काठमाडौं । ‘पलेँटी गजल मुशायरा’मा सन्तोष श्रेष्ठ र लालकाजी श्रेष्ठ गुञ्जिनुभएको छ । शनिबार काठमाडौंमा नेपाल गजल प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको कार्यक्रममा उहाँहरू गुञ्जिनु भएको हो ।
आँखा जुधाउने पो बानी रहेछ तिम्रो
मान्छे भुलाउने पो बानी रहेछ तिम्रो ।
गजलकार घनेन्द्र ओझाका यी शेर विश्व कीर्तिमानी संगीतकार सन्तोषले गाइरहँदा सर्वनाम थिएटरको हल ‘वान्स मोर’ भनिरहेको थियो । विशिष्ट साधक, स्रष्टाहरूको उपस्थितिमा सम्पन्न मुशायरामा अर्का गजलकार तथा गायक लालकाजी श्रेष्ठ गुञ्जिए आँचलकुमार शर्माका यी शब्दमार्फत :
कुवा हुन्थ्यो र जल कंचन हुने गथ्र्यो कुनैबेला
कुवामै जूनको मापन हुने गथ्र्यो कुनैबेला ।
कार्यक्रममा सन्तोष र लालकाजीले चार-चारवटा गजल प्रत्यक्ष गाउनुभएको थियो । उहाँहरूले गजलकार भोजराज घिमिरे, राधा कणेलका गजल पनि प्रस्तुत गर्नुभएको थियो । यसका अतिरिक्त गायकद्वयले प्रमोद थापा, अनजान यात्री, लालकाजी श्रेष्ठ र लोकेश संघातका गजल गाउनुभएको थियो । हारमोनियम गायकद्वय आफैं हुनुहुन्थ्यो भने गीतारमा राजकुमार समाल, तबलामा रोशन फुयाँल र बाँसुरीमा धनबहादुर गुरुङ रहनुभएको थियो ।
कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रिएसनको सहकार्यमा सम्पन्न भएको हो । सो अवसरमा गजलकारहरू ज्ञानुवाकर पौडेल, रवि प्राञ्जल, करुण थापाको उपस्थिति थियो भने अग्रज स्रष्टाहरू डा.विमल कोइराला, एस.पी.कोइराला, चूडामणि देवकोटा, केशव भट्टराईलगायतको सद्भावपूर्ण सहभागिता रहेको थियो ।
उक्त अवसरमा प्रसिद्ध गीतकार, समालोचक प्राडा.कृष्णहरि बरालले नेपाली गजल गायनमा यस्ता कार्यक्रमले खुशी थप्ने जिकिर गर्नुभयो भने गजलकार ज्ञानुवाकर पौडेलले गजललाई गायनमा ल्याउने प्रयासको सराहना गर्नुभयो ।
गजलकार घनेन्द्र ओझा र संगीतकार सन्तोष श्रेष्ठले विसं २०८०-२०९० को दशकलाई ‘नेपाली गजल गायनको स्वर्ण दशक’ घोषणा गरेको सन्दर्भ जोड्दै सहजीकरणमा रहनुभएका आँचलकुमार शर्माले यस्ता कार्यक्रमले निरन्तरता पाउने जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच