्टोन, दीपक बोहरा र अकिब इल्साललाई आउट गर्नुभएको थियो । विपिन शर्माले दुई विकेट लिनुभयो । उहाँको नाममा मार्टिन गप्टिल र लोकेश बमको विकेट रहृयो । सोमपाल कामी, विलियम बोसिस्टो र युनिस ठकुरीले समान एक-एक विकेट लिनुभयो । सोमपालले क्रिस सोल, बोसिस्टोले नरेन भट्ट र युनिसले बसिर अहमेदको विकेट लिनुभएको थियो ।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो । कर्णालीका विलियम बोसिस्टो र देव खनालले अर्धशतक बनाउनुभयो । बोसिस्टोले ४९ बलमा ६६ रन जोड्नुभएको थियो । यसक्रममा उहाँले पाँच चौका र तीन छक्का प्रहार गर्नुभएको थियो । लिगमा बोसिस्टोको यो पहिलो अर्धशतक हो ।
९–२ को कठिन स्थितिमा ब्याटिङ गर्न आउनुभएका बोसिस्टोले तेस्रो विकेटका निम्ति देवसँग १०२ रनको शतकीय साझेदारी गर्दै कर्णालीको इनिङ सम्हाल्नुभएको थियो । बोसिस्टो १९औँ ओभरको अन्तिम बलमा क्रिस सोलबाट एलबिडब्ल्यूको धरापमा पर्नुभयो ।
देवले टिमको खातामा ५३ रन थप्नुभयो । बसिर अहमेदले गरेको १६औँ ओभरको तेस्रो बलमा क्रिस सोलबाट क्याच हुनुअघि उहाँले ४८ बलमा चार चौका र दुई छक्का प्रहार गर्नुभएको थियो । प्रतियोगितामा देवको यो पहिलो अर्धशतक हो ।
यसबाहेक कर्णालीका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्णालीका अर्का ओपनर शिखर धवन पाँच रनमै पभेलियन फर्किनुभयो । उहाँलाई दोस्रो ओभरको तेस्रो बलमा प्रतिश जिसीले बोल्ड गर्नुभएको थियो ।
कर्णालीले स्कोरबोर्डमा नौ रन हुँदा दोस्रो विकेट गुमायो । कर्णालीका चान्डविक वाल्टनलाई विराटनगरका क्रिस सोलले विकेटकिपर लोकेश बमबाट क्याच गर्नुभएको थियो ।
जिसान मक्सुदले दुई, अर्जुन घर्ती पनि एक रन जोड्दै आउट हुनुभयो । गुल्सन झा, युनिस ठकुरी र विपिन शर्मा ‘गोल्डेन डक’ हुनुभयो ।
गुल्सनलाई १६औँ ओभरको चौथो बलमा बसिर अहमेदले एलबिडब्ल्यू गराउनुभएको थियो । २०औँ ओभरको चौथो बलमा एलबिडब्ल्यू आउट हुनुभएका नन्दन यादव पनि ‘डक’ हुनुभएको थियो । उहाँलाई प्रतिश जिसीले पभेलियन फर्काउनुभएको थियो । सोही ओभरको पाँचौँ र छैटौँ बलमा क्रमशः युनिस र विपिन आउट हुनुभएको थियो ।
प्रतिश जिसीले गरेको अन्तिम ओभरमा विराटनगरले चार विकेट लियो, जसमा एक रन आउट र तीन विकेट प्रतिशको नाममा रहृयो । चार ओभर बलिङ गर्नुभएका प्रतिशले एक मेडन फ्याँक्दै १७ रन खर्चिनुभयो । क्रिस सोल र बसिर अहमेदले समान दुई-दुई विकेट लिनुभयो । अकिब इल्यासको नाममा एक विकेट रहृयो ।
सुदूरपश्चिमको विजय यात्रा कायम
सेफ जैबको अलराउन्ड प्रदर्शन प्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ । सुदूरपश्चिमले शनिबार बिहान भएको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित दर्ता गर्यो । जितसँगै सुदूरपश्चिमले तीन खेलमा ६ अंक जोडेको छ । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो ।
यता तीनै खेलमा पराजित लुम्बिनी अंकविहीन छ । लुम्बिनीले यसअघि विराटनगर र पोखरा एभेन्जर्ससँग हार बेहोरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १४२ रनमात्रै बनाउन सक्यो ।
लुम्बिनीका लागि विवेक यादवले ५४ बलमा सात छक्का र तीन चौकको मद्दतले अविजित ७७ रनको योगदान गर्नुभयो । यसैगरी सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोड्नुभयो । लुम्बिनीका लागि सेफ जैब र ब्रेन्डन म्याकमुलनले समान तीन, स्कट कुग्गेलिजले दुई तथा अविनाश बोहराले एक विकेट लिनुभयो ।
ओभरको पहिलो बलमै स्कट कुग्गेलिजनले अर्जुन साउदलाई एलबिडब्ल्यूको धरापमा पार्नुभयोे । सोही ओभरको अन्तिम बलमा उन्मुक्त चन्द पनि एलबिडब्ल्यूको शिकार बन्नुभयोे । उहाँले चार रन प्रहार गर्नुभयो । दोस्रो ओभरको पाँचौँ बलमा पाँच रन बनाएर खेलिरहनुभएका कप्तान रोहितकुमार पौडेललाई ब्रेन्डन म्याकमुलनले पभेलियनको बाटो देखाउनुभयो । रोहित इशान पाण्डेबाट क्याच हुनुभयो ।
चौथो ओभरको दोस्रो बलमा टम मुर्स म्याकमुलनकै शिकार बन्नुभयो । सात रन बनाउनुभएका मुर्स पनि इशानबाटै क्याच हुनुभयो । लगत्तैको बलमा म्याकमुलनले साद बिन जफरलाई रनको खाता पनि खोल्न नदिई एलबिडब्ल्यूको धरापमा पार्नुभयोे ।
अविनाश बोहराले ११औँ ओभरको दोस्रो बलमा सन्दीप जोरालाई वसन्त खत्रीबाट क्याच गराउनुभयो । सन्दीपले २६ बलमा एक छक्काको मद्दतले २० रन बनाउनुभयो । सेफ जैबले १६औँ ओभरको तेस्रो बलमा दिनेश अधिकारीलाई कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच गराउनुभयो । १४ रन बनाउनुभएका उहाँले १६ बलमा दुई चौका प्रहार गर्नुभयो । लगत्तैको बलमा रामोन सिमन्ड्स रनको खाता पनि खोल्न नपाई बोल्ड हुनुभयो । जैबले १८औँ ओभरको अन्तिम बलमा सात रन बनाएर खेलिरहनुभएका सूर्य तामाङलाई नरेश बढाऐरबाट क्याच गराउनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८७ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि जैबले ९०, दीपेन्द्रसिंह ऐरीले ३९, ब्रेन्डन म्याकमुलनले २३, विनोद भण्डारीले १७ र स्कट कुग्गेलिजनले अविजित ११ रन जोड्नुभयो । जैबले दोस्रो विकेटका लागि म्याकमुलनसँग ५७ र तेस्रो विकेटका लागि दीपेन्द्रसँग ५३ रनको साझेदारी गर्नुभयो । लुम्बिनीका लागि रामोन सिमन्ड्सले दुई तथा रोहितकुमार पौडेल र विवेक यादवले समान एक विकेट लिनुभयो ।
छैटौँ ओभरको तेस्रो बलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले विनोद भण्डारीलाई सन्दीप जोराबाट क्याच गराउनुभयो । १३ बलको सामना गर्नुभएका विनोदले दुई चौकाको मद्दतले १७ रन बनाउनुभयो । विवेक यादवले १४औँ ओभरको चौथो बलमा लुम्बिनीलाई दोस्रो सफलता दिलाउनुभयो । उहाँले २३ रन बनाएर खेलिरहनुभएका ब्रेन्डन म्याकमुलनलाई रामोन सिमन्ड्सबाट क्याच गराउनुभयो । म्याकमुलनले २० बलमा समान एक चौका र छक्का प्रहार गर्नुभयो ।
रामोन सिमन्ड्सले उत्कृष्ट लयमा रहनुभएका सैफ जैबलाई १८औँ ओभरको चौथो बलमा उन्मुक्त चन्दबाट क्याच गराउनुभयो । जैबले ६१ बलमा ६ चौका र पाँच चौकाको मद्दतले ९० रन बनाउनुभयो । लगत्तैको बलमा आरिफ शेख रनको खाता पनि खोल्न नपाई साद बिन जफरबाट क्याच हुनुभयो । पहिलो इनिङको अन्तिम बलमा दीपेन्द्र रन आउटको शिकार बन्नुभयो । १९ बलको सामना गर्नुभएका उहाँले चार चौका र दुई छक्काको मद्दतले ३९ रन बनाउनुभयो ।
अंकतालिकामा परिवर्तन, शीर्ष स्थानमा सुदूरपश्चिम रोयल्स
शनिबारका दुई खेलपछि अंकतालिकामा पनि परिवर्तन आएको छ । लगातार तीन जितका साथ सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा उक्लिएको छ भने तीन खेल जितेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा छ । चार अंकका साथ चितवन राइनोज तेस्रो र चारै अंक रहेको कर्णाली चौथो नम्बरमा छन् । यस्तै पोखरा एभेन्जर्स पाँचौँ तथा काठमाडौं गुर्खाज छैटौँ स्थानमा रहँदा विराटनगर किङ्स सातौँ स्थानमा छ । अंकविहीन रहेको लुम्बिनी लायन्स आठौँ स्थानमा छ । शीर्ष चार स्थानमा रहने टिम अघिल्लो चरणमा पुग्नेछन् ।
आज दुई खेल
प्रतियोगितामा आज (आइतबार) पनि दुई खेल हुनेछन् । आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स मैदानमा उत्रने छ । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्ने छन् । आगामी पुस ६ गतेसम्म हुने एनपिएलमा कुल ३२ खेल सञ्चालन हुने छन् । पुस ३ गतेदेखि प्लेअफका खेल हुने छन् । फाइनल खेल पुस ६ गते हुने छ । एनपिएलमा जनकपुर बोट्ल्स, विराटनगर किंग्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच